काठमाडौं, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ करोड १ रुपैयाँ आर्थिक सहयोग गरेको छ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, पुनःस्थापना र पुनःनिर्माणका लागि इप्पानले आफूसँग आबद्ध जलविद्युत् कम्पनी तथा विद्युत् विकासकर्ताबाट उक्त रकम संकलन गरी सहयोग गरेको हो ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले मंगलबार एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई रकम हस्तान्तरण गरेका छन् । इप्पानको आकस्मिक कार्यसमिति बैठकले भदौ ११ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गर्दै आबद्ध कम्पनीलाई आर्थिक सहयोगका लागि आह्वान गरेको थियो । त्यसपछि इप्पान तथा आबद्ध कम्पनीहरूले ५० हजारदेखि १ करोड ६५ लाख रुपैयाँसम्म सहयोग गरेका थिए । सोही संकलित रकम हस्तान्तरण गरिएको हो ।
बाढीले जलविद्युत् आयोजनामा समेत ठुलो क्षति गरेको छ । बाढीबाट सञ्चालनमा रहेका ८ र निर्माणाधीन ४ गरी १२ वटा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको इप्पानले जनाएको छ । अन्य आयोजना समेत प्रभावित हुँदा करिब ४३१ मेगावाट विद्युत् उत्पादन क्षमता नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण ग्रिडबाट विच्छेद भएको छ । बाढीले अरबौं रुपैयाँ लगानीमा निर्माण भएका जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुर्याउनुका साथै ऊर्जा क्षेत्रमा कार्यरत इन्जिनियर, प्राविधिक, विज्ञ, विशेषज्ञ तथा कामदारसमेतको ज्यान गएको इप्पानले जनाएको छ ।
सहयोग रकम हस्तान्तरण गर्दै इप्पान अध्यक्ष डाँगीले निजी क्षेत्रका जलविद्युत् आयोजनाहरू आफैँ ठूलो क्षतिमा परेको अवस्थामा समेत पीडित नागरिकको उद्धार र पुनःनिर्माणमा सहयोग गर्ने निर्णय गरिएको बताए । ‘राष्ट्रमाथि संकट परेको बेला सरकारसँग सहकार्य गर्नु निजी क्षेत्रको दायित्व हो । यस्तो विपद्मा सरकारलाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न इप्पान र निजी ऊर्जा क्षेत्र तयार छ,’ उनले भने । उक्त सहयोगलाई आर्थिक सहयोगमा मात्र सीमित नभई आफ्नै आयोजना गुमाएका ऊर्जा उद्यमी, सहकर्मी तथा कामदार गुमाएका कम्पनी र विपद्मा परेका नागरिकप्रतिको मानवीय दायित्वका रूपमा लिनुपर्ने उनले बताए ।
ऊर्जामन्त्री श्रेष्ठले भोटेकोशी महाविपत्तिपछि सरकार उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको बताए । इप्पान तथा आबद्ध विद्युत् कम्पनीहरूले आफ्नै आयोजनामा ठूलो क्षति व्यहोरेको अवस्थामा समेत पीडित नागरिकका लागि गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यसले सरकारको उद्धार, पुनःस्थापना र पुनःनिर्माण अभियानमा थप मनोबल बढाएको बताए । विपद्बाट प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सरकारको एक्लो प्रयास पर्याप्त नहुने उनको भनाइ छ । निजी क्षेत्रलगायत सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए । कार्यक्रममा मन्त्रालयकी सचिव सरिता दुवाडीले इप्पानबाट प्राप्त सहयोगले सरकारले अघि बढाउने पुनःनिर्माणको काममा महत्वपूर्ण सहयोग पुग्ने बताइन् ।