Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली चियामा बारम्बार भारतीय अवरोध

नेपाली चियामा बारम्बार भारतीय अवरोध


हालै भारतले नेपाली चिया आयातमा पुनः अवरोध सिर्जना गरेको छ  । गुणस्तर परीक्षणको बहानामा नेपाली कृषि उत्पादनलाई निरन्तर अवरोध गर्दै आएको भारतले नेपाली चियालाई लक्षित गरी फेरि आयातमा कडाइ गरेको चिया उद्योगीहरूले जनाएका छन् । नेपालका चिया उद्यमीहरूले यसबाट गम्भीर संकट निम्तिने बताएका छन् । पूर्वी नाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटंकी नाका पुगेको १६ ट्रक तयारी चिया भारतले रोकेको थियो । चिया निर्यातको अनुमति नपाएर रोकिएका तीन ट्रकहरू पानीटंकीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवं भन्सार प्रतिनिधिहरूले बताएका थिए  ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको कुरा समेत सार्वजनिक भइसकेका छन् । नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ प्रावधान झिकेको छ । तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग संकटमा फस्ने निश्चित छ । चिया व्यवसायी एवं भन्सार प्रतिनिधिका अनुसार पानीट्याङ्कीस्थित भारतीय स्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो । नेपालबाट सीटीसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदै आएको सबैमा विदितै छ  ।
नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ । निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ । चिया व्यवसायीका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन । भारतको पानीट्याङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन । भारतको कोलकाता, दिल्ली, पटनालगायत ठाउँका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दै आएका छन् ।

पानी ट्याङ्की भन्सारले करिब महिनायता नेपाली चियामाथि अनावश्यक उल्झन लगाएको मेची भन्सार कार्यालयले जनाए । ‘आयात भएका सबै नेपाली चियाको गुणस्तर परीक्षणविना नछाड्नु भन्ने आदेश आएको रहेछ,’ भनिन्छ । पश्चिम बंगाल सरकारअन्तर्गतको कृषि निर्देशनालयले उक्त आदेश जारी गरेको हो । भारतीय अवरोधका कारण सयौं टन चिया मेची भन्सार र भारतको पानीट्यांकी भन्सार परिसरमा थुप्रिएको चिया निकासी सहजीकरण गर्दै आएका भन्सार एजेन्टले जनाएका छन्  । विगतमा एक गाडीको रेन्डम जाँच हुन्थ्यो । अब प्रत्येक कन्साइन्टमेन्टको जाँच गर्नुपर्ने अवस्था आयो ।
भारतले नियतै राखेर चियामाथि अवरोध खडा गरेको चिया उद्योगीको दाबी छ । खासगरी दार्जिलिङ चिया बोर्डले नेपाली चिया आयात नगर्न बंगाल सरकारलाई पटकपटक अनुरोध गर्दै आएको थियो । त्यही कारण गुणस्तर परीक्षणको बहानामा उसले चियालाई रोक्न लागेको प्रस्ट छ ।

नेपाल सरकारले नेपाली चियाको निर्यातका लागि भारतीय बजारमा मात्रै निर्भर हुनुपरेकाले त्यसमा विविधीकरण गर्न चीनतर्फ निर्यात गर्ने योजना बनाए पनि अहिलेसम्म चिनियाँ बजार प्राप्त गर्न सकिएको छैन । तर यही संकेतको प्रतिरोध गर्न पनि यो कदम उठाइएको हो कि ? यद्यपि पछिल्लो समय चिनियाँ व्यापारीहरू इलाम पुगेर त्यहाँको चिया चाखेर सय टन चियाको अर्डर दिएका छन् । यसले चिया निर्यातको नयाँ बजार खोलेको देखिए पनि चिनियाँ बजारको भर नहुने, दिगो र सम्भाव्य नहुने प्रस्ट छ । नेपालबाट भारतमा मात्र चिया निर्यात हुने होइन, ३८ ओटा मुलुकमा नेपाली चिया निर्यात भइरहेको छ । तैपनि भारत सबैभन्दा ठूलो खरिदकर्ता हो । भारतलाई चिड्याउनु हुँदैन ।

नेपाली चिया गुणस्तरीय भएर पनि ब्रान्डिङ र बजारीकरण हुन नसक्दा उचित मूल्य पाउन सकेको छैन । अलैंची, अदुवामा जस्तै चिया पनि भारतमा बढी उत्पादन हुँदा उसले कम मूल्यमा किन्ने गरेको छ भने त्यहाँ उत्पादन नभएको वर्ष बढी मूल्य दिने गरेको छ । यसले गर्दा नेपाली उत्पादनको बजार अस्थिर रहिआएको छ । त्यसैले चिनियाँ बजार खोजी भएको थियो ।चीनमा चिया निर्यात गर्न सकिए भारतीय बजारको दाँजोमा निकै उच्चमूल्यमा बिक्री हुने देखिएको भए पनि त्यो सम्भव र दिगो हुने होइन । तर चीनको बजार बुझ्न गाह्रो छ । एक त्यसले नेपालको प्रयोगशालाले गरेको प्रमाणीकरणलाई मान्यता दिने गरेको छैन भने अर्को गैरभन्सार अवरोध पनि त्यति नै हुने गरेको छ । नेपाली चिया उद्योगको सबैभन्दा ठूलो समस्या बजार अभाव र भारतीय एकाधिकारलाई मानिएको छ । युरोप र अमेरिकी बजारमा कुल निर्यातको १५ प्रतिशत मात्रै अंश छ । अत्यधिक निर्यात भारतमा हुने गरेको छ । चिया व्यवसायीका अनुसार नेपालबाट भारत पुगेको चियालाई त्यहाँबाट दार्जलिङ चियाको ब्रान्डमा अन्य देशमा निर्यात गरिन्छ । त्यो बजार नेपालले लिन सकेको छैन ।

त्यसो त युरोपमा चिया निर्यात बढाउन व्यवसायीले पहल नगरेका होइनन् । युरोपेली चिया व्यापारीलाई ल्याएर यहाँको चियाको स्वाद चखाएका हुन् र उनीहरूले पनि नेपाली चियाको स्वादको प्रशंसा गरेका थिए । तर पछि नेपालको चिया बगानमा विषादिको प्रयोग भएको भनेर चिया लिन मानेनन् । यद्यपि अर्थोडक्स चियाको भने राम्रै निर्यात भइरहेको छ । यस्तोमा सरकारले आफ्नो कूटनीतिक च्यानलबाट चियाका लागि बजार खोजिदिनुपर्छ । तर सरकारले यसलाई गम्भीरताका साथ नलिइदिँदा चिया निर्यातको लक्ष्य पूरा हुन सकेको छैन । अतः नेपालको चियाका लागि उच्च मूल्यको बजार खोज्न सरकारले कूटनीतिक पहल गर्नु आवश्यक छ ।

नेपालमा चिया उत्पादनको लामो इतिहास छ । पहिलो चिया बगान, इलाम चिया बगान, १८६३ मा इलाम जिल्लाको पहाडी क्षेत्रमा सुरु भएको थियो । इतिहासकारहरूका अनुसार नेपालमा पहिलो चियाको बोट बिउबाट हुर्किएको हो जुन चिनियाँ सम्राटले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई उपहारस्वरूप दिएका थिए । भारतको दार्जिलिङ पहाडमा जस्तै नेपालमा पनि चियाको खेती सुरु भएको मानिन्छ ।

सन् १९६५ मा झापा जिल्लाको समतल इलाकामा दोस्रो चिया बगान सोक्तिम चिया बगान स्थापना भएको थियो । नेपालमा समुद्री सतहबाट आठ सयदेखि २२ सय मिटरसम्मको उचाइमा चिया खेती गरिन्छ । यसअघि पूर्वी नेपालको इलाम र झापाजस्ता केही जिल्लामा उत्पादन केन्द्रित थियो । पछिल्लो समय देशका अन्य भागमा पनि चिया बगान फस्टाउँदै गएको छ । हाल चियाको क्षेत्रफल २८ हजार सात सय हेक्टर रहेको छ । नेपालले पहाडमा वार्षिक करिब सात हजार एक सय ६८ टन अर्थोडक्स चिया उत्पादन गर्छ । यसले तराईको बलियो र चम्किलो उपस्थितिका लागि परिचित १५ हजार छ सय ५४ टन सीटीसी चिया पनि उत्पादन गर्छ ।

चिया नेपाल र भारतमा दैनिकरूपमा प्रयोगमा आउने वस्तु हुन् । तर यो नरम पात एउटा मुद्दाको रूपमा देखा परेको छ, जसलाई दुई देशहरू बीच कूटनीतिक समाधान आवश्यक एवं अनिवार्य भएको छ । दुवै मुलुक विश्वमा सबैभन्दा बढी खपत हुने वस्तुहरू उत्पादन गर्नका लागि परिचित छन् ।नेपाल–भारतबीचको वाणिज्य सन्धिविपरीत भारतीय पक्षले नेपाली चियामा परिमाणात्मक बन्देज लगाउने तयारी गरेपछि नेपालको समग्र चिया उद्योग यतिबेला आतंकित बनेको छ । नेपाली चिया आयातलाई सुरूमा परिमाणात्मक प्रतिबन्ध लगाउने अनि बिस्तारै पूर्ण बन्देज लगाउने गरी गरिएको प्रस्ताव अहिले भारतीय संसद्का दुवै सदनमा पुगेको कुरा छापामा सार्वजनिक भएका छन् ।

छिमेकी मुलुक भारतले आफ्नै उद्योग जोगाउन नेपाली चिया आयातमा अवरोध बढाउने चिन्तामा नेपाली चिया उत्पादकले हालै नेपालका प्रधानमन्त्रीलाई भेटेर यस्तो कदमको सम्भावित गम्भीर परिणामबारे जानकारी अवगत गराएका छन् ।आर्थिक वर्ष २०२३÷२४ को पहिलो पाँच महिनामा नेपालको चिया निर्यातमा गिरावट आएको देखिएको थियो । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको उच्च माग भए पनि नेपाली उत्पादकले आफ्नो उत्पादन विदेश पठाउन चुनौती सामना गरिरहेका छन् । यो अवस्थाको फाइदा उठाएर भारतीय व्यापारीले नेपाली चिया किनेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरेको नेपाली किसान बताउँछन् । नेपाली किसानहरूले सीटीसी (क्रस, टियर, कर्ल) र अर्थोडक्स प्रजातिको चिया खेती गर्छन् । ३० जिल्लामा २० हजार दुई सय ३७ हेक्टरमा चिया खेती गरिन्छ ।

नेपालमा करिब एक सय ६० चिया बगान छन् र १७ हजारभन्दा बढी मानिस चिया खेतीमा संलग्न छन् । तर, पूर्वी नेपालको झापा, इलाम, पाँचथर, तेह्रथुम र धनकुटाजस्ता जिल्लामा मुख्य उत्पादन केन्द्रित छ । भोजपुर, खोटाङ, चितवन, सिन्धुली, पर्वत, काभ्रे, गोरखा, दोलखा, ललितपुर, रामेछाप, प्युठानलगायत जिल्लामा पनि चिया उत्पादन हुने गरेको छ ।नेपालको वार्षिक चिया उत्पादन क्षमता करिब २६ हजार तीन सय टन छ । कुल उत्पादनमध्ये, लगभग ६५ सय टन अर्थोडक्स चिया हो । जबकि हरियो चिया लगभग सात सय ३० टन हो र बाँकी सीटीसी चिया हो ।नेपाल चिया तथा कफी विकास बोर्डले नेपाली चियाको ब्राण्ड पहिचान बनाउने तयारी थालेको छ । बोर्डले ‘नेपाल टी प्रिमियम सीटीसी’ भन्ने नारासहित नेपाली सीटीसी चियाको लोगो तयार गरी बुझाउन डिजाइनरहरूलाई आमन्त्रण गरेको थियो ।

अर्थोडक्स चियापछि नेपालको चिया नियामक निकायले सीटीसी चियाको लागि गुणस्तर ट्रेडमार्क जारी गर्ने तयारी गरेको देखिन्छ । क्रस, टियर, कर्ल चियामा सामान्यतया कालो चियाका धेरै प्रकारहरू समावेश हुन्छन् ।सीटीसी र अर्थोडक्स चियाबीचको भिन्नता तिनीहरूको प्रशोधन विधिहरूमा निहित छ । अर्थोडक्स विधिमा परम्परागत विधि प्रयोग गरिन्छ । यसमा अक्सिडेसन र सुकाउनेसँगै पातहरू तोड्ने, सुकाउने र घुमाउने काम समावेश छ । सीटीसी प्रक्रिया एकदम फरक छ । चिया पातहरू कुचल्छन्, च्यातिन्छन् र स–साना, कडा हरियो छर्राहरूमा घुमाइन्छ । त्यसपछि तिनीहरू ब्लोअरहरूमा राखिन्छन्, जसले तिनीहरूको अक्सिडेसनलाई छिटो बनाउँछ ताकि छर्राहरू गाढा खैरो हुन्छन् ।
नेपाली चिया अस्ट्रेलिया, फ्रान्स, क्यानडा, डेनमार्क, चीन, जर्मनी, जापान, इटाली, नेदरल्यान्ड्स, अमेरिका, पोल्यान्ड, स्वीडेन, थाइल्याण्ड, ताइवान, भारतलगायतका देशमा निकासी हुने गरेको छ । यसैबीच सरकारले नेपाली चियाको राष्ट्रिय बजारमा प्रतिस्पर्धा र पहुँच बढाउन ब्रान्डिङ अभ्यास सुरु गरेको छ ।

नेपालले दुई प्रकारको चिया उत्पादन गर्छः क्यामेलिया एसामिका वा सीटीसी चिया जुन कम उचाइमा र नेपालको तातो र आर्द्र तराईमा, मुख्यतया झापा जिल्लामा हुन्छ । यो चियाको उत्पादन लागत कम भएकाले आन्तरिक खपतको झण्डै ९५ प्रतिशत हिस्सा ओगटेको छ । क्यामेलिया सिनेन्सिस वा अर्थोडक्स चिया नौ सयदेखि २१ सय मिटरको उचाइमा उब्जाउ गरिन्छ । पूर्वी पहाडका चार पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, धनकुटा र तेह्रथुम गुणस्तरीय अर्थोडक्स चिया उत्पादनका लागि परिचित छन् । अर्थोडक्स चिया उत्पादनले केवल उच्च गुणस्तरको चिया पात र कलियोँ प्रयोग गर्दछ । यसको गुणस्तर उच्च छ र मूल्य ट्याग पनि छ । नेपाली सीटीसी चियाको प्रमुख बजार भारत हो ।नेपालले आफ्नो करिब ९० प्रतिशत अर्थोडक्स चिया र ५० प्रतिशत सीटीसी चिया भारत निर्यात गर्छ । नेपालको चिया गुणस्तरहीन र सस्तो मूल्यमा बिक्री हुने हुँदा भारतको चिया उत्पादनमा असर परेको भारतीय उत्पादकहरूले आरोप लगाएका छन् ।

भारतबाहेक विश्वभर नेपाली चियाको ठूलो माग भए पनि सेनिटरी र फाइटोस्यानेटरी (एसपीएस)जस्ता उपाय नेपाली निकासीमा बाधक बनेको व्यापारीहरू बताउँछन् । भारतीय चिया बोर्डले बेलाबेलामा अनेक बहाना निकालेर नेपाली चिया निकासीमा अवरोध गर्ने गरेको छ । नेपाल सरकारले भारत सरकारसँग सम्झौता गरी सीटीसी चिया निकासीमा अवरोध नहुने वातावरण बनाउनुपर्ने व्यवसायी बताउँछन् । यसो नगर्दासम्म स्वदेशी चिया उत्पादक र व्यवसायी ढुक्क हुन नसक्ने उनीहरूको भनाइ छ ।

चिया उत्पादन बढी भएको र भारतले ल्याब परीक्षणलगायतमा थोपर्ने सर्तले अहिले नेपाली सीटीसी चिया भारतीय बजारमा सहजै निकासी हुन नसकेको नेपाल चिया उत्पादकको भनाइ सार्वजनिक भएको छ  ।नेपाली चिया परीक्षण गराउन कोलकाता लैजानुपर्छ । निकासीमा धेरै किसिमका झन्झट छन् । सरकारले भारत सरकारसँग चियाका सबै अवरोध हटाउने गरी सम्झौता गरे मात्र यो समस्याको दीर्घकालीन समाधान निस्कने देखिन्छ ।चिया उत्पादनका लागि चिनिएको इलामजस्ता जिल्लामा जाडोको आगमनसँगै चिया संकलन ठप्प हुँदा हरियो चिया उत्पादन ठप्प भएको छ । प्रशोधित चियालाई विभिन्न वर्गमा वर्गीकरण गरी बिक्रीको लागि तयार पारिन्छ । उत्पादन बन्द भएपछि किसानहरू अहिले बिरुवाबाट चियापत्ती काट्न व्यस्त छन् । अहिले कटनी भएको चियाबाट वैशाख मसान्तबाट पुनः उत्पादन सुरु हुन्छ । यस समयमा, चिया बिरुवा छाँट्नुपर्छ।

उर्वर गर्दा पनि त्यस्तै हुन्छ । कतिपय किसानले चियाको आधार वरिपरि खनेर अप्रिल (चैत्र) को मध्यमा मल हाल्छन् । वर्षामा उम्रने झार पनि यस समयमा फालिन्छ । आफूसँग भएको ज्ञानले परम्परागत प्रविधि प्रयोग गरी चिया खेती गर्दै आएका कृषकले प्राविधिक तालिमपछि पछिल्लो समय आधुनिक तरिकाले चिया काट्न थालेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षदेखि कृषकलाई तालिम दिन थाले पनि आधुनिक विधिबाट चिया काट्न थाले पनि पर्याप्त तालिम नपाएको सम्बन्धित कृषकको भनाइ छ । चिया नेपाल र भारतमा दैनिकरूपमा प्रयोगमा आउने वस्तु हुन् । तर यो नरम पात एउटा मुद्दाको रूपमा देखापरेको छ, जसलाई दुई देशहरूबीच कूटनीतिक समाधान आवश्यक एवं अनिवार्य भएको छ । दुवै मुलुक विश्वमा सबैभन्दा बढी खपत हुने वस्तुहरू उत्पादन गर्नका लागि परिचित छन् ।

नेपाली चिया उत्पादकहरूले निर्यातमा प्रतिबन्ध लगाउने कुनै पनि कदमले उद्योगलाई नराम्ररी असर गर्ने देखिन्छ । नेपालले आफ्नो करिब ९० प्रतिशत अर्थोडक्स चिया र ५० प्रतिशत क्रस, टियर एण्ड कर्ल (सीटीसी) चिया दक्षिणी छिमेकी मुलुकमा पठाउने गरेको छ ।इतिहासको सर्सरी समीक्षा गर्दा, वर्षौंअघि दार्जिलिङ चिया संघले तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई दार्जिलिङ भ्रमण गर्दा ज्ञापनपत्र बुझाएर नेपाली चिया आयात रोक्न आग्रह गरेको थियो । नेपाली चियाको आयात रोक्न दार्जिलिङबाट पटक–पटक प्रयास भइसकेको छ । नेपालको चिया गुणस्तरहीन भएको र मूल्य पनि कम भएकाले भारतको चिया उत्पादनमा असर परेको भारतीय उत्पादकहरूले आरोप लगाएका छन् । नेपालमा उत्पादन हुने सस्तो चिया भारतमा निकासी गर्न नपाउने भएकाले भारतका चिया उत्पादकहरूलाई चुनौती दिने विगतमा पनि उल्लेख हुने गरेको थियो  ।

नेपाल भारतबीच सम्पन्न द्विपक्षीय व्यापार सन्धिअनुसार नेपालबाट भारत निर्यात हुने कृषि वस्तुमा कर नलिने उल्लेख छ। यतिमात्रै होइन, नेपालबाट आयात गरिने कृषि उत्पादनमा भारतले परिमाणात्मक बन्देज नलगाउने बुँदा पनि प्रस्टरूपमा उल्लेख छ ।विगतमा नेपालको १३ प्रतिशत व्यापार घाटा पूर्तिगर्ने र वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख कृषि उत्पादन चिया नै भएको जनाउँदै सम्बन्धित व्यवसायीले भारतीय पक्षसँग कूटनीतिक पहलमार्फत सहजीकरण गर्न सरकारसँग माग गरेको छ ।नेपालको चियालाई खराब गुणस्तर भन्ने भारतीय चिया व्यवसायीले नेपाली हरियो चियापत्ति निकासीमार्फत प्रशोधन गरी दार्जिलिङकै नामबाट बिक्री गर्दै आएको कुरा समेत सार्वजनिक भएका छन् ।भारतले प्रतिबन्ध लगाउने हो भने त्यो अन्तर्राष्ट्रिय व्यापार कानुनको उल्लङ्घन हुने कुरा पूर्व वाणिज्यसम्बन्धी अधिकारी र व्यापार विज्ञको मत रहेको छ । दार्जिलिङको चियाभन्दा इलामको अर्थोडक्स चिया स्वादिलो हुने नेपाली व्यापारीहरूको दाबी छ । दार्जिलिङ र इलामको प्राकृतिक विशेषता र मौसम लगभगउस्तै छ । त्यसैले इलामको चिया दार्जिलिङको चियाजत्तिकै राम्रो रहेको व्यवसायीले बताए । नेपाली चियाको गुणस्तरलाई लिएर भारतीय पक्षले बारम्बार गरेको झन्झटले किसानलाई चिया उत्पादन गर्न निरुत्साहित गरेको नेपाली चिया उत्पादक बताउँछन् । घरेलु उद्योगलाई जोगाउन कुनै पनि उत्पादनको आयातमा रोक लगाउनु अन्तर्राष्ट्रिय व्यापार प्रथा विपरीत हो ।

चीनमा नेपाली चियाको बजार सम्भावना प्रचुर भए पनि निकासीमा सहजीकरणका लागि सरकारले पहल गर्नुपर्नेछ । चीनमा चिया निर्यात गर्न सहज नहुने देखिन्छ । बिडम्बनाकै कुरा हो अहिलेसम्म नेपाल सरकारले मुलुकमा एउटा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला स्थापना गर्न सकेको छैन । नेपालमा प्रयोगशाला नहुँदा यहाँका चिया उद्योगी तथा व्यवसायी भारतको भर पर्नुपरेको कटु वास्तविकता छ । भारतले नेपालको चियालाई ‘सेन्ट्रल फुड ल्याब’(सीएफएल) कोलकातामा परीक्षण गराएर मात्रै निकासीको अनुमति दिँदै आएको छ ।नेपाली चियाको ब्रान्डिङ र बजारीकरणमा नेपाल लाग्नुपर्छ । नेपाली अर्थोडक्स चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वोत्कृष्ट घोषित भइसकेकोले अब भारतबाहेक अन्य देशमा बजार विस्तार गर्न लाग्नुपर्ने वास्तविक चुनौती रहेको छ ।केही व्यवसायीको मतअनुसार नेपाली चियालाई दार्जिलिङ चिया भन्दै ब्रान्डिङ गरी विश्वबजारमा पु¥याउने काम भारतले गरिरहेको बेला नेपाली चिया कसरी गुणस्तरहीन बन्नपुग्यो ?’ भन्ने अभिमत समेत राख्नेको संख्या उल्लेख्य छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया