काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले नेपालका बाढीपीडितका लागि ११ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने भएका छन् ।
आचार्यले आफ्नो तथा आफू सम्बद्ध होली काउ कम्पनीको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका हुन् । नेपालमा हालै आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बेलायतस्थित नेपाली समुदायको सहयोग परिचालन गर्ने विषयमा नेपाली दूतावास लन्डनले शनिबार आयोजना गरेको छलफलमा आचार्यले सहयोग घोषणा गरेका हुन् । उनले तत्कालीन राहतसँगै जन्मभूमिको दीर्घकालीन पुनर्निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यस्तै नेप्लिज डक्टर्स एसोसिएसन यूकेले बाढीपीडितका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाएको जनाएको छ । एसोसिएसनकी अध्यक्ष डा. आरती थापाले तत्काल राहतका लागि शनिबार नै रकम पठाइएको जानकारी दिइन् । आईएमई लन्डनका निर्देशक कमल पौडेलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम पठाउँदा आफ्नो कम्पनीले कुनै शुल्क नलिने बताए । उनले आफू आबद्ध नेप्लिज ब्रिटिश कम्युनिटी यूकेले यसअघि नै १० लाख सहयोग गरिसकेको र थप १० लाख संकलन गरिरहेको जानकारी दिए ।
नेपालमा रहेका एनआरएनए आईसीसीका अध्यक्ष डा. हेमराज शर्माले एनआरएनएले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई तीव्र बनाएको बताए । उनका अनुसार एनआरएनएले हालसम्म पाँच करोड बराबरको सहयोगको प्रतिबद्धता प्राप्त गरिसकेको छ । विभिन्न मुलुकमा रहेका एनसीसीहरूलाई परिचालन गरिएको र प्रभावित क्षेत्रमा स्वयंसेवक तथा राहत सामग्री पठाउने काम भइरहेको उनले बताए । शर्माले नुवाकोटको विदुर नगरपालिका क्षेत्रमा पाँच सय परिवारलाई पुग्ने राहत सामग्री पुर्याइएको तथा रसुवामा समेत राहत वितरण गरिएको जानकारी दिए । बाढीका कारण २० भन्दा बढी पुलमा क्षति पुगेकाले त्रिशूली नदीपारिका क्षेत्रमा खाद्यान्न र स्वास्थ्य सेवाको समस्या रहेको उनले बताए । एनआरएनएका प्रवक्ता सोम सापकोटाका अनुसार ५० भन्दा बढी स्वयंसेवक नेपालका विभिन्न प्रभावित क्षेत्रमा परिचालित छन् । उनका अनुसार ७० लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको राहत सामग्री वितरण भइसकेको छ ।
छलफलमा सहभागीहरूले तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माणका लागि बेलायतबाट परियोजनामा आधारित सहयोग जुटाउनुपर्नेमा जोड दिएका छन् । हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले आफ्नो संस्थाले प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याइरहेको जानकारी दिँदै बेलायतमा दर्ता भएको च्यारिटीमार्फत थप सहयोग परिचालन गर्न सकिने बताए । ए टु जेड कार्गो एजेन्सीका निर्देशक सन्तोष कार्कीले दूतावासमार्फत नेपाल पठाइने आवश्यक राहत सामग्री ‘कस्ट टु कस्ट’ सेवामा सहयोग गर्ने प्रतिबद्धता जनाए । बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले बेलायतस्थित नेपाली समुदायलाई राहत तथा पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले तत्काल राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आग्रह गर्दै आर्थिक सहयोग गर्दा वैधानिक बैंकिङ तथा रेमिट्यान्स प्रणाली प्रयोग गर्न अपिल गरे । दुवाडीले बाढीबाट विद्यालय, सडक, विद्युत् आयोजना तथा बस्तीमा ठूलो क्षति पुगेकाले तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।