Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचैत २५ गतेसम्म ‘लकडाउन’

चैत २५ गतेसम्म ‘लकडाउन’


काठमाण्डौं,चैत १७
कोरोना भाइरस (कोभिड—१९) को संक्रमण फैलिन नदिन भन्दै सरकारले गत मंगलबार अर्थात् ११ गतेदेखि लगाएको ‘लकडाउन’ अर्थात् बन्द यही चैत २५ गते राति १२ बजेसम्मका लागि लम्ब्याएको छ । १० गते सरकारले राजपत्रमा सूचना जारी गरी ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि लगाएको ‘लकडाउन’ नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि थप विस्तार गरेको हो । दोस्रो व्यक्तिमा कोरोना देखिएपछि सरकारले ११ गतेदेखि ‘लकडाउन’ गरेको थियो । अहिले पाँच जनामा कोरोना देखिएको छ भने बुटवलमा आइसोलेसनमा रहेका एक युवाका मृत्यु भएपछि संक्रमण बढेको आशंका गरिएको छ । यद्यपि ती युवाको के कारणले मृत्यु भएको भन्ने पुष्टि स्वाब परीक्षणबाट मात्र पत्ता लाग्नेछ । मृत्यु भएका युवाको स्वाब परीक्षणको लागि काठमाडौंको टेकु अस्पताल ल्याइएको छ । आइतबार नै कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले ‘लकडाउन’को अवधि थप गर्नुपर्ने निर्णय गर्दै मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले ‘लकडाउन’को अवधि २५ गतेसम्मका लागि बढाइएको सञ्चारकर्मीहरुलाई जानकारी दिएका हुन् ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन यसअघि लगाइएको रोक २५ गते राति १२ बजेसम्म कायमै राख्ने निर्णय पनि गरेको छ । सरकारले १० प्रतिशत छुटमा खाद्य सामग्री बिक्री गर्ने निर्णय पनि गरेको छ । बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले चामल, पिठो र नुनमा हाल कायम रहेको मूल्यमा दश प्रतिशत छुटमा बिक्री गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले टेलिफोन सेवा कम्पनीले लकडाउनको अवधिमा डाटा तथा इन्टरनेटमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ भने नेपाल विद्युत् प्राधिकरणले मासिक एक सय ५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई विद्युत् महसुलमा २५ प्रतिशत छुट दिने निर्णय पनि गरेको छ । विद्युत् र इन्टरनेटको फागुन र चैत महिनाको महसुलमा २०७७ वैशाख मसान्तसम्म बुझाएमा विलम्ब र अरु जरिवाना नलिने निर्णय गरेको छ । विदेशबाट आउने विमानलाई आउँदो वैशाख ३ गतेसम्मका लागि थप प्रतिबन्ध लगाइएको छ । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाइ उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका संक्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाइ उडान रोक्ने निर्णय गरेको हो ।

सरकारले यसअघि चैत ८ देखि १८ गतेसम्म हवाइ उडान रोक्ने निर्णय गरेको थियो । कोरोनाको संक्रमणको त्रास बढेपछि सरकारले पूर्ववत् निर्णयअनुसार नै अन्तर्राष्ट्रिय हवाइ उडानमा रोक लगाउन समय थप गरेको हो । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिँडारीले भने, ‘कोरोना संक्रणको त्रास कायम रहेकाले हवाइ उडान रोक्ने निर्णय भएको छ ।’कोरोना भाइरसबाट पीडितलाई राहत दिन सरकारले २२ अर्ब बढी वैदेशिक ऋण लिने निर्णय पनि गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषबाट निब्र्याजी ८७ दशमलव पाँच मिलियन अर्थात् १३ खर्ब नौ करोड विश्व बैंकबाट २९ मिलियन, एसियाली विकास बैंकबाट ५० मिलियन अमेरिकी डलर सहयोग स्वीकार गर्ने निर्णय सरकारले गरेको छ ।त्यस्तै सरकारले ५० हजार डलरभन्दा माथि मूल्यका गाडी खरिद गरेर आयातमा रोक लगाएको छ । मदिरा आयातमा पनि रोक लगाएको छ । माध्यमिक तहसम्म निजी स्कुल, कलेज पनि एक महिनाको शुल्क छुट दिनुपर्ने सरकारले निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया