भरतपुर । बीसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको छ ।
रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सहकारीले पीडितको सहयोगार्थ उक्त रकम प्रदान गरेको हो ।
सहकारीका सेयर सदस्य, सञ्चालक समिति, लेखा समिति, कर्मचारी तथा विभिन्न उपसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरूले यस वर्षको तीजमा हुने खर्च कटौती गरी सो रकम संकलन गरेका हुन् । पीडित परिवारलाई विपद्को समयमा केही राहत पुगोस् भन्ने उद्देश्यले तीज खर्च कटौती गरेर सहयोग गरिएको सहकारीले जनाएको छ ।
सहकारीकी अध्यक्ष शैलजा घिमिरे पौडेलले विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएकाहरुको यथाशीघ्र खोजी तथा उद्धार हुनुपर्ने बताएकी छन् ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको पीडामा सहकारी परिवारले आफ्नोतर्फबाट सानो भए पनि सहयोग गर्ने प्रयास गरेको अध्यक्ष पौडेलले बताइन् ।