Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना रोकथाम हुनुको साटो क्रमशः बढ्दो

कोरोना रोकथाम हुनुको साटो क्रमशः बढ्दो


काठमाडौं, साउन ३०
काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । काठमाडौंमा यातायात र पसलहरु सहज रुपमा खुला भएको कारण संक्रमितको संख्या अझै बढ्ने देखिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्न कडाइ गरिए पनि यसअघि आएकाहरुको कारण कोरोना संक्रमण तीव्र रुपमा बढेको छ । भारतीयसँग प्रत्यक्ष सम्पर्कमा आउने कुलेश्वरको वाग्मती नदी किनारको फलफूल बजारमा कोरोनाको उच्च जोखिम बढेको छ । त्यहाँ बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र पसल खोल्न दिइएको छ । भारतबाट फलफूल बोकेर आउने गाडीको सम्पर्क सिधै त्यहाँ व्यवसाय गरिरहेका र खरिद गर्न गएका उपभोक्ताबीच हुन्छ । त्यही भएर बजार अवधि छोटो गराइएको स्थानीय प्रशासनले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौँमा एक सय ११ जना, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना कोरोना सङ्क्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा नेपालमा थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । महोत्तरी, धनुषा, अछाम र मोरङमा एक–एक जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना सङ्क्रमित मृतक ९५ जना पुगेका छन् ।

काठमाडौं उपत्यकामा एक सय २७ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोे छ । देशका विभिन्न प्रयोगशालामा नौ हजार आठ सय ५९ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच सय २५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना सङ्क्रमित २४ हजार नौ सय ५७ जना पुगेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप एक सय नौ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससहित नेपालमा हालसम्म १६ हजार आठ सय ३७ उपचारपछि निको भएका छन् । सङ्क्रमित बढ्न थालेपछि सरकारले आवश्यक तयारीका साथ उच्च सावधानी अपनाउँदै पुनः कडाइ थालेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन रोकेको छ ।

यसअघि साउन ३२ गतेसम्मका लागि रोकेको थियो । सङ्क्रमण बढेकाले एक महिना थप भएको हो । भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र हवाइ सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेदेखि मात्र सञ्चालन गरिने भएको छ । यस्तै यसअघि साउन १५ देखि सञ्चालन गरिएको होटल तथा रेष्टुराँलाई रोकेर पहिलेझैँ खाद्य परिकार लैजान मात्रै पाउने व्यवस्था गरिएको छ ।

सक्रिय सङ्क्रमित दुई सयभन्दा बढी भएका जिल्ला र काठमाडौँ उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एव वित्तीय सङ्घ/संस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं सङ्घ/संस्थाले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको छ । यस्तै ५० प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्नसमेत सरकारले निर्देशन दिएको छ ।

मानिसको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यकबाहेक कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउने पहिलेकै निर्णयलाई निरन्तरता दिइएको छ । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी बिहीबारदेखि लागू हुने गरी तत्काल सवारी पास वितरण बन्द गर्न भनेको छ । फुटपाथ, खुला ठाउँ, ठेला गाडा र साइकलमा सञ्चालन भइरहेका व्यवसायलाई सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहले निषेध गर्ने निर्णय पनि भएको छ । उद्योग कलकारखाना भने आवश्यक स्वास्थ्य मापदण्डअनुसार मात्रै सञ्चालन गर्न पाइनेछ ।

चीनको वुहानमा गत डिसेम्बर ३१ मा देखिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत देखिएपछि सरकारले गएको चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । झण्डै चार महिनापछि साउन ५ गतेको निर्णयले साउन ६ गते रातिदेखि लकडाउन अन्त्य भएको थियो । वैशाख र जेठमा अत्यधिक बढेको कोभिड–१९ असारमा केही कमी देखिए पनि साउनमा ह्वात्तै बढेको छ । सङ्क्रमणमा केही कमी आएपछि सरकारले जेठ २९ गते लकडाउनलाई खुकुलो बनाएर आर्थिक गतिविधि चलायमान बनाएको थियो । त्यसको ठीक दुई महिना पुग्दा कोरोना रोकथाम हुनाको सट्टा क्रमशः बढ्दो क्रममा रहेको विवरणले देखाउँछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया