काठमाडौँ , राष्ट्रिय मानवअधिकार आयोगले नारायणी अस्पताल, वीरगञ्जका चिकित्सक डा.प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
आयोगले शान्तिपूर्ण वार्ता र संवादमार्फत विवादको समाधान खोज्न तथा चिकित्सकमाथि भएको कुटपिट र अस्पताल तोडफोडको घटनाको सत्यतथ्य छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा स्वास्थ्यजस्तो अत्यावश्यक सेवा बन्द हुँदा लाखौँ नागरिकको जीवन जोखिममा पर्न सक्ने भएकाले सेवा तत्काल सुचारु गर्न आग्रह गरिएको छ। साथै, आफ्ना असहमति र विरोध व्यक्त गर्दा आमनागरिकको स्वास्थ्यमा असर नपर्ने वैकल्पिक उपाय अपनाउन र वार्तामार्फत समस्याको समाधान खोज्न नेपाल सरकार, आन्दोलनरत चिकित्सक, मृतकका परिवार तथा सम्बन्धित सबै पक्षलाई आयोगले आग्रह गरेको छ।
आयोगले अराजक गतिविधिलाई प्रश्रय दिइए कानुनी शासनमाथि गम्भीर चुनौती खडा हुने उल्लेख गर्दै अस्पताल सेवा अवरुद्ध हुँदा बिरामी उपचारबाट वञ्चित हुनुपरेकोप्रति पनि चिन्ता व्यक्त गरेको छ।