काठमाडौं । बुधबार आएको भोटेकोशी (त्रिशुली) नदीमा तत्काल अर्को बाढी आउने त्रास बढेको छ । चीनतर्फ नदी थुनिएर बनेको ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम देखिएको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाले विहीबार साँझ विशेष सूचना जारी गर्दै त्रिशुली नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।
बुधबार बिहान नेपालमा बाढी आएर जनधनको क्षति गरेपछि चीन सरकारले नेपाल–चीनको सीमा क्षेत्रको खोला र हिमतालको अवस्थाको बारेमा निगरानी बढाएको छ । चीनले अध्ययन गरेर नेपालको परराष्ट्र मन्त्रालयमार्फत पठाएको पछिल्लो सूचना र भू–उपग्रहबाट प्राप्त तस्बिरहरूको प्रारम्भिक विश्लेषणअनुसार भदौ १० गते बाढी सिर्जना भएकै स्थानमा नदी थुनिएर ठुलो ताल बनेको छ । उक्त तालमा पानी थपिँदै गएको कारण जुनसुकै बेला फुट्ने चेतावनी चिनियाँ पक्षले दिएपछि नेपालमा त्रास बढेको हो । चीनको विदेश मन्त्रालयले यो जलाशय तीन दिनभित्र फुट्न सक्ने आँकलन गरेको छ ।
चीनको जलस्रोत मन्त्रालयलाई उद्धत गर्दै चिनिया मिडिया ग्लोबल टाइम्सले गरेको रिपोर्ट अनुसार, छोचेन खोला र पुरेपु हिमनदीको फेदमा पानी जमेर ताल बनिरहेको छ । त्यो ताल फुटेपछि त्यहाँको पानी ल्हेन्दे खोलामा मिसिन्छन् जुन खोला रसुवागढीमा आएर केरुङ खोलामा मिसिन्छ । त्यसपछि त्यसलाई भोटेकोशी भनिन्छ । स्याफ्रुबेसी भन्दा तल गोसाइँकुण्डबाट बगेर आएको त्रिशुली खोला मिसिएपछि त्यसलाई त्रिशूली नदी भनिन्छ ।
चिनियाँ सञ्चार माध्यमका अनुसार बिहीबारसम्म खाल्डोमा करिब २० लाख घनमिटर पानी जम्मा भए पनि बग्न थालेको छ । आगामी दुई÷तीन दिनमा १० लाख थपिएर ३० लाख घनमिटर पानी जम्मा हुन र त्यो फुट्ने चिनियाँ अनुमान छ । एक्कासि नफुटेमा त्यसले तल्लो भेगमा ठूलो असर नगर्ने अनुमान गरिएको छ ।