गएको हप्तमा प्रधानमन्त्री वालेन्द्र शाहसँग दुई छिमेकी र एउटा अलिक टाढाको मुलुकका राजदूतले भेटवार्ता गरे । यो विषयलाई यसरी प्रचार गरियो कि दुई तिहाइको र ठूलो परिवर्तन गर्ने भनेर अत्यधिक प्रचार गरिएको सरकारले उधुमै गर्यो । उधुम पनि कस्तो भने यसअघिका कुनै पनि प्रधानमन्त्रीले गर्न नसकेका कुरा यो पटक भयो ।
तर कूटनीतिक क्षेत्रमा यो कुनै उधुमै गरिएको काम थिएन । बरु दिउँसो दिँदा नखाने राति कोल चाट्ने कूटनीतिको प्रारम्भ भएको थियो जो मुलुकका लागि भने दुःखद हो । दुःखद यस कारणले कि संसारभरि नेपाल कूटनीतिमा कति कच्चा काम गरिहेको छ भन्ने सन्देश गयो, जो हतपत मेटिने वा सुिध्रन संकेत देखिँदैन ।
काम भने ठूलो थिएन । शाह प्रधानमन्त्री बनेको साढे चार महिनापछि नेपालका लागि भारतीय र चिनियाँ राजदूतले पहिलो पटक छुट्टाछुट्टै शिष्टाचार भेट गरे । त्यसपछि अमेरिका र अरु देश पनि परे ।
यो दिन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री शाहसँग गरेका यो शिष्टाचार भेटलाई सरकारी माध्यमहरूले नागरिकसमक्ष यसरी प्रस्तुत गरे जो नेपालको इतिहासमा या पहिलोपटक भएको होस । प्रधानमन्त्री भएपछि शाहसँग विदेशी राजदूतको रूपमा श्रीवास्तव र माओमिङले एक्लाएक्लै शिष्टाचार भेट गरेका यो पहिलो पटक नै हो । यसअघि प्रधानमन्त्री शाहले प्रोटोकल नमिल्ने भन्दै विदेशी राजदूतलाई एक्लै शिष्टाचार भेटको समय दिएका थिएनन् । त्यसकारण यी र त्यसपछि यसरी नै भेटेका राजदूतहरूले आफ्नो देशको तर्फबाट नयाँ प्रधानमन्त्रीलाई बधाई तथा शुभकामनासमेत दिन पाएका थिएनन् ।
यो भेटलाई सत्तापक्षले प्रधानमन्त्रीबाट कूटनीतिक क्षेत्रमा गरेको ऐतिहासिक कामका रुपमा प्रस्तुत गरेको पाइयो । तर यता गरिएको काम भने नयाँ प्रधानमन्त्रीले पहिले देखाएको बालापन र पछि त्यही कामलाई ढिलै भए पनि सच्याएका मात्र थियो । उनले विदेशी राजदूतलाई एक्लै शिष्टाचार भेट्दै भेटदिनँ भन्ने आफ्नो र आफैँले पनि गलत मानेको अडान सच्चिनु कूटनीतिक क्षेत्रमा कसरी ऐतिहासिक काम भयो भन्ने नागरिकले भने बुझ्न सकेका देखिएन ।
बरु प्रधानमन्त्रीको यस्तो अडानबाट यसअघि ठूलै क्षति भइसकेको थियो । यसअघिसम्म कायम रहेको परम्परामा नेपालमा सरकार परिवर्तन भएर नयाँ प्रधानमन्त्री बन्नासाथ विदेशी राजदूतहरूले तत्कालै शिष्टाचार भेट गर्ने गर्थे । नेपालमा रहेका कूटनीतिक निकायले यहाँको परम्परा हेरेर सोअनुसार आफ्ना गतिविधि सञ्चालन गर्छन् । नेपालमा अरु मुलुकले मात्र होइन अरु मुलुकमा रहेका नेपाली कूटनीतिक निकायले पनि त्यहाँको परम्परा हेरेर सोअनुसार आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ । आफ्नो देशको यो परापूर्वकालदेखि चलिआएको नयाँ प्रधानमन्त्रीलाई भेटेर नै आफ्ना देशका तर्फबाट वधाइ तथा शुभकामना दिने परम्परालाई बालेनले तोडेका थिए ।
प्रधानमन्त्री शाहले त्यो परम्परा तोडेकै कारण कतिपय देशका प्रतिनिधि तथा नियोग प्रमुखहरूले उनलाई भेटन पाएनन् । यही मेलोमा अमेरिकाबाट आएका दुई विशिष्ट दूतहरू त्यसै फर्कन प¥यो । अमेरिकाका लागि दक्षिण तथा मध्य एसियासम्बन्धी मामिला हेर्ने सहायक विदेशमन्त्री समिर पल कपुर गत अप्रिलमा नेपाल आएका थिए । तर, प्रधानमन्त्री बालेनसँग उनको भेट भएन । उनको नेपाल भ्रमणको एकमात्र उद्धेश्य भने प्रधानमन्त्रीलाई भेटेर शुभकामना दिने मात्र रहेको भन्ने पछि जनाइयो ।
त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत र भारतका अमेरिकी राजदूत सर्जियो गोर पनि नेपाल आएका थिए । उनले पनि प्रधानमन्त्री भेट्न पाएनन् । त्यसै फर्किए ।
कूटनीतिक क्षेत्रमा यस्तो कामलाई कच्चा भनिन्छ । कच्चा पनि कस्तो भने अमेरिकी राष्ट्रपतिका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत र भारतका अमेरिकी राजदूतले भेटन नपाएपछि त्यो देशले दिने शुभकामना पनि प्रधानमन्त्रीले पाएनन् । त्यही शुभकामना लिनका लागि यो पटक एक्लाएक्लै भेटको ढोका खोलिएको हुनुपर्छ जसमा नेपालमा रहेका अमेरिकी दूतावासका कार्यवाहक राजदूतको भूमिकामा रहेका अधिकारीलाई प्रधानमन्त्री आफैँले बोलाएका भन्ने जानकारी बाहिर आएको बुझिन्छ ।
यसरी नभेटने भनेकै कारण भारतका विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण पनि स्थगित भएको थियो । उनको यो भ्रमणको एकमात्र कार्यकम भनेको भारतीय प्रधानमन्त्रीबाट नेपालका नवनियुक्त प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि गरेका निमन्त्रणा हस्तान्तरण गर्नु रहेको थियो तर प्रधानमन्त्रीले नभेट्ने भनेपछि उनी आएनन् र भारत भ्रमणको निम्ता पनि उतै रह्यो ।
प्रधानमन्त्री भएपछि शाहसँग विदेशी राजदूतका रूपमा एक्लाएक्लै शिष्टाचार भेट गरेका यो पहिलो पटक नै हो । यसअघि प्रधानमन्त्री शाहले प्रोटोकल नमिल्ने भन्दै विदेशी राजदूतलाई एक्लै शिष्टाचार भेटको समय नदिएर उनीहरूले औपचारिक रुपमापनि भेटका लागि खोजीनीति नै गर्न छाडेका बताइएको थियो । जब भेटको ढोका खोलियो त्यसका पहिलो पात्र थिए भारतीय राजदूत । विभिन्न समाचारहरूले यो भेटमा भारत भ्रमणको निम्ता दिइएको पनि बताइएको छ । यसको अर्थ प्रधानमन्त्रीले नै भ्रमणको निम्ता खोज्न थालेको अवस्था भनेर बताइयो भने अन्यथा नहोला ।
यो कुरालाई प्रधानमन्त्री शाहले भारतका विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण पनि स्थगित भएको विषयसँग पनि जोडिने गरको विज्ञहरूको बुझाइ आउन थालेको छ । उनको यो भ्रमणको एकमात्र उद्देश्य भनेको भारतीय प्रधानमन्त्रीबाट नेपालका नवनियुक्त प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि गरेका निमन्त्रणा हस्तान्तरण गर्नु रहेको थियो भन्ने त उसैबेला सार्वजनिक भई नै सकेको थियो । भारतले नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ आफ्नो देशको भ्रमणका लागि निम्तापत्र बोकाएर यसरी नै दूत पठाउने पहिलेदेखिकै परम्परा रहँदै आएको छ तर यो पटक भने प्रधानमन्त्रीले नै नभेट्ने भनेपछि उनी आएनन् र भारत भ्रमणको निम्ता पनि उतै रह्यो ।
याद रहोस् राजदूतभन्दा विदेश सचिवको हैसियत धेरै गुना माथि हुन्छ । त्यो अवसर छाड्दा यतिबेला राजदूतलाई भेटेर नै निम्ता माग्नु परेको धेरैको बुझाइ छ । प्रधानमन्त्रीको कार्यालयले भने यो बेलासम्म कुरा केहो भन्ने प्रस्ट पारेको छैन ।
यो दिन बेग्लाबेग्लै भेटगरेका नेपालका लागि भारतीय राजदूत श्रीवात्सवले भने प्रधानमन्त्री नरेन्द्र मोदीज्यूका तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेको र भारत–नेपालबीचको सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा उहाँसँग अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भएको बताए ।
कतिपयले प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार कुमार व्यञ्जनकार अर्थात् कुमार बेन पाँच दिन गोप्य रहेको अवस्था पनि बालेनकै भारत भ्रमणसँंग जोडिँदै आइरहेका देखिएका थिए । यी सल्लाहकार गएको असार १९ देखि २३ सम्म यो राज्यबाट गायव भएका भन्ने समाचार त्यसबेला नै आएका हुन् । उनी सरकारको तलबभोगी पदाधिकारी हुन् । तर उनको यतिलामो समयसम्मको यस्तो रहस्यमय गोप्यताबारे पनि प्रधानमन्त्रीको कार्यालयले प्रस्टीकरण दिन आवश्यक ठानेको छैन ।
यो गोप्यता यदि भारत भ्रमणको निम्ता माग्ने सन्दर्भको थियो भने त वास्तवमा नै दिउसो दिँदा नखाने राति कोल चाट्ने कूटनीतिलाई विधिवत् प्रवेश गराइएको नै मान्नुपर्ने हुन्छ । यी दृश्य प्रकट भएका समयमा सार्वजनिक सञ्चार माध्यममा प्रकाशित समाचारले पनि धेरैकुरा शंकास्पद भन्दै पसारण गरेका थिए । यसको पनि सम्बन्धित निकायबाट बेलैमा खण्डन गरिएन । कुनै पनि समाचार खण्डित भएनन् भने त्यो आफैँ सत्य साबित हुन्छ । प्रधानमन्त्रीका सल्लाहकारबारे यस्ता समाचार आएका महिना दिन बढी भएको छ ।
केही पहिले कूटनीतिक क्षेत्रमा गर्नै नहुने काम प्रधानमन्त्रीको कार्यालयबाट गरिएको भन्ने समाचार पनि यसरी नै एकप्रकारले तरङ्ग नै ल्याउनेगरी तीव्र रूपमा फैलियो । विषय थियो प्रधानमन्त्रीको निजी सचिवालय लोभिएर एउटा देशकै परापूर्व कालदेखि चल्दै आएको मैत्रीपूर्ण सम्बन्धलाई बिथोल्ने काम । जर्मनीलाइ बिच्क्याएर फ्रान्सलाई खुसी पार्नका लागि ठेक्कापट्टा यताउता गर्न लागिएको यो काम पनि समाचारमै आएको तर खण्डन नभएको विवरणमा नै परेको छ जसले नेपालका मित्रराष्टहरूसंगको सम्वन्ध विग्रन सक्तछ ।
त्यसमा भनिएका थियो – मेयर बन्नासाथ वालेन्द्र शाहले भेटेका पहिलो विदेशी राजदूत फ्रान्सेली थिए भने उनले फ्रान्सकै कान्स फेस्टिबलमा पनि सहभागिता जनाएका थिए । अहिले संयोग यस्तो भएको छ कि उनले जबर्जस्त जर्मनीको कम्पनीको पासपोर्ट छपाइ ठेक्का फ्रान्सेलीलाई दिन खोजे । परराष्ट्रमन्त्री खनालले प्रतिवाद गरेपछि जर्मनीकै कम्पनीले काम अगाडि बढायो । तर, विनाटेन्डर फ्रान्सेली कम्पनीलाई राष्ट्रिय परिचयपत्रको छपाइका बारेमा ठेक्का दिएर फेरि अर्को शंका उब्जाइएको छ । कानुनी प्रक्रिया पूरा गरेर पाएको जर्मनीको ठेक्का जबरजस्ती खारेज गरी फ्रान्सेली कम्पनीलाई दिँदा जर्मनीको दूतावास बिच्किएको थियो । अझ शाहका सहयोगीले जर्मनीका राजदूत उदो भोल्जलाई अपमानजनक व्यवहार गरेकोमा अर्को सकस थपिएको थियो । जर्मनीसँगको पुरानो मित्रवत् सम्बन्धमा कूटनीतिक अपमान गरेर सरकारले खेलाँची गरेको भन्दै सार्वजनिक वृत्तमा व्यापक अलोचना भइसकेको छ ।