काठमाडौं । काठमाडौंमा आधारित वाइन उत्पादक कम्पनी सुप्रिम वाइन नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सानधारण सेयर निष्कासन तथा बिक्री व्यवस्थापनका लागि नेसनल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
योसम्बन्धी सम्झौतापत्रमा दुई कम्पनीबीच केही दिन अघि हस्ताक्षर भएको कम्पनीले जानकारी दिएको छ । सम्झौतासँगै सुप्रिम वाइनले पुँजी बजारमार्फत सर्वसाधारणबाट लगानी जुटाउने औपचारिक प्रक्रिया सुरु गरेको छ । सन् २०१५ (विसं. २०७१) मा स्थापना भएको सुप्रिम वाइन नेपाल लिमिटेडको मुख्य कार्यालय काठमाडौं महानगरपालिका–बुढानीलकण्ठ–३ मा रहेको छ । कम्पनीले ‘अकिरा’ र ‘सब मरीन’ (ब्रान्डअन्तर्गत प्रिमियम तथा फ्रुट वाइन उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । अनुभवी व्यवस्थापन टोलीद्वारा सञ्चालित कम्पनी हाल नाफामूलक अवस्थामा रहेको जनाएको छ ।
कम्पनीले विद्यमान वाइन व्यवसायलाई थप विस्तार गर्नुका साथै कृषि पर्यटन (एग्रो–टुरिज्म) क्षेत्रमा समेत व्यवसाय विविधीकरण गर्ने दीर्घकालीन रणनीति अघि सारेको छ । आईपीओबाट संकलित पुँजी उत्पादन क्षमता विस्तार, ब्रान्ड प्रवद्र्धन तथा कृषि पर्यटनसम्बन्धी योजनाको कार्यान्वयनमा उपयोग गर्ने कम्पनीको योजना छ । यसमार्फत स्वदेशी वाइन उद्योगमा अग्रणी स्थान हासिल गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
कम्पनीका अनुसार नेपालमा मदिरा उद्योग वार्षिक २० देखि २५ प्रतिशतको दरले विस्तार भइरहेको भए पनि कुल मदिरा बजारमा वाइनको हिस्सा करिब १ प्रतिशत मात्रै छ । उपभोक्ताको बदलिँदो रुचि, प्रिमियम उत्पादनप्रतिको आकर्षण तथा स्वदेशी वाइनको बढ्दो मागका कारण वाइन उद्योगमा उल्लेखनीय वृद्धि सम्भावना रहेको कम्पनीको दाबी छ ।
आईपीओ निष्कासनको बिक्री प्रबन्धक नियुक्त भएको नेसनल क्यापिटल लिमिटेड, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी हो । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त यस मर्चेन्ट बैंकरले विभिन्न संस्थाहरूलाई पुँजी बजारमार्फत वित्तीय स्रोत परिचालन तथा धितोपत्र निष्कासन व्यवस्थापनमा सेवा प्रदान गर्दै आएको छ ।