काठमाडौं, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउने बताएका छन् ।शिक्षा तथा खेलकुद मन्त्रालयमा निजी विद्यालय सञ्चालकका विभिन्न छाता संगठनका प्रतिनिधिसँग मंगलबार आयोजित अन्तरक्रियामा मन्त्री पोखरेलले ऐन निर्माणका क्रममा प्राप्त सुझावलाई समेटेर परिपक्व ढंगले ऐनलाई अन्तिम रूप दिइने बताएका हुन् ।
सरकार र निजी क्षेत्रबीचको साझेदारी बलियो बनाएर गुणस्तरीय तथा व्यवहारिक शिक्षा सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए । सरकारले शिक्षा क्षेत्रका सबै सरोकारवालालाई साझेदारका रूपमा लिएको उनको भनाइ थियो । ‘कुनै पनि ऐन तथा नीति बनाउँदा सबै स्टेकहोल्डरको अपनत्व हुनुपर्छ । सोही बुझाइका साथ सकेसम्म सबै सरोकारवालासँग छलफल गरेका छौँ’, उनले भने ।
शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले सरोकारवालासँगको छलफल र समन्वयबाट विद्यालय शिक्षामा नीतिगत सुधार गरिने बताए । हिसानका महासचिव रामहरि शिलवालले नयाँ शिक्षा ऐनले शिक्षाको राष्ट्रिय उद्देश्य पूरा गर्नेगरी गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
उनले पाठ्यक्रम समयसापेक्ष, वैज्ञानिक र व्यवहारिक हुनुपर्ने धारणा राखे । काठमाडौँ वर्ल्ड स्कुलका व्यवस्थापन समिति अध्यक्ष इन्जिनियर डा. मिथिलेशकुमार झाले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई वर्तमान आवश्यकतामा आधारित बनाउँदै शिक्षालाई सीपसँग जोड्नुपर्ने बताए । एपिनका उपाध्यक्ष शारदा पाण्डेले प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षालाई सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए ।