भोटेकोशी बाढीबाट कति नागिरिक विस्थापित भए भन्ने यकिन भइसेको छैन तर संख्याभने कल्पनातित नै रहेको आँकलन भइरहेको छ । तिनको पुनःस्थापना कसरी होला भन्ने सन्दर्भ आउँदा यिनका पनि सुकुमबासीकै जस्तो हालत हुने हो कि भन्ने त्रास जन्मिन्छ ।
आफैँले विस्थापित गरेका सुकुमबासीका जीवन मृत्युसंग प्रत्यक्ष जोडिएको विषयमा सरकारको लामो समयदेखि कुनै नीति स्पष्ट भएको देखिएन । बरु यो क्षेत्रप्रति निरन्तर खेलवाड भने भइरहेको देखिन्छ । सरकारले आफ्नो पहिलो काम नै भूमिहीनहरूलाई आवासविहीन बनाउनु थियो । यो सरकार चैत्र १३ गते बन्यो र अर्को महिनाको वैशाख १२ गते डोजरले त्यस्ता व्यक्ति परिवारको उठिवास लगायो । यो संसारभरिकै लागि आफ्नो जमिन नभएकाहरूका लागि अत्यन्त क्रूर घटना थियो । विकसित देशहरूमा पनि झण्डै ३० प्रतिशतको हाराहारीमा मानिसहरू आफ्नो आवास नभएका अर्थात् अरुको घरमा बस्ने गरेका प्रतिवेदनहरूले देखाएका छन् । तर नेपालको र अरुले गर्न नसकेको परिवर्तन गर्छु भनेर कवोलका साथ जनमत बटुलेको सरकारले आफ्नो पहिलो काम नै ठूलो संख्यालाई आवासबाट बेदखल गरेको घटना बन्यो । त्यो पनि उनकै हितका लागि भनेर ।
काठमाडौंका नदी किनार र सार्वजनिक जमिनमा वर्षौंदेखि बस्दै आएका सुकुमबासीहरूको बस्तीमा डोजर चलाइएको अहिले ५ महिना बढी भइसकेको छ । सरकारले सेनासमेत लगाएर तिनका टिनका छाप्रामात्रै भत्काएन । परिवारको रोजगारी, सामाजिक सम्बन्ध र भविष्यको आधार पनि भत्काइदिएको यति लामो समयसम्म अरु कुनै व्यवस्थापन हुन सेकेको देखिएन । यता यसरी सरकारले विस्थापन गरेका परिवारबाट दिनहुँ आत्महत्याको शृङ्खला भने बढी नै रहेको छ । जुन दिनदेखि आफ्नो आवासमा डोजर चल्न थाल्यो, त्यसै दिनदेखि त्यस्ता दृश्यलाई सहन नसकेर आत्महत्याको बाटोबाट जीवन उत्सर्ग गर्न थालिसकेका थिए । यो चार महिनामा यो संख्या बढेर दुई दर्जनको हाराहारीमा पुगिसकेको स्थिति प्रकट हुँदैछन् ।
आत्महत्या गरेर सरकारको क्रूरताबाट मुक्ति लिन खोजेका मध्ये हालसम्मको सबैभन्दा पछिल्लो घटना शान्तिनगर–गैरीगाउँमा प्रकट भएको छ । बस्तीमा डोजर चलेपछि ललितपुरको टीकाथलीमा भाडामा बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले भदौको प्रारम्भमा नै आत्महत्या गरे । परिवारजनका अनुसार आफ्नो छाप्रोमा डोजर चलेपछि उनी रोजगारी र भविष्यको चिन्तामा रहेका बताइएको छ । संयुक्त सुकुमबासी राष्ट्रिय मोर्चाका महासचिवका अनुसार सरकारले सत्ता र शक्तिको दुरूपयोग गरेर गरिब सुकुमबासी भूमिहीनको बासस्थान वैकल्पिक आवासको उचित व्यवस्थापन नगरी विस्थापित गर्दा सुकुमबासीले आत्महत्या गर्ने क्रम झन्झन् बढेको स्थिति प्रकट भइरहेका छन् ।
२८ साउनमा भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल हजारा पासवान झुन्डिएको अवस्थामा मृत भेटिए । थापाथलीबाट हटाइएपछि पहिले कीर्तिपुर र त्यसपछि बोडे होल्डिङ सेन्टरमा पुगेका उनी विक्षिप्त अवस्थामा थिए । आफन्तका अनुसार बस्ती भत्किएपछि उनी तनावमा थिए । डोजर चलाउने भनिए पछि १० वैशाखमा १८ वर्षीय रविन तामाङ शौचालयमा झुन्डिएर जीवन त्यागे । १८ वैशाखमा बल्खुस्थित बागमती नदीमा ६१ वर्षीय इन्द्रबहादुर राई शवमा परिणत भएका थिए । यसरी डोजर चल्दाकै क्रममा शान्तिनगरकी ५० वर्षीया कमला बलम्पाकी सामान सार्ने क्रममा हृदयाघातबाट र १८ महिने उज्ज्वल तामाङको घरका सामान सार्ने क्रममा मृत्यु भयो । त्यसरी नै शंखमूलका ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ पनि मृत्यु बरणमा पुगे ।
गैरीगाउँबाट विस्थापित अर्का ३६ वर्षीय भेषराज दर्जीको होल्डिङ सेन्टरमा औषधोपचार नियमित हुन नसकेका कारण ज्यान गयो । मनोहराकी ६६ वर्षीया पार्वती विकको पनि सामान सार्ने क्रममा हृदयाघातबाट मृत्यु भएको महासंघले जनाएको छ । यसरी नै बाँकेको कोहलपुरमा २६ वैशाखमा बस्ती हटाएपछि ३० वर्षीया सुशीला थापा मगरको पनि मानसिक आघातका कारण ज्यान गयो भने सप्तरीकी अर्की ७५ वर्षीया रतनदेवी मलाहानीको मृत्यु पनि बस्ती भत्काइएकै कारण भएको थियो ।
बाढीले बगाए पनि आत्महत्या गरे पनि ज्यान त गयो नै । सरकारले यी विस्थापितहरूको यथाशीघ्र पुनःस्थापन गर्न आवश्यक छ । त्यसो भएन भने मृतकहरूको संख्या झन् थपिने होला ।