वीरगन्ज, सुनसरीको देवानगञ्ज (कप्तानगञ्ज) घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा बढेको तनावका बीच पर्साको वीरगन्जमा शुक्रबार सर्वदलीय तथा सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ।जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा भएको र्याली प्रशासन कार्यालयबाट सुरु भई घण्टाघर पुगेर समापन गरिएको थियो। र्यालीमा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै पर्सामा शान्ति, सुरक्षा, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले र्याली आयोजना गरिएको जानकारी दिए।र्यालीमा पर्सा–१ का सांसद हरि पन्त, पर्सा–२ का सांसद सुशीलकुमार कानु, पर्सा–३ का सांसद रामाकान्त चौरसिया, वीरगन्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलमसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
यसैबीच, सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार शुक्रबार साँझ ५:०० बजेदेखि शनिबार बिहान ६:०० बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।प्रशासनले सबै पक्षलाई संयम अपनाउन, अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। साथै शान्ति–सुरक्षामा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।