काठमाडौं, नजिकिँदै गरेको बडादशैँ तथा चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सहज हुने गरी बैंक तथा वित्तीय संस्थाका एटीएमबाट एक सय रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट एक सय रुपैयाँका नोट वितरण हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा श्रेष्ठका अनुसार चाडपर्वका बेला साना दरका नोट सटही गर्न बैंकका शाखा तथा काउन्टरमा हुने भीडभाड कम गर्दै सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । हाल अधिकांश एटीएमबाट पाँच सय र एक हजार रुपैयाँ दरका नोट मात्रै वितरण हुँदै आएका छन् । जसले गर्दा खुद्रा नोट आवश्यक पर्ने सर्वसाधारण बैंकको काउन्टरमै पुगेर लामो समय लाइन बस्नुपर्ने बाध्यतामा थिए ।
नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि आवश्यक रकम एक सय रुपैयाँ दरका नोटमा समेत एटीएमबाटै निकाल्न सकिने भएकाले चाडपर्वका बेला बैंकमा हुने भीड घट्ने अपेक्षा गरिएको छ ।