Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअवरोधबीच भौतिक मन्त्रालयको प्रगति ४० प्रतिशत माथि

अवरोधबीच भौतिक मन्त्रालयको प्रगति ४० प्रतिशत माथि


काठमाडौं, जेठ १२
समयमा कर्मचारी पदस्थापन नभएर काम गर्ने वातावरण नबन्नु, आर्थिक वर्षको करिब बीचतिर गएर मन्त्री परिवर्तन हुनु, बजेट निकासामा पर्याप्त सहयोग नहुनु, अझै पनि संगठन संरचना र व्यवस्थापनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बाधा कायमै रहँदा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वैशाखभित्र ४० प्रतिशत माथि कार्ययोजना सम्पन्न गर्न सफल भएको छ ।

अझ विकास निर्माणको काम तीव्र रुपमा हुने मौसम अर्थात् चैत, वैशाखमा कोरोना भाइरस कोभिड–१९ को कारण लकडाउन भएर सडकमा कोही मानिस तथा मेसिन गुड्न नपाउने अवस्था हुँदासमेत आर्थिक वर्ष २०७६/०७७ को कार्ययोजना (माइलस्टोन) अनुसार २०७७ वैशाख महिनाभित्र एक सय नौवटा काम सुरु गर्नुपर्नेमा एक सय पाँचवटा सुरु गर्न भौतिक मन्त्रालय सफल भएको छ । विविध बाधा र अवरोधका कारण भौतिकले चारवटा काम मात्र सुरु गर्नसकेको छैन ।

भौतिक मन्त्रालयका एक अधिकारीका अनुसार वैशाख महिनाभित्र ३२ वटा काम गरिसक्नुपर्ने कार्ययोजनामा उल्लेख भए पनि १३ वटा काम सम्पन्न भएको छ । समग्रमा भौतिकको प्रगति ४० दशमलव ६२ प्रतिशत हुन पुगेको छ । यदि लकडाउनको अवस्था आएको थिएन भने वैशाखभित्रमा तोकिएकामध्ये २० भन्दा बढी योजना सक्ने गरी काम सुरु भएका थिए । काम धमाधम भइरहेको बेला लकडाउन सुरु भएर आवतजावत र काम ठप्प हुँदा भौतिकको समग्र प्रगतिमै बाधा देखिएको हो । चैत ११ गते लकडाउन सुरु भएपछि त्यसको करिब एक महिना भौतिकले काठमाडौंबाहेक अन्यत्र काम नै गर्न सकेन । अहिले क्रमशः काम सुरु भए पनि वर्षात् लाग्नथालेको कारण समस्या थपिएको छ ।

लकडाउनको अवधिमा पनि भौतिक मन्त्रालयअन्तर्गतका निकायबाट सडकतर्फ ३६ दशमलव ७५ किलोमिटर नयाँ ट्र्याक, एक सय २१ दशमलव ६० किलोमिटर ग्राभेल सडक, ७७ दशमलव २० किलोमिटर कालोपत्रे सडक, २१ वटा पुल, आवधिक मर्मतअन्तर्गतको कालोपत्रे ५२ किलोमिटर भएको छ । चालू आर्थिक वर्षको वैशाखभित्र एक सय ५० वटा पुल निर्माण पूरा भइसकेको छ भने अहिले पनि दुई सय ४८ वटा विभिन्न किसिमका पुलहरु सडक अन्तर्गत निर्माण भइरहेका छन् । लकडाउनको कारण ती पुलका काम सोचेजसरी अगाडि बढ्नसकेको छैन ।

भौतिक मन्त्रालयका अनुसार लकडाउनको अवधिमा पनि बर्दिवास–निजगढ खण्डमा दुई किलोमिटर रेलवे ट्र्याक निर्माण कार्य भएको छ । कुर्था–बिजुलपुरामा तीन किलोमिटर रेलवे लिंक निर्माण भएको छ । रेलका पाँचवटा कल्भर्ट निर्माण भएको छ भने आठवटा रेल गुड्ने पुल निर्माण भइरहेको छ । नेपालले सञ्चालन गर्ने भनेका दुईवटा रेल पनि सोनपुरस्थित भारतीय सीमानामा आइपुगेको छ । लकडाउनकै अवधिमा यातायात व्यवस्था विभागले एक लाख ५० हजार थान स्मार्ट लाइसेन्स छापेको छ । लकडाउन खुल्नासाथ वितरण गर्ने योजना बनाएको छ ।

अरु मन्त्रालय जस्तो पूर्वाधार निर्माणको काम गर्ने मन्त्रालयहरुलाई काम गर्न सहज छैन । त्यसमा पनि भौतिक मन्त्रालयलाई काम गर्न ज्यादै दबाब पर्ने गर्छ । किनकि सबैको चासोको क्षेत्र नै सडक, रेलजस्ता योजना हुन् । विकासे काम गर्ने कुनै पनि मन्त्रालय, विभाग वा कार्यालयको भौतिक प्रगति कार्यालयभित्र बसेर गर्ने खालका हुँदैनन् । भौतिकले जति काम गर्नुपर्छ ती सबै खुला आकाशमुनि नै गर्नुपर्छ । भौतिक मन्त्रालयका काम खुला आकाशमुनि त्यो पनि मानिस तथा सवारीका साधन चल्ने स्थानमा गर्नुपर्ने बाध्यता छ । यसले पनि प्रगतिमा केही नै केही बाधा हुने गरेको छ ।

अहिले देशमा आवागमन पूर्णतया बन्द छ । मानिसहरु सडकमा भएको कामको आलोचना गर्दै कोरोना सर्छ भनेर अफवाह फैलाउने गर्छन् । सबैको आँखाको तारो नै सडक, रेल मार्ग हुने गरेको छ । काम गरे पनि आलोचना नगरे पनि सबैभन्दा बढी आलोचना व्यहोर्नुपर्नेछ भौतिक मन्त्रालयले । जसले सडक बनाए पनि मानिसहरुमा छाप परिसकेको छ भौतिक मन्त्रालय र सडक विभाग तथा अन्तर्गतका कार्यालयले बनाएको । त्यही आलोचनालाई ख्याल गर्दै भौतिकले आफ्नो काम निरन्तर जारी राखेको छ । यद्यपि भौतिक मन्त्रालय आफैंले आफूलाई चाहिने कर्मचारीको दरबन्दी पनि सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत नभएर हैरानीमा परेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया