Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसरकारद्वारा ऋण उठाउन सुरु

सरकारद्वारा ऋण उठाउन सुरु


काठमाडौं । आम्दानीको स्रोत कमजोर भएपछि नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउन सुरु गरेको छ । यसअघि आर्थिक वर्ष सुरु हुनेबित्तिकै ऋण उठाउने चलन थिएन । तर, यस पटक राष्ट्र बैंकले ऋण उठाउने तालिका मात्रै सार्वजनिक गरेन, आज (बिहीबार) १० अर्ब रुपैयाँको छ वर्ष अवधिको विकास ऋणपत्र बिक्रीका लागि बोकबोल समेत आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ ।

२०८० साउन १९ गते निष्काशन हुने ‘विकास ऋणपत्र २०८६ ‘छ’ (छ वर्षे)’ २०८६ साउन १९ गते परिपक्व हुनेछ । ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी भएर खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकले प्रतिस्पर्धी बोलवालाहरूलाई ८५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालाहरूलाई १५ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँका दरले ऋणपत्र बिक्री गरिने जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुनआउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुनआएमा बोलवालाहरूलाई समानुपातिकरूपमा ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

विकास ऋणपत्र खरिद गर्न पाउने सीमा घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार विकास ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन पाउनेछन् । राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुनेछ ।

विकास ऋणपत्र खरिद गर्न बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पाउनेछन् । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरूपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सरकारको लागि कुल दुुई खर्ब ४० अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ । सोहीअनुुरूप चालू आर्थिक वर्षको लागि उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले अल्पकालीन तथा दीर्घकालीन अवधिका ट्रेजरी बिलहरू, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका मौद्रिक उपकरणहरू बिक्री गर्ने तयारी गरेको छ । यसरी बिक्री गरिने कुल मौद्रिक उपकरणमध्येमा ७४ दशमलव छ प्रतिशत हिस्सा ऋणपत्रको रहेको छ । सोअनुसार २०८१ सम्ममा एक खर्ब ७९ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री हुनेछ । जसमध्ये पहिलो त्रैमासमा ५० अर्ब, दोस्रो त्रैमासमा ४५ अर्ब, तेस्रो त्रैमासमा ३५ अर्ब र चौथो त्रैमासमा ४९ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया