काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति सरकारले गम्भीर ध्यानाकर्षण जनाएको छ। सरकारले सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति जारी गर्दै घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत घाइतेहरूको उपचारको प्रबन्ध मिलाइएको प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।सरकारले घटनाको वास्तविक अवस्था पत्ता लगाउन गृह मन्त्रालयमार्फत छानबिन समिति गठन गरेको र समितिले काम सुरु गरिसकेको जनाएको छ।
उक्त समितिलाई सत्यतथ्य अध्ययन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ।विज्ञप्तिमा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषी देखिएकामाथि कडा कानुनी कारबाही गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरिएको छ।“कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव हुँदैन,” विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण संवाद र कानुनी प्रक्रियाबाटै समस्याको समाधान खोजिनुपर्छ।”सरकारले धार्मिक तथा साम्प्रदायिक सहिष्णुतामा असर पार्ने गतिविधिमा संलग्न नहुन, उत्तेजना फैलाउने तथा भ्रामक सूचना प्रसारण नगर्न सबै पक्षलाई आग्रह गरेको छ।विज्ञप्तिमा नेपाली समाजले लामो समयदेखि कायम राख्दै आएको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई कमजोर पार्ने कुनै पनि गतिविधिबाट टाढा रहन अपिल गरिएको छ।साथै, मुलुकमा शान्ति सुव्यवस्था तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारले राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चारमाध्यम र आम नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।