काठमाडौं, तोकिएको समयभन्दा अगावै निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायी सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको तोकिएको समयभन्दा अगावै निर्माण कार्य पूरा गर्ने रोयल कन्स्ट्रक्सनका सञ्चालकलाई सम्मान गरिएको हो ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले रोयल कन्स्ट्रक्सनका सञ्चालक एवम् नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेटीलाई सम्मान गरेका हुन् । रोयल कन्स्ट्रक्सनका सञ्चालक सेटीले बेलायत सरकारको सहयोगमा सञ्चालित एसजेपी कार्यक्रम अन्तर्गत यूएनओपीएस मार्फत प्रहरीका विभिन्न महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्रका भवनहरू तोकिएको समयभन्दा अगावै गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्दै आएका छन् ।
सेटीले यसअघि सुर्खेतको छिन्चु स्थित इलाका प्रहरी कार्यालय, कैलालीको मसुरियास्थित इलाका प्रहरी कार्यालय, कैलालीकै सती इलाका प्रहरी कार्यालय, बाँकेको वेतानी, कोहलपुर, गडुवा—दाङ, रूपन्देहीको इलाका प्रहरी कार्यालय बुटवल, पर्साको जिल्ला प्रहरी कार्यालय, सप्तरीको कञ्चनपुर इलाका प्रहरी कार्यालय, विराटनगरको इलाका प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय इनरुवा, सुनसरी लगायत विभिन्न स्थानमा गरी नौवटा भवनको निर्माण कार्य समयमै सम्पन्न गरेका थिए । महासंघका उपाध्यक्ष सेटीले सार्वजनिक पूर्वाधार निर्माणमा समय, गुणस्तर र व्यावसायिक प्रतिबद्धतालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आफ्नो जिम्मेवारीलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त जनाए । विगतमा पनि मुलुकका विभिन्न भागमा समयमै गुणस्तरीय निर्माण कार्य गरे बापत सेटी सम्मानित हुँदै आएका छन् ।