काठमाडौं, झण्डै ९६ अर्ब रुपैयाँ बिगो दाबी गरिएको स्मार्ट सेल घोटाला प्रकरणमा जोडिएको अभियोगका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) २२ जना प्रतिवादीहरूको नाममा सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गरेपछि नेपाल राष्ट्र बैंक कानुनी परामर्शमा जुटेको छ । आफ्नै अनुमतिका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले खराब कर्जा असुलीको लागि धितोमा रहेको स्मार्ट सेलको सम्पत्ति बिक्री गरेपछि विभिन्न कारण देखाउँदै सीआईबीले बैंकका प्रमुख कार्यकारी अधिकृत एवं सञ्चालकहरूउपर धरकपड गरेको थियो ।
सोही मुद्दामा सीआईबीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सात जना सञ्चालकहरूमध्ये मदन कुमार दाहालबाहेकका छ जना सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गरेपछि राष्ट्र बैंकले सीआईबीको पछिल्लो कदम र नियामकीय निकायको नाताले खेल्नुपर्ने भूमिका के हुने भन्ने विषयमा बिहीबार कानुनविद्हरूसँग कानुनी परामर्श गरेको हो ।
राष्ट्र बैंक उच्च स्रोतका अनुसार बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्मार्ट सेलको धितो बिक्री र आगामी दिनका राष्ट्र बैंकले राख्नुपर्ने अडानका विषयमा कानुनविदरूसँग परामर्श गरिएको हो । ‘परामर्शमा के–के छलफल भयो भन्नेबारेमा ठोस कुरा नखुलाइए केही दिनभित्रमा राष्ट्र बैंकले उक्त प्रकरणमा आफुले खेल्नुपर्ने भूमिकाको बारेमा प्रस्ट कुरा सार्वजनिक गर्छ ।’ राष्ट्र बैंक उच्च स्रोतले भनेको छ ।
यसैबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंक स्वयम्ले पनि कुनै पनि आधिकारिक हस्ताक्षर र छाप नभएको विज्ञप्ति जारी गरेर बैंकसँग जोडिएको पछिल्लो घटनाक्रमले बैंकको नियमित काममा कुनै पनि अप्ठ्यारो नभएको प्रस्ट पारेको छ । इन्भेष्टमेन्टको बैंकले बिहीबार जारी गरेको सोही विज्ञप्तिलगत्तै राष्ट्र बैंकले पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको विषयमा बिहीबार नै विज्ञप्ति जारी गर्दै बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतविरुद्ध सम्मानित काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषय आफ्नो जानकारीमा आएको उल्लेख गर्दै त्यसपश्चात् बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा नजिकबाट अनुगमन भइरहेको जनाएको हो ।
साथै, विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय–सुझाव लिई छलफल भइरहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ । अभियोगपत्र दायर भएको घटनाले बैंकिङ क्षेत्रमा चासो बढाए पनि नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय अवस्था सन्तोषजनक रहेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तरलताको अवस्थालगायत वित्तीय सबलताका परिसूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्डबमोजिम सन्तोषजनक रहेका छन् । यही कारण बैंकको दैनिक कार्यसञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था हालसम्म नदेखिएको राष्ट्र बैंकको भनाइ छ ।