काठमाडौं, नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह तथा नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ ।
बैंकले आवेदन खुला गर्दै इच्छुक आवेदकले आगामी असोज २६ गते (१२ अक्टोबर २०२६) सम्म आवेदन दिन सक्ने जनाएको छ । १८ वर्ष उमेर पूरा भएका तथा नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । समावेशी तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने माध्यमका रूपमा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बैंकले दिगो उद्यम तथा रोजगारी सिर्जनाका साथै सामुदायिक विकासमा योगदान पुर्याउने लक्ष्य भएका महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका प्रतिबद्ध र सक्षम उद्यमीहरूलाई आवेदन दिन प्रोत्साहित गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले नबिल एसएसईमार्फत उद्यम सञ्चालन गर्ने व्यक्तिसँगै समुदायमा दिगो आर्थिक अवसर सिर्जना गर्न सक्ने व्यक्तिको क्षमता विकासमा पनि लगानी भइरहेको बताए । उनका अनुसार सातौँ फेलोसिप समूह र नयाँ सर्टिफिकेट कोर्समार्फत प्रतिबद्ध उद्यमी पहिचान गरी उनीहरूको क्षमता अभिवृद्धि गर्ने तथा दिगो उद्यम निर्माण र नेपालको समावेशी आर्थिक विकासमा योगदान पुर्याउन आवश्यक ज्ञान, सञ्जाल र उद्यमशीलता इकोसिस्टमसँग जोड्ने उद्देश्य राखिएको छ । बैंकका अनुसार फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक हजार पाँच सय ८० जना सहभागीलाई तालिम प्रदान गरिसकिएको छ । तालिम प्राप्त सहभागीबाट तीन सय १८ वटा उद्यम स्थापना भई १९ हजार तीन सय तीन जनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएका छन् ।
फेलोसिप कार्यक्रमका हालसम्म सम्पन्न छवटा समूहबाट एक सय १३ जना प्रशिक्षित भइसकेका छन् । उनीहरूमध्येबाट ९३ वटा फेलो–नेतृत्वका उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ । त्यस्तै, सर्टिफिकेट कोर्सबाट एक हजार चार सय ६७ जना सहभागी लाभान्वित भएका छन् भने उनीहरूमार्फत २२५ वटा उद्यम स्थापना भएका छन् । सन् २०२१ मा नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको पहलका रूपमा स्थापना भएको नबिल एसएसई फेलोसिपले आकांक्षी तथा विद्यमान उद्यमीलाई व्यवसाय विकासका लागि आवश्यक ज्ञान, सीप, स्रोत, सञ्जाल तथा वित्तीय पहुँचका अवसर उपलब्ध गराउँदै आएको छ । फेलोसिप र सर्टिफिकेट कोर्स गरी दुई परिपूरक कार्यक्रममार्फत व्यावहारिक उद्यमशीलतालाई मार्गदर्शन, अनुभव आदान–प्रदान, सहकर्मी सिकाइ, शैक्षिक साझेदारी तथा व्यापक उद्यमशीलता इकोसिस्टमसँग जोड्ने काम हुँदै आएको बैंकको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने नबिल एसएसई फेलोसिप छ महिनाको उद्यम विकास कार्यक्रम हो । यसले सहभागीलाई आफ्ना उद्यमको विकास, सुदृढीकरण तथा विस्तारका लागि आवश्यक क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने बैंकले जनाएको छ । त्यस्तै, नबिल एसएसई सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यावहारिक उद्यमशीलता विकास कार्यक्रम हो । विद्यार्थी, आकांक्षी उद्यमी, प्रारम्भिक चरणका संस्थापक तथा सञ्चालनमा रहेका सूक्ष्म तथा साना उद्यमीलाई लक्षित गरी सञ्चालन हुने यस कार्यक्रमले व्यवसायिक अवसर पहिचान, व्यावसायिक अवधारणाको परीक्षण, व्यावहारिक व्यवसायिक मोडल निर्माण तथा उद्यम सुदृढीकरणका लागि आवश्यक ज्ञान प्रदान गर्नेछ ।
यो वर्ष सर्टिफिकेट कोर्सका लागि देशभरका १० शैक्षिक कार्यान्वयन साझेदार संस्थामार्फत आवेदन खुला गरिएको छ । कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेश प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुल, बागमती प्रदेशमा क्याम्पियन कलेज र बुढानीलकण्ठ स्कुल, लुम्बिनी प्रदेशमा दिव्यज्योति बहुमुखी क्याम्पस, क्षितिज इन्टरनेसनल कलेज र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज तथा सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिमाञ्चल एकेडेमीमार्फत कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रम तथा आवेदन प्रक्रियासम्बन्धी थप जानकारी नबिल बैंकको वेबसाइट, नबिल बैंक तथा नबिल एसएसईका आधिकारिक सञ्चारमाध्यम र सम्बन्धित शैक्षिक साझेदार संस्थाबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।