Techie IT
×
गृहपृष्ठbreakingताक्लाकोट नाका खुलाउन सरकारको ध्यान जान सकेन

ताक्लाकोट नाका खुलाउन सरकारको ध्यान जान सकेन


बझाङ ।

छिमेकी राष्ट्र चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिमको ताक्लाकोट नाका खुलाउन सरकारले बेवास्ता गरेको छ । यो नाका सञ्चालनमा ल्याउन सक्दा सुदूरपश्चिम र कर्णाली प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने जानकारहरू बताउँछन् ।

बझाङ सदरमुकाम चैनपुरबाट एक सय १८ किलोमिटर टाढा पर्ने ताक्लाकोट नाका सञ्चालन गर्ने घोषणा २०५० सालमै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । त्यसपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गर्ने क्रममा यो नाका सञ्चालन गर्ने बताएका थिए ।

२०७० सालको संविधानसभा निर्वाचनमा बझाङ आएका पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, बाबुराम भट्टराई र माधव नेपाललगायतले पनि सुदूरपश्चिमको विकासका लागि ताक्लाकोट नाका खोलिने बताएका थिए । चुनाव जितेपछि चैनपुर–ताक्लाकोट सडक विस्तार गरिने र नाका पनि सञ्चालन गर्ने उनीहरूको घोषणा थियो ।

तर, ती सबै भाषणमै सीमित रहे । खासमा ताक्लाकोट नाका नेताहरूका लागि चुनावी प्रचारको मुख्य एजेन्डा मात्र बन्ने गरेको छ । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेताहरूकै कमजोरी र बेवास्ताका कारण नाका सञ्चालनमा आउन नसकेको कतिपयको भनाइ छ । नाका सञ्चालन गर्नेबारे तीनै तहका सरकारले चासो नदिएका जिल्लावासीको गुनासो छ ।

नाका सञ्चालनमा अब ढिला गर्न नहुने बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली बताउँछन् । उनले भने, ‘नाका सञ्चालनका लागि प्रदेश सरकारले न कहिल्यै बजेट विनियोजन गर्छ, न यस विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराउँछ । कुलो, नहर, पुल, मन्दिर बनाउने काम स्थानीय सरकारको हो । प्रदेश सरकारले त प्रदेशको गौरवका आयोजना निर्माण गर्नुपर्ने हो ।’ प्रदेश सरकारलाई ताक्लाकोट नाका पनि सुदूरपश्चिममै पर्छसम्म थाहा नभएको उनको आरोप छ ।

विभिन्न समयमा ताक्लाकोट नाका सञ्चालनको विषयमा राज्यको ध्यानाकर्षण गरिएको भए पनि सरकारको ध्यान जान नसकेन जिल्लावासी बताउँछन् । आफूले बेला–बेलामा यो नाका खोल्नका लागि संसद्मा बोल्दै आएको प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले बताइन् । ‘मैले सुरुवाती चरणदेखि ताक्लाकोट नाकाको विषयमा आवाज उठाउँदै आएकी छु ।

केही दिनअघि मात्रै ताक्लाकोट नाका सञ्चालनका लागि कछुवा गतिमा निर्माण भइरहेको चैनपुर ताक्लाकोट सडकखण्डको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छु’, उनले भनिन् । साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी पनि ताक्लाकोट नाका सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश र केन्द्र सरकारसँग गुहारेको बताउँछन् । तर, आफ्नो गुनासो कसैले नसुनेको उनको भनाइ छ ।

‘भौगोलिक कठिनाइका कारण पालिकाको बजेटले ताक्लाकोट जोडने सडक निर्माण गर्न गाह्रो छ । मैले आफैँ गएर प्रदेश र केन्द्रका मन्त्रीहरूसँग कुरा गरेको छु’, उनले भने, ’सुदूरपश्चिमकै आर्थिकस्तर उकास्न भूमिका खेल्ने यो नाका सञ्चालनका लागि सरकारले चासो दिएन ।’चीन सरकारले ताक्लाकोटसम्म पुग्न १६ किलोमिटर सडक निर्माण गरिसकेको छ ।

चैनपुरदेखि चीनको सिमाना उरै भञ्जाङसम्म ८० किलोमिटर लम्बाइ अनुमान गरिएको छ । केही ठाउँमा सुरुङ निर्माण गर्ने हो भने यो दूरी ३० किलोमिटर कम हुन आउँछ । नेपालबाट ताक्लाकोट पुग्न चार हजार मिटरभन्दा माथिको उचाइमा सडक निर्माण गर्नुपर्ने हुन्छ । राज्यको पूर्वाधार विकास नीति प्रभावकारी नभएका कारण कैयौँ गौरवका आयोजनाले गति लिन नसकेको पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्य बताउँछन् ।

‘पूर्वाधार विकासको लागि स्थापित विधि र प्रणाली नै छैन । विकास भनेको मन्त्रीले प्रोजेक्ट टिपेर अर्थ मन्त्रालयले बजेट दिने पद्धतिलाई सम्झेका छन् । जहाँ गएपनि योजनाविनाका आयोजना टिप्ने परिपाटी छ’, उनले भने, ‘जतातिरका मन्त्री भए, त्यतैतिर बजेट बढी विनियोजन हुन्छ । यस्तो हुनु भनेको पूर्वाधार नीति, विधि पद्धति नहुनु हो ।’आयोजना मन्त्री र कर्मचारीले टिप्ने नभई योजनाको औचित्यका आधारमा रणनीतिक गुरुयोजना र वैज्ञानिक योजना तर्जुमा प्रणालीबाट गर्नुपर्ने उनको भनाइ छ ।

योजनाविना आयोजना टिप्दा ताक्लाकोटलगायतका उत्तरी नाका सञ्चालन हुन नसकेको उनले बताए । ‘पूर्वाधार विकासको विषयमा राज्य संयन्त्र आफैँ अनभिज्ञ छ । दीर्घकालीन सोच, रणनीतिक गुरुयोजना, वैज्ञानिक योजना तर्जुमा प्रणाली र सरकारी संयन्त्रबीच समन्वय नभई योजना खल्तीबाट छनोटमा हुँदा यस्ता आयोजना ओझेलमा पर्ने गरेका छन्’, उनले भने ।त्रिदेशीय व्यापार र पर्यटनको सम्भावना तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंहले बझाङ र तिब्बतको प्रमुख व्यापारिक केन्द्र ताक्लाकोटबीच व्यापारिक सम्बन्ध स्थापना गरेका हुन् । स्थानीयको श्रमदानबाट चैनपुरदेखि ताक्लाकोटसम्म पैदल बाटो निर्माण गर्न लगाएपछि ताक्लाकोटसँग झण्डै एक सय वर्षअघिदेखि व्यापारिक सम्बन्ध रहिआएको छ ।

ताक्लाकोट नाकाबाट नेपाली व्यापारीमार्फत भारतीय व्यापारीले खासाको सामान दिल्लीसम्म पु¥याउने गरेका छन् । चीनबाट भारतमा बढीजसो विद्युतीय सामान जाने गरेको छ । भारतको राजधानी नयाँ दिल्लीबाट नेपाल–भारत सीमाक्षेत्र कञ्चनपुरको महेन्द्रनगरसम्मको दूरी चार सय किलोमिटरको हाराहारीमा छ ।

महेन्द्रनगरबाट बझाङ सदरमुकाम चैनपुर पुग्न तीन सय किलोमिटरको यात्रा गर्नुपर्छ । चैनपुरदेखि चीनको सिमाना उरै भञ्जाङसम्म ८० किलोमिटर लम्बाइ अनुमान गरिएको छ । यसरी दिल्लीबाट झण्डै सात सय किलोमिटरको सडक दूरीमा त्रिदेशीय नाका जोड्ने नेपालको सबैभन्दा छोटो मार्ग हो । यस हिसाबले पनि ताक्लाकोट नाका त्रिदेशीय व्यापारको केन्द्र बन्ने देखिन्छ ।

दुवै देशतर्फ निर्यात गर्न सकिने भएकाले यो नाका खुलेमा व्यापारिक हिसाबले सबैभन्दा बढी फाइदा नेपाललाई पुग्छ । ताक्लाकोटमा कृषि, पशु र काठजन्य उत्पादनको राम्रो बजार छ । ताक्लाकोटमा मात्र नभएर तिब्बत र पूर्वी चीनमा नेपाली उत्पादनको माग उच्च छ । चीनको ताक्लाकोट बजारमा नेपालीले बर्षौँदेखि हाते होजियारीका सामान, नेपाली गलैँचा, बाँस, निगालो, छाला, र अन्य हस्तकलाका सामानको व्यापार गर्दै आएका छन् ।

सरकारले चीन सरकारसँग समन्वय गरेर निर्यात सहज बनाउन सके ताक्लाकोट नाकाबाट त्रिदेशीय व्यापार गर्न सजिलो हुने ताक्लाकोटमा व्यवसाय गर्दै आएका बझाङको साइपाल गाउँपालिकाका जगत तामाङ बताउँछन् । ‘लामो दूरीको कारण ढुवानी भाडा बढी हुने भएकोले सामान महँगो पर्ने र चीनसँग जोडने गरी सडक नबनेका कारण अप्ठ्यारो हुने गरेको छ’, उनले भने ।

ताक्लाकोटसम्म सडक खोल्ने र वैधानिक निकासी प्रक्रियामा जाने हो भने ढुवानी लागत कम भएर उत्पादक तथा व्यापारीलाई पनि फाइदा हुने उनको भनाइ छ ।साइपाल, राक्सियो, इङल्दार, निलकट्टीलगायतका साना हिमाल यही ताक्लाकोट बाटोमा पर्छन् । यो नाका भएर सडक निर्माण भई यातायात सेवा सञ्चालन आएमा पर्यटक भित्रिने हुनाले पर्यटन व्यवसाय फस्टाउने देखिन्छ ।

सुदूरपश्चिमका साना हिमाल आरोहण गर्न चाहने र जडीबुटीको विषयमा अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पनि आर्कषणको थलो हुने सम्भावना छ । सहज आवागमन हुन सकेमा पर्यटकका लागि गन्तव्य र आर्कषणको केन्द्र बन्ने सम्भावना रहेको नेपाल पर्वतारोहण संघ साइपाल हिमाल शाखाका सचिव तथा पर्यटन अभियन्ता किशोर खड्का बताउँछन् ।

उनका अनुसार दशौँ शताब्दीभन्दा अघि भएका घटनाका जीवन्त प्रमाण अहिलेसम्म पनि भेटिने यो मार्गले धार्मिक तथा ऐतिहासिक अध्ययनमा रुचि राख्नेहरूका लागि मात्र नभएर पदयात्रा गर्नेलाई पनि अनौठो अनुभूति गराउन सक्ने भएकोले पर्यटकलाई तान्न सकिन्छ । भारतीय तीर्थयात्री झण्डै तीन हजार किलोमिटरको यात्रा गरी तातोपानी र लिपुलेकको बाटो हुँदै कैलाश मानासरोवर जाने गरेका छन् ।


क्याटेगोरी : breaking

तपाईको प्रतिक्रिया