Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअसारसम्म छ लाख कोरोना संक्रमित पुग्ने सरकारी दाबी

असारसम्म छ लाख कोरोना संक्रमित पुग्ने सरकारी दाबी

एक महिना अनलाइन कक्षा सञ्चालनको तयारी


काठमाडौं ।
अहिलेजस्तै कोरोना संक्रमण बढ्दै गए असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण सरकारले गरेको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले उक्त दाबी प्रस्तुत गरेका हुन् ।

‘अहिले सङ्क्रमण बढिरहेको अवस्थामा दैनिक ११ हजार र असारसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको छ’, मन्त्री त्रिपाठीले भने, ‘सङ्क्रमण बढ्न नदिनका लागि सीमा नाकाबाट आउनेको परीक्षण गर्ने र सङ्क्रमण देखिएपछि आइसोलेसन सेन्टरमा राखिने काम सुरु गरेका छौँ ।’

नेपाल–भारतको मुख्य सीमा नाकामा एक हजार अट्ने खालको होल्डिङ सेन्टर राख्ने निर्माण गर्ने कार्य भइरहेको जानकारी दिँदै बन्दाबन्दी अवस्था आउनुभन्दा अगाडि नै रोकथाम र नियन्त्रण गरिने गरी तयारी गरिएको बताए । ‘गत वर्षदेखिको अनुभव र भौतिक पूर्वाधारको तयारीले हामी बन्दाबन्दीमा नगईकन रोकथाम र नियन्त्रण गर्न सक्षम छौँ’, उनले भने, ‘मुलुकलाई बन्दाबन्दीसम्म पुग्न दिँदैनौँ ।’

मन्त्री त्रिपाठीले सङ्क्रमणको दर बढ्दै गएकाले काठमाडौं उपत्यकामा रहेका अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको जानकारी दिँदै पहिलेको भाइरसले एक जनाबाट छ जनामा सङ्क्रमण सारे पनि अहिलेको नयाँ भाइरसले एक जनाबाट ४० जनामा सङ्क्रमण सार्नसक्ने बताए । उनले अर्थतन्त्रभन्दा जनताको जीवन ठूलो भएकाले सरकारले जनताको जीवनलाई महत्वपूर्ण मानेर रोकथाम र नियन्त्रण गरिने बताए ।

नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा समेत छलफल गरिएको जानकारी पनि दिए । ‘सहरी क्षेत्रमा कम्तीमा एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने कि भन्ने तयारी छ’, उनले भने, ‘अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमी आउने देखिएको छ ।’ मन्त्री त्रिपाठीले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकाले डर लाग्दो रहेको बताए । ‘१८ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप विकास भएको छैन’, उनले भने, ‘अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएको र उनीहरुलाई खोपसमेत लगाउन नमिल्ने भएकाले सङ्क्रमण दर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर अनलाइन कक्षा सञ्चालन गर्नुपरेको छ ।’

मन्त्री त्रिपाठीले भारतमा सङ्क्रमण ह्वात्तै बढेकाले कोभिड–१९ को खोप आउन ढिलाइ भएको जानकारी पनि दिए । ‘खोप उत्पादक कम्पनीको स्थानीय एजेन्टले विना लगानी १० प्रतिशत कमिसन मागेपछि २५ दिन ढिला भयो’, उनले भने, ‘तर सम्झौता हुने बेला भारतमा सङ्क्रमण बढेपछि त्यहाँका सरकारले आयात रोकिएका कारण नेपालमा खोप आउन सकेन ।’ चाँडै नै १० लाख मात्रा खोप ल्याउने पनि जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया