Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगतेक्वान्दो खेलाडी पलेशालाई एनसेलको सम्मान

तेक्वान्दो खेलाडी पलेशालाई एनसेलको सम्मान


काठमाडौं । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई पहिलो पटक पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ । पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई एक लाख रूपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

पलेशाले चीनको हाङझाओमा आयोजित एसियाली पारा खेलकुदको तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजीमुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिइन् । यो नगद पुरस्कार उनको जित र व्यक्तिगत उपलब्धिको सम्मानका लागि भएको कम्पनीले जनाएको छ । यसबाहेक एनसेलले राष्ट्रिय पारालिम्पिक समिति (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईँकै लागि’ थिमअन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको जनाएको छ । एनसेलले बुधबार नेपालका लागि ऐतिहासिक जित हासिल गरेकोमा पलेशालाई बधाई तथा शुभकामना दिन विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।

नेपालका लागि पलेशाको उपलब्धिबाट उत्साहित, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेशाको यो एतिहासिक उपलब्धि नेपालका पारा–एथलीटहरूको उत्कृष्ट प्रदर्शनको नतिजा रहेको बताए । यस्तै उनले एनपीसीसँगको सहकार्यले पलेशाजस्ता पारा खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न सहयोग पुग्ने बताए । यस्तै पलेशाले एसियाली पारा खेलकुदबाट पहिलो पटक देशको लागि पदक जितेर ल्याउन पाएकोेमा गौरवान्वित भएको बताइन् । साथै एनसेल र एनपीसीको यो सहकार्य दीर्घकालीन रहोस् भन्ने कामना गरिन् । पारा खेलाडीहरूको विकासका लागि भएको यो सहकार्यले आगामी दिनमा अझ धेरै खेलाडीहरू लाभान्वित हुने र देशका लागि थप अन्तर्राष्ट्रिय सफलता दिलाउने उनको भनाइ थियो । पलेशाले चाइनाकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा कास्य पदक ल्याउन सफल भएकी थिइन् ।

यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरी विभिन्न १० खेलका विधामा १९ जना पारा खेलाडीहरूले नेपालको प्रतिनिधित्व गरेका थिए । एनसेलले गत भदौ ३१ गते आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, खेलकुद
ट्याग : #page 3

तपाईको प्रतिक्रिया