काठमाडौं, सरकारले पुँजीबजार सुधारको लागि २१ बुँदे मार्गदर्शन सार्वजनिक गरे पनि सेयर लगानीकर्ता विश्वस्त हुन नसकेको देखिएको छ । सोमबार सेयरबजार सुधारका लागि भन्दै २१ बुँदे कार्ययोजना ल्याएपछि मंगलबार बजार ४८ दशमलव ५७ अंकले बढेको थियो ।
तर एक दिन नबित्दै नेप्सेको उच्च बृद्धिमा ‘ब्रेक’ लागेको हो । त्यसो त वालेन्द्र शाह नेतृत्वको सरकार बनेयता बजारमा उत्साह आउन सकेको छैन । शाहको सरकारमा विद्वान् मानिएका डा. स्वर्णिम वाग्ले अर्थमन्त्री हुँदा धेरै लगानीकर्ता उत्साहित पनि भएका थिए । तर उनी र उनको सरकार बनेदेखि नै नेप्सेको उतारचढावमा फेरबदल आएको छैन । अर्थमन्त्री वाग्लेले पुँजीबजार उन्नयनका लागि प्रभावकारी नीति पनि अख्तियार गर्न सकेका छैनन् । केही नियमहरू फेरबदल भए पनि सेयरबजारमा पहिलेजस्तै समस्या ज्युँका त्युँ छन् ।
यस्तोमा अर्थमन्त्री वाग्लेले बजार सुदृढीकरणको नीति सोमबार अघि सारेका थिए । मंगलबार लगानीकर्ताले यसलाई सुधारको संकेतका रुपमा लिए पनि बुधबार पुनः बजार घटेको छ । यसले उनीहरूको मनोबलवृद्धिमा उल्लेखनीय विश्वास दिलाउन नसकेको रूपमा हेरिएको छ । फलतः मंगलबार उच्च अंकले बढेको बजार बुधबार २१ दशमलव १९ अंकले ओरालो लागेको छ ।
योसँगै नेप्से २६ सय १२ दशमलव ४२ बिवदुमा खुम्चिएको छ । यसदिन तीन सय ५० वटा सेयर कारोबार भएकामा एक करोड ५१ लाख एक हजार पाँच सय ५५ कित्ता खरिद बिक्री भएका छन् । जुन अघिल्लो दिनकै तुलनामा पनि ४९ लाख कित्ता कम हुन आउँछ । यो किनबेचमा बुधबार कुल पाँच अर्ब ३८ करोडको कारोबार भएको छ । जब कि मंगलबार दुई महिनायताकै बढी अर्थात् कारोबार रकम आठ अर्ब नाघेको थियो । कुल १३ मध्ये यस दिन सबै समूह राताम्य भए ।
अघिल्लो दिन हरियाली छाएको बजारमा भोलिपल्टै राताम्य हुनुलाई विज्ञहरूले सरकारले नीति मात्रै ल्याइरहने र कार्यान्वयन बिर्सिने बानीलाई कारण मानेका छन् । अहिले पनि त्यस्तै हुने हो कि भन्ने संशय उनीहरूमा छाएको रुपमा विज्ञहरूले लिएका छन् । पहिलेका सरकारले पनि सेयरबजार सुधारका नीति ल्याएका थिए । नेप्से पुनर्संरचना यो सरकार आउनुअघि नै आइसकेको थियो । कार्यान्वयन मात्र हुन सकेको थिएन । यस्तोमा यो सरकारले पनि त्यही कुरालाई दोहोर्याएको रुपमा लगानीकर्ताले लिएका छन् । यसले पनि बुधबारको कारोबारलाई इंगित गर्ने एक लगानीकर्ता बताउँछन् ।
उनले भने, ‘हाम्रोमा बोल्ने मात्रै सरकार आउँछन्, जति पनि आउँछन् काम गर्दैनन् । पहिलेका सरकारले पनि यही भन्थे, अहिले पनि यही नै छ । केचाहिँ फरक छ र !’ हुन पनि पछिल्ला तीन दिनको सेयर कारोबारले यिनै कुरा देखाउँछन् । बुधबार कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेकोमा गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा एनएमबी हाइब्रिड फन्ड परेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड भने यसदिन बढी रकम कारोबार गर्नै कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको छ । सेयर किनबेचमा कमाउने, गुमाउने र कारोबार हुने तथ्यांकले पनि सेयरबजारले अब कुरा मात्रै नपत्याउने संकेत गरेको छ ।