Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनयुद्धमा जसरी नै कोरोना भाइरसविरुद्ध खटिन्छौं : मन्त्री भट्ट

जनयुद्धमा जसरी नै कोरोना भाइरसविरुद्ध खटिन्छौं : मन्त्री भट्ट


काठमाडौं, चैत ६
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) का कारण नेपाली जनताहरुलाई अत्यावश्यक वस्तुहरुको अभाव नहुने बताएको छ । नेपाल जनप्रशासन संघ (पान)द्वारा मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण बजारमा खाद्य सामग्री चामल, नुन, चिनी, ग्यास तथा औषधिलगायतका आवश्यक वस्तुको अभाव नहुने बताए ।

‘हिजो जसरी जनयुद्धमा खटिएका थियौँ, त्यसरी नै कोरोना भाइरसका कारण बजारमा अत्यावश्यक वस्तुहरु अभाव हुन नदिन खटिनेछौँ’, उनले भने, ‘मसँग आपूर्ति सचिवलगायतको मन्त्रालयको टिम छ, उहाँहरुले खाद्य सामग्री, औषधिलगायतका आवश्यक वस्तुहरुको व्यवस्थापन गर्नुहुनेछ ।’

उनले सीमासम्म सामग्री नियमित रुपमा आएको हुँदा बजारमा दाल, चामल, चिनी, नुन, तेल, औषधिलगायत सामग्री अभाव नहुने बताए । ‘अभाव भएमा म जिम्मेवारी लिनेछु’, उनले भने, ‘खाद्य संस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पर्याप्त मात्रामा चामल, नुन, चिनी, ग्यास रहेको छ, यदि कुनै जिल्लामा अभाव भए तुरुन्त त्यसको पूर्ति गर्छौं ।’

अभाव भएको खण्डमा सम्पर्क गर्न सक्ने व्यवस्था गरेको उनको दाबी छ । त्यसैले अभाव भएमा सम्पर्क गरेमा मातहतका निकायले त्यसको व्यवस्थापन गरिदिने उनको भनाइ थियो । उनले अभावको हल्लाको पछि लागेर कुनै पनि वस्तुहरु जगेडा नराख्न समेत उपभोक्तालाई आग्रह गरे । ‘पछिल्लो समय बजारमा यसको अभाव छ भनेर उपभोक्ताले बढी ग्यासका सिलिन्डर लैजाने गरेका छन्’, उनले भने, ‘त्यसो नगर्नुहोला, ग्यास लगायतका सामग्री पाइनेछ ।’

उनले संकटको समयमा राज्य, सरकार, मन्त्रालय, कर्मचारी भनेर नागरिकहरु बस्न नहुने बताउँदै कोरोना भाइरसका कारण हुनसक्ने जोखिमलाई लिएर सबै नागरिकले आ–आफनो स्थानबाट सहयोग गर्नुपर्ने बताए । ‘हामीले आवश्यक वस्तु तथा सेवाको लागि सरकार राज्यको मात्र भर पर्नुहुँदैन’, उनले भने, ‘आमनागरिकहरुले समेत यसमा विचार गरी अघि बढ्नुपर्छ ।’

उपभोक्ता अधिकारकर्मीहरुले भने बजारमा खाद्यवस्तुलगायत सामग्री अभाव भएको, मूल्यवृद्धि भएको, कोरोना भाइरसको नियन्त्रणलगायतको विषयमा सरकार गम्भीर नभएको भन्दै सरकारको आलोचना गरेका थिए । उपभेक्ता अधिकारकर्मी रञ्जन खनालले इन्धनको मूल्यवृद्धि तथा दूधको मूल्यवृद्धि हुँदा सरकार कहाँ छ भनी खोज्नुपरेको बताएका थिए । माधव तिमिल्सिनाले जनतालाई दोष दिएर सरकार पन्छिन नहुने बताए ।

‘मन्त्रीहरु मन्त्रालयको छलफलमा व्यस्त बजारमा भने आवश्यक सामग्रीहरुको मूल्यवृद्धि गरेर कालाबजारी गरेका छन्’, उनले भने, ‘सो विषयमा सरकार जिम्मेवार बन्नसकेन ।’ यस्तै उनीहरुले कोरोना भाइरसको संक्रमणलाई लिएर सरकारले कुनै कदम नचालेको बताए । सार्वजनिक बस, स्थानहरुमा संक्रमण बढी हुने भन्दै उनीहरुले सरकारले सुरक्षाको उपायहरु नअपनाएको भन्दै सरकारको आलोचना गरे ।

जवाफमा राज्यमन्त्री मोतीलाल दुगडले सरकार सो विषयमा गम्भीर भएर लागेको बताए । ‘भूकम्पको समयमा पनि सरकार गम्भीर भएर लागेको थियो, हाल कोरोना भाइरसको विषयमा पनि सरकार गम्भीर भएर आफ्नो तर्फबाट खाद्य, चिनी, ग्यास, औषधिलगायतका वस्तुको अभाव हुन नदिन लागेको छ’, उनले भने, ‘हिजो भूकम्पलगायत विभिन्न समयमा परेको अप्ठ्यारोमा समेत सरकारले नागरिकहरुलाई अति आवश्यक सेवा सुविधा प्रदान गरेको छ, हालको समयमा पनि सरकारले सो काम गर्नेछ ।’

उनले दैनिक २८ लाख ग्यास सिलिन्डर नेपाल भित्रिरहेको बताउँदै ग्यासको अभाव नहुने बताए । ‘ग्यास आयात नियमित भइरहेको छ’, उनले भने, ‘मुलुकमा भएका ग्यास कम्पनीहरुमार्फत दैनिक एक लाख २० हजार ग्यास समेत उत्पादन भइरहेको छ । उनले भण्डारणमा डिजेल र पेट्रोल पनि ८० प्रतशितभन्दा बढी रहेको बताउँदै नियमित डिजेल, पेट्रोल आउनुको साथै पाइपलाइनमा समेत रहेको बताए ।

औषधि व्यवसायी संघले छ महिनालाई पुग्ने औषधि रहेको जनाएको छ । संघका अध्यक्ष शिव बाँस्कोटाले छ महिनालाई पुग्ने औषधि रहेको बताउँदै भोलिका दिनमा औषधि ढुवानी गर्ने व्यक्तिलाई कोरोना संक्रमण भएमा त्यसको जिम्मेवारी भने सरकारले लिनुपर्ने बताए । ‘हालसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन, भोलिका दिनमा पनि नदेखियोस्’, उनले भने, ‘कोही संक्रमित भएमा त्यसको उपचारको जिम्मेवारी सरकारले लिनुपर्छ ।’

संघले भने संविधानले दिएको नागरिकहरुले सहज र सरल तरिकाले बाँच्न पाउने अधिकारको सरकारले सुनिश्चित गनुपर्ने जनाएको छ । संघले कोरोना भाइरसको कारण नागरिकलाई खाद्य, चिनी, नुन, औषधिलगायतका अति आवश्यक वस्तुको अभाव हुन दिन नहुने जनाएको छ । कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बाँस्कोटा, उपभोक्ता अधिकारकर्मी, विभिन्न व्यवसायी संघका अध्यक्ष, मन्त्रालयका सचिव तथा कर्मचारीहरु सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया