काठमाडौं, बैंकहरूले भदौ महिनाका लागि ब्याजदर झनै घटाएका छन् । यो महिनाका लागि सार्वजनिक ब्याजदर विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर साउनको तुलनामा भदौमा कम भएको हो ।
वाणिज्य बैंकहरूले साउनमा चार दशमलव १६ प्रतिशत तोकेमा भदौको लागि चार दशमलव १३ प्रतिशतमा सिमित भएको छ । बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार भदौ महिनाको लागि पाँचवटा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज घटाएका छन् भने १५ वटाले स्थिर राखेका छन् ।
सिद्धार्थ बैंक, नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी र स्टान्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाउँदा नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंकसहितका १५ वटा बैंकहरूको ब्याजदर स्थिर देखिएको छ । जसमध्ये नबिल, प्रभु, मेगा, एनएमबी, सानिमा, माछापुच्छ्रे र कृषि विकास बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिँंदै भदौ महिनाको लागि क्रमशः चार दशमलव ५५, चार दशमलव ५५, चार दशमलव पाँच, चार दशमलव पाँच, चार दशमलव पाँच, चार दशमलव पाँच र चार दशमलव १५ प्रतिशत ब्याजदर तोकेका छन् ।
नेपाल बैंकले भने साउन महिनामा चार दशमलव २५ प्रतिशत तोकिएको ब्याजदरलाई भदौ महिनाको लागि घटाएर चार दशमलव पाँच प्रतिशतमा झारेको छ । नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराईज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आईएमई बैंकले पनि भदौ महिनाको लागि साउन महिनाकै ब्याजलाई निरन्तरता दिँदै क्रमशः चार दशमलव एक, चार दशमलव शून्य पाँच, चार, चार, चार, चार, चार र चार प्रतिशत ब्याजदर तोकेको छ । सिटिजन्स बैंकले भने साउन महिनामा कायम रहेको तीन दशमलव ९५ प्रतिशत ब्याजलाई घटाएर भदौ महिनाको लागि तीन दशमलव ८५ प्रतिशत तोकेको छ । यसैगरी स्टान्डर्ड चार्टर्ड बैंकले पनि साउन महिनामा कायम रहेको तीन दशमलव ८५ प्रतिशतको ब्याजदरलाई घटाएर भदौ महिनाको लागि तीन दशमलव आठ प्र्रतिशतमा सिमित राखेको छ ।
कुमारी बैंकले पनि भदौ महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज घटाएको छ । सोअनुसार साउनमा तीन दशमलव ८६ प्रतिशतमा सिमित रहेको ब्याजदरलाई घटाएर भदौ महिनाको लागि तीन दशमलव ७६ प्रतिशत ब्याजदर तोकेको छ । यसैगरी सिद्धार्थ बैंकले पनि साउन महिनामा कायम रहेको चार दशमलव शून्य पाँच प्र्रतिशतको ब्याजदरलाई घटाएर भदौ महिनाको लागि तीन दशमलव ७६ प्रतिशतमा झारेको छ ।