काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा हालै भएका घटनाप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।सोमबार जारी विज्ञप्तिमा लामिछानेले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
लामिछानेले रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यलाई सामाजिक सद्भाव कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। उनले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भाव खलबलिने कुनै पनि गतिविधिमा संलग्न नहुन र त्यस्ता गतिविधि हुन नदिन आग्रह गरेका छन्।
उनले तिमीलाई पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन आग्रह गरेका छन्।
साथै, संवेदनशील परिस्थितिमा शान्ति–सुरक्षा कायम गर्न, नागरिकको जीउधनको रक्षा गर्न र अवस्था सामान्य बनाउन सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण भइरहेको बताएका छन्।विज्ञप्तिमार्फत उनले घटनाको वास्तविक कारणसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गर्न, दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई उचित न्याय र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराएका छन्। साथै, उनले घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बन्धित पक्षसँग विशेष आग्रह गरेका छन्।