Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतलब भत्तामा पाँच महिनामै सकियो बैंकको १७ अर्ब ५९ करोड

तलब भत्तामा पाँच महिनामै सकियो बैंकको १७ अर्ब ५९ करोड


सुरेश राउत
काठमाडौं, माघ २८
बैंक तथा फाइनान्स कम्पनीहरुमा कर्मचारी व्यवस्थापन खर्च उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा विकास बैंक, क्षेत्रीय तथा राािष्ट्रयस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले चालू आवको पछिल्लो पाँच महिनामा कर्मचारीहरुको तलब भत्तामा मात्र १७ अर्ब ५९ करोड ६० लाख रुपैयाँ सकाएका छन् ।

गत आवको सोही अवधिमा भने २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका थिए । सोही आधारमा यी बैंक तथा फाइनान्स कम्पनीहरुले कर्मचारीहरुको तलब भत्तामा १४ अर्ब पाँच करोड २७ लाख रुपैयाँ सकाएका छन् । राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा वाणिज्य बैंकहरुले भने कर्मचारीहरुको तलब भत्तामा १५ अर्ब तीन करोड रुपैयाँ सकेका छन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले कर्मचारीहरुको तलब भत्ताको लागि खर्च गरेको रकम ११ अर्ब ९६ करोड ३० लाख ७० हजार रुपैयाँ रहेको थियो ।

विकास बैंकहरुले भने चालू आवको पछिल्लो पाँच महिनामा कर्मचारीहरुको तलब भत्ता शीर्षकमा दुई अर्ब १३ करोड रुपैयाँ सकेका छन् । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा विकास बैंकहरुले उक्त शीर्षकअन्तर्गत खर्च गरेको कुल रकम एक अर्ब ७२ करोड ५९ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

यसैगरी फाइनान्स कम्पनीहरुले पनि चालू आवको पछिल्लो पाँच महिनाको अवधिको कर्मचारीको तलब भत्ता शीर्षकमा ४३ करोड ६० लाख रुपैयाँ खर्च गरेका छन् । गत आवको सोही अवधिमा फाइनान्सहरुले यस्तो शीर्षकमा खर्च गरेको कुल रकम २९ करोड ५५ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा कार्यालय व्यवस्थापन शीर्षकमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले छुट्टै ११ अर्ब ९० करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् । सोमध्ये वाणिज्य बैंकहरुले नौ अर्ब ९९ करोड, विकास बैंकहरुले एक अर्ब ५६ करोड ५० लाख र फाइनान्सहरुले ३४ करोड ९० लाख रुपैयाँ खर्च गरेका हुन् । गत आवको सोही अवधिमा भने कार्यालय व्यवस्थापन शीर्षकमा ११ अर्ब ३७ करोड ४० लाख रुपैयाँ खर्च गरेका थिए । सोमध्ये वाणिज्य बैंकहरुले नौ अर्ब ८६ करोड, विकास बैंकहरुले एक अर्ब २१ करोड ८४ लाख र फाइनान्स कम्पनीहरुले २९ करोड ५५ लाख रुपैयाँ खर्च गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया