विराटनगर, विराटनगरका उद्योगी तथा नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले एकसाथै सोमबार बिहान छापा मारेको छ । प्रहरीले बिहान करिब पाँच घण्टा लगाएर खानतलासी गरे पनि केही हात भने पार्न सकेन ।
विराटनगरको मुटु मानिदै आएको विराटनगर–७ स्थित मुन्दडाको निवासमा बिहानको ब्रह्ममुहूर्तको समय करिब ४ बजे नै ठूलो संख्यामा प्रहरी परिचालन गरी मोरङ प्रहरीले घर तथा कार्यालयमा खानतलासी गरेकोे थियो । प्रहरीले अवैध रकम रहेको विशेष सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको बताए पनि मुन्दडाको घरबाट केही फेला पार्न नसकेको हो । छापा मार्ने क्रममा मुन्दडाको घर र कार्यालय परिसरमा सुरक्षाव्यवस्था कडा पारिएको थियो । उद्योगी मुन्दडाको घरमा प्रहरीले गरेको खानतलासीे र अनुसन्धानबाट कुनै ठोस प्रमाण र पुष्टि हुने कुुरा केही फेला नपरेकोपछि प्रहरी खाली हात फर्किनुपरेको छ । यो घटनाले निजी क्षेत्रमा अन्यौलता छाएको छ । विना सबुत प्रमाण प्रहरीले हतोत्साही हुनेगरी व्यवसायीको निजी घर तथा कार्यलयमा छापा मारेर दुःख दिएको व्यवसायीहरूले बताउन थालेका छन् ।
विशेष सूचनाको भरमा मुन्दडा निवासमा अप्रेसन चलाएको प्रहरी प्रशासन फेल भएपछि प्रहरीलाई मिथ्या सूचना कसले दियो ? या छापामारीको सूचना लिक भयो ? भन्ने दुई थरीबाट विश्लेष हुन थालेको छ । सोमबार बिहानै विराटनगरको गोल्छा चोकदेखि जिल्ला प्रशासन चोकसम्मको पण्डित मेघराज शर्मा मार्गमा प्रहरीको ब्यापक उपस्थिति थियो । सडक सिल गरिएको थियो, आवतजावत पूर्ण रूपमा रोकिएको थियो र दर्जनौं सुरक्षाकर्मी तैनाथ थिए । त्यस बेलाको दृश्य यति डरलाग्दो देखिएको थियो कि बाटो हिड्ने जो कोही पनि सर्वसाधारणको एउटै प्रश्नले सबैलाई त्रसित बनाएर कतै बम विस्फोटको खतरा त होइन वा कुनै ठूलो आपराधिक घटना त घटेन भन्ने जस्ता प्रश्नले सबैलाई आतंकित नै बनाएको थियो । गोल्छा चोकमा भेटिएका एक व्यक्तिले त्रसित हुुँदै भने प्रकाश मुन्दडाको घरमा प्रहरीले छापा मारिरहेको छ । सोमबार बिहानको त्यो दृश्यले अहिले विराटनगरमा एउटा गम्भीर प्रश्न उठेको छ, ‘यति ठूलो प्रहरी अपरेसन आखिर किन ?’
देवेनारा समूहका सञ्चालक मुन्दडाको निवासमा सोमबार बिहानको ४ः४५ बजे पुगेको प्रहरीको विशेष टोलीले बिहान ९ः३० बजेसम्म खानतलासी गरेको स्थानीयले बताए । घरका कोठादेखि दराज, भान्सा र अन्य सबै स्थानमा सूक्ष्म रूपमा प्रहरीले खोजी गरेको थियो । मुुन्दराको घर बाहिर तीस जनाभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । ‘केवल मुन्दडा निवास वरपर मात्र होइन, त्यसको वरीपरी महानगरपालिका दक्षिणस्थित हिमालयन बैंक अगाडिको मुन्दडा निवासको अर्को प्रवेशद्वारसम्म सुरक्षा घेरा कडा पारिएको थियो’, एक स्थानियले भने । खानतलासी भइरहँदा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले अवैध सामान लुकाइएको विशेष सूचनाका आधारमा अनुसन्धान भइरहेको बताएका थिए । उनी स्वयं पनि घटनास्थलमा पुगेर केही समय निरीक्षणपछि फर्किएका थिए ।
घण्टौं लामो खोजीपछि प्रहरीको टोली मुुन्दडाको घरबाट बाहिएिको थियो । त्यससँगै बाहिर आए देवनरा समूहका सञ्चालक वेनीगोपाल मुन्दडा र उद्योगी प्रकाश मुन्दडाले प्रहरीलाई पूर्ण सहयोग गरेको बताए । प्रकाशले भने, ‘बिहान ५ बज्नुभन्दा अगाडि नै प्रहरी आउनुु भएको थियो । घरका सबै कोठा, दराज, भान्सासहित सबै ठाउँ देखाइ दियौं । उहाँहरूले केही पनि फेला पार्नुभएन । हामीलाई क्लिनचिट दिएर फर्किनुभयो । तर किन खानतलासी गरियो ? भन्ने कारण हामीलाई पनि जानकारी गराइएको छैन ।’
यो घटनापछि करिडोरका उद्योगी–व्यवसायी वृत्तमा अनेक प्रश्न उठ्न थालेका छन् । ‘यति ठूलो सुरक्षा अपरेसनमा कुनै पनि गैरकानुनी सामग्री फेला परेन भने यति व्यापक रूपमा प्रहरी परिचालन गर्नु आवश्यक थियो ? अनुसन्धानकै लागि जानुपरे पनि सीमित संख्यामा सादा पोशाकका प्रहरी परिचालन गरेर पनि काम गर्न सकिन्थ्यो नी ?’ एक व्यवसायीले भने । यदि अन्ततः केही पनि भेटिएन भने यसरी उद्योगी–व्यवसायीलाई सार्वजनिक रूपमा त्रसित बनाउने शैलीले राम्रो सन्देश दिँदैन । यसले लगानीको वातावरणमै नकारात्मक असर पार्छ ।
गलत सूचना दिनेलाई कारबाही हुने कि नहुने भन्ने प्रश्न पनि उठ्न थालेको छ । ‘प्रहरीलाई ‘विशेष सूचना’कसले दियो ? यदि सूचना झुटो थियो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? गलत सूचना दिने व्यक्तिमाथि कारबाही हुन्छ कि हुँदैन ? कसैसँग व्यक्तिगत रिसइबीका आधारमा फलानाको घरमा हतियार वा अवैध सामान छ भनेर सूचना दिने र प्रहरीले यस्तै शैलीमा छापा मार्ने हो भने त्यसको जिम्मेवारी कसले लिने ?’ व्यवसायीको प्रश्न छ । उद्योगीहरूले यस्ता घटनाले निजी क्षेत्रको मनोबल कमजोर बनाउने बताए । ‘राज्यका निकायले अनुसन्धान गर्नैपर्छ, तर अनुसन्धानको शैलीले निर्दोष व्यक्ति वा व्यवसायिक प्रतिष्ठामाथि अनावश्यक मनोवैज्ञानिक दबाब सिर्जना गर्नु उचित हुँदैन’, उद्योगीहरूको भनाइ छ ।
मुन्दडाको घरमा भएको खानतलासीको घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङले प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ । विराटनगर–७ गोश्वारा रोडस्थित वेनीगोपाल मुन्दडाको घरमा ‘गैरकानुनी चिजवस्तु लुकाइएको’ भन्ने विशेष सूचनाका आधारमा खानतलासी गरिएको प्रहरीले जनाएको छ । विज्ञप्तिमा भने सूचनाअनुसारका कुनै पनि गैरकानुनी सामग्री फेला नपरेको उल्लेख छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उक्त घटनापछि नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले विज्ञप्ती जारी गर्दै घटनाको विरोध गरेका छन् । संस्थाका वरिष्ठ उपाध्यक्षको घर तथा अफिसमा प्रहरीले अपमान जनक खानतलासी गरेको उनको आरोप छ । प्रहरीको यस्ता गतिविधिबाट औद्योगिक बातावरण बिग्रिने र व्यवसायी नै पलायन हुुन सक्ने खतरा उत्पन्न हुने उनको भनाइ छ ।
देवेनरा ग्रुपमा भएको प्रहरी छापापछि व्यावसायिक क्षेत्र आक्रोशित
विराटनगरको प्रतिष्ठित व्यावसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा प्रहरीले सोमबार बिहान सडक घेराबन्दीसहित करिब पाँच घण्टा सञ्चालन गरेको छापामारीप्रति निजी क्षेत्रले असन्तुष्टी जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति जारी गरी असन्तुष्टी जनाएका हुन् । छापामा कुनै पनि गैरकानुनी वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित प्रमाण फेला नपरेपछि व्यावसायिक क्षेत्रले प्रहरीको सूचना संयन्त्र र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएका छन् । प्रहरीले अपुष्ट सूचनाको आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै गरिएको कारबाहीले निर्दोष उद्योगी–व्यवसायीलाई अपराधीसरह व्यवहार गरिएको उनीहरूको आरोप छ । प्रहरीकै आधिकारिक प्रेस विज्ञप्तिले कुनै पनि गैरकानुनी वस्तु वा प्रमाण बरामद नभएको पुष्टि गरेकाले सूचना संकलन, प्रमाणीकरण र अनुसन्धान प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको उल्लेख गरिएको छ ।
व्यावसायिक संस्थाहरूले कानुन कार्यान्वयन राज्यको दायित्व भए पनि त्यसका नाममा नागरिकको प्रतिष्ठा, व्यावसायिक साख र लगानीको सुरक्षामाथि आघात पुग्ने गरी प्रदर्शनमुखी कारबाही स्वीकार्य नहुने बताएका छन् । यस्ता घटनाले उद्योगी–व्यवसायीमा त्रास सिर्जना गर्नुका साथै निजी क्षेत्रप्रतिको सरकारी दृष्टिकोणमाथि नै प्रश्न खडा गरेको उनीहरूको भनाइ छ । सरकारले एकातिर निजी क्षेत्रलाई आर्थिक विकासको साझेदार भन्दै लगानी आकर्षित गर्ने नीति सार्वजनिक गर्ने र अर्कोतर्फ पर्याप्त आधारविनै ठूलो सुरक्षा घेराबन्दीसहित छापा मार्ने कार्यले सरकारी नीति र व्यवहारबीच गम्भीर विरोधाभास देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तो प्रवृत्तिले सरकार र निजी क्षेत्रबीचको विश्वास कमजोर पार्नुका साथै मुलुकको लगानी वातावरण र आर्थिक गतिविधिमा दीर्घकालीन नकारात्मक असर पर्ने चेतावनीसमेत दिइएको छ ।
व्यावसायिक क्षेत्रले अनुसन्धान र छापामार कारबाहीअघि प्रयोग गरिने सूचना संयन्त्रको विश्वसनीयर्ता जाँच गर्न, अपुष्ट सूचनाका आधारमा गरिने कारबाही रोक्न तथा निर्दोष उद्योगी–व्यवसायीको सामाजिक प्रतिष्ठा र व्यावसायिक साखमा पुगेको क्षतिको जिम्मेवारी राज्यले लिनुपर्ने माग गरेको छ । उद्योग–वाणिज्य क्षेत्र राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै व्यावसायिक संस्थाहरूले निजी क्षेत्रलाई शंकाको दृष्टिले होइन, कानुनी सुनिश्चितता, पारदर्शिता, आपसी विश्वास र सहकार्यको वातावरणमा अघि बढाउने नीति तत्काल अवलम्बन गर्न सरकारसँग आग्रह गरेका छन् ।