Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थको राजस्व सचिवमा पुडासैनी चीनको राजदूतमा पाण्डे

अर्थको राजस्व सचिवमा पुडासैनी चीनको राजदूतमा पाण्डे


काठमाण्डौँ,फागुन १९

सरकारले सहसचिव रामशरण पुडासैनीलाई सचिवमा बढुवा गरी अर्थ मन्त्रालयको राजस्व सचिवमा पदस्थापन गरेको छ । राजन खनालले अर्थ सचिवबाट अवकास पाएपछि सो स्थानमा अर्थकै राजस्व सचिव शिशिरकुमार ढुंगानालाई लगेपछि राजस्व सचिव पद रिक्त थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थकै बजेट महाशाखा प्रमुख रहेका सहसचिवमध्ये सिनियर पुडासैनीलाई कायम मुकायम सचिव बनाएको हो । पुडासैनी अर्को साता मात्र पूर्णसचिव बन्ने छन् । सरकारले पुडासैनीलाई बढुवा गरेर उक्त स्थानमा लैजान लागेको अनुमान यसअघि नै गरिएको थियो । सोही कारण उनी सचिवमा बढुवा नहुन्जेल राजस्व सचिव पद रिक्त थियो । जागिरको करिब ३१ वर्षको अवधिमा पुडासैनीले आठ वर्ष अर्थअन्तर्गतकै लेखा र अरु सबै समय अर्थ मन्त्रालयमा बिताएका छन् । २०५३ सालदेखि अर्थ मन्त्रालयमा कार्यरत पुडासैनीले नेपालको प्रमुख दातृ निकाय एसियाली विकास बैंक, विश्व बैंकमा समेत काम गरिसकेका छन् । त्यही भएर उनलाई विदेशीसँग पनि ‘डिल’ गर्न सक्ने क्षमता भएको सचिवका रुपमा हेरिएको छ । अर्थ प्रशासनको बारेमा राम्रो जानकार पुडासैनीले अर्थ मन्त्रालयको महत्वपूर्ण निकाय बजेट महाशाखामा लामो समय काम गरिसकेका छन् ।

अहिले अर्थ मन्त्रालयको राजस्व सचिव पद निकै चुनौतीपूर्ण रहेको छ । सरकारको बढी विरोध र व्यापारीले चलखेल गर्ने ठाउँ नै करको विषय हो । नेपालमा मात्र होइन विश्वभर नै करको विषयलाई सरकारको तीव्र आलोचना हुनेगरेको छ भने करकै विषयलाई लिएर विश्वमा कैयौँ सरकार ढलेका पनि छन् ।त्यही भएर राजस्व सचिव पद नेपालमा पनि अत्यन्त चुनौतीपूर्ण मानिन्छ । तर, आइतबार बढुवा भएर राजस्व सचिवमा पदस्थापन भएका पुडासैनीसँग राजस्व प्रशासन राम्रोसँग चलाउने खुबी भएको अर्थकै अधिकारीहरु बताउँछन् । ‘राजस्व सचिवको लागि सरकारले उपयुक्त पात्र छानेको छ’, अर्थकै एक अधिकारीले भने, ‘पुडासैनीको जिम्मेवारी सही व्यक्तिलाई सही ठाउँ भएको छ ।’ करको बारेमा विपक्षीले मात्र होइन सत्तारुढ दलका नेता, कार्यकर्ता तथा उनीहरु निकटका उद्योगी तथा व्यापारीहरुले पनि आलोचना गरिरहेको बेला उक्त चुनौतीपूर्ण पद सम्हाल्न पुडासैनी पुगेका छन् ।

अझ सरकारले आर्थिक वर्ष २०७७÷०७८ बनाउनै लागेको बेला पुडासैनीले राजस्व सचिवको पद सम्हाल्न पुगेका छन् । देशको राजस्व कसरी संकलन गर्ने र कुनकुन वस्तुमा कति कर लगाउने भन्ने महत्वपूर्ण भूमिका नै राजस्व सचिवको हुन्छ । सबैको आँखा परेको राजस्व सचिव पदमा पुगेका पुडासैनीले आर्थिक दैनिकसितको कुराकानीमा आफू चुनौती पन्छाएर अगाडि बढ्न तयार भएको बताए । ‘चुनौतीको सामना गर्न सक्तछ भनेरै सरकारले पठाएको होला’, सचिव पुडासैनीले भने, ‘सरकारले मलाई जुन विश्वास गरेको छ त्यो विश्वासलाई डगमगाउन दिन्न र करमैत्री प्रशासन बनाउनेछु ।’यसैबीच, आइतबारकै मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ । उक्त पदमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउने निर्णय गरेको छ । यसअघि पनि पाण्डेलाई केपी ओली नेतृत्वकै सरकारले चीनका लागि राजदूतमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ पूरा नहुँदै ओली नेतृत्वको सरकार ढालेपछि तत्कालीन माओवादी–कांग्रेस गठबन्धनले पाण्डेको ठाउँमा पौड्याललाई राजदूत बनाएर पठाएको थियो । पौड्याल २०७३ कात्तिकमा राजदूत नियुक्त भएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया