काठमाडौं, नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबार बसेको बैठकले समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको आग्रहमा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा सभापति बुढाथोकीले समितिका सदस्यहरूबाट प्राप्त सुझाव तथा सल्लाहका आधारमा विधेयकमाथि दफावार छलफल गरी सर्वसम्मत निर्णय गरिएको जानकारी दिए । समितिबाट भएका निर्णयकै आधारमा प्रतिवेदन तयार पारिएको उल्लेख गर्दै उनले प्रतिवेदनमा बैठकका निर्णयबाहेक अन्य विषय समावेश भए–नभएको समेत जाँच गरिएको बताए । उनले समितिका सदस्यहरूले आवश्यक ठानेमा थप सुझाव तथा धारणा अर्थ समिति सचिवालयमा लिखित रूपमा अभिलेख गराउन सक्ने व्यवस्था रहेको पनि जानकारी दिए ।
राष्ट्र बैंक ऐन संशोधनको प्रक्रियाले मुलुकको आर्थिक विकासमा संरचनागत परिवर्तन ल्याउन सक्ने विषयमा समितिमा छलफल भएको सभापति बुढाथोकीले बताए । उनका अनुसार विशेषगरी नेपाल राष्ट्र बैंकको नेतृत्व कसरी चयन गर्ने र नेतृत्वले कसरी कार्यसम्पादन गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो । ऐन संशोधनका क्रममा मुलुकले आर्थिक रूपमा फड्को मार्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै सभापति बुढाथोकीले प्रतिवेदनलाई सर्वसम्मत रूपमा अघि बढाउन समितिका सदस्यहरूलाई आग्रह गरेका थिए ।
समितिबाट प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएसँगै नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक अघि बढाउने प्रक्रियाले थप गति लिने भएको छ । विधेयकमा राष्ट्र बैंकको नेतृत्व चयन, नेतृत्वको कार्यसम्पादनलगायत केन्द्रीय बैंकको संस्थागत तथा संरचनागत विषयमा महत्वपूर्ण व्यवस्था समेटिनेछ ।