काठमाडौं, बृहत्तर लुम्बिनी क्षेत्रमा सम्पदा संरक्षण, तीर्थयात्री तथा पर्यटक व्यवस्थापन, पर्यटन पूर्वाधार र स्थानीय आर्थिक विकासका लागि साझा कार्ययोजना तयार गर्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । नेपाल सरकार, युनेस्को, लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय र विश्व बैंकको संयुक्त आयोजनामा १८ देखि २० सेप्टेम्बर २०२६ सम्म लुम्बिनीमा सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदायका प्रतिनिधि, सम्पदा विज्ञ, पर्यटनविद्, विकास साझेदार र स्थानीय प्रतिनिधिसहित १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागी रहने आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा वृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि चार विषयलाई प्राथमिकतामा राखेर छलफल हुनेछ । सम्मेलनमा सम्पदा संरक्षण, आगन्तुक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा सुदृढीकरण र समावेशी स्थानीय आर्थिक विकाससम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।
आयोजकका अनुसार पूर्ण सत्र, प्राविधिक प्रस्तुतीकरण तथा विभिन्न ऐतिहासिक सम्पदा क्षेत्रका तुलनात्मक अध्ययनका आधारमा सम्मेलनबाट कार्यान्वयनयोग्य प्राथमिकता निर्धारण गरिनेछ । सम्मेलनको अन्त्यमा ‘साझा घोषणापत्र’ जारी गर्ने तयारी छ । घोषणापत्रमा सम्पदा संरक्षणसँग अनुकूल हुने आगन्तुक व्यवस्थापन, दिगो पर्यटन तथा स्थानीय समुदायमा पर्यटनबाट हुने लाभको न्यायोचित वितरणका विषय समेटिने बताइएको छ । सम्मेलनले नेपाल सरकारका आगामी कार्यक्रम तथा विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन भइरहेको बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको कार्यदिशामा समेत सहयोग गर्ने अपेक्षा गरिएको छ ।