काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपका लागि छनोट भएको छ। शनिबार मलेसियाको वायुमास क्रिकेट ओभलमा भएको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले प्रिमियर कपको उपाधि जितेको हो।नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो। यूएईका लागि राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। तनिश सुरीले ४२ तथा कप्तान हरप्रित भाटियाले ३३ रन बनाए।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो योगफल तयार गरेको थियो।
नेपालको इनिङ्समा आसिफ शेखले शानदार शतक प्रहार गरे। उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए। यो आसिफको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) करियरको दोस्रो शतक हो।आसिफले पहिलो विकेटका लागि अर्जुन कुमालसँग ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। त्यसपछि इशान पाण्डेसँग दोस्रो विकेटका लागि ३६ रन तथा कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे।
अर्जुन कुमालले ४३ तथा कप्तान रोहित पौडेलले ४० रन बनाए। त्यसपछि गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाएपछि नेपाल ३१३ रनको बलियो स्कोरमा पुगेको थियो।यूएईका लागि इबरार अहमदले ४ विकेट लिए। खुजाइमा बिन तनभिरले २ विकेट लिए भने हैदर अली र अदीब उसमानीले समान १ विकेट लिए।
३१४ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले केही महत्वपूर्ण साझेदारी गरे पनि नेपाली बलरहरूले नियमित अन्तरमा विकेट निकाल्दै दबाब कायम राखे। अन्ततः यूएई २६९ रनमा समेटिएपछि नेपालले ४४ रनको जित निकाल्दै उपाधि आफ्नो नाममा गरेको हो। यससँगै नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै आगामी एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। नेपालले यसअघि सन् २०२३ मा भएको प्रिमियर कपको फाइनलमा पनि यूएईलाई नै पराजित गरेको थियो। लगातार यूएईलाई फाइनलमा हराउँदै नेपालले प्रिमियर कपमा आफ्नो दबदबा कायम राखेको हो।