Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमर्ई बैंक र डिप्रोक्स नेपालबीच सम्झौता

ग्लोबल आईएमर्ई बैंक र डिप्रोक्स नेपालबीच सम्झौता


काठमाडौं । ग्लोबल आईएमर्ई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

हस्ताक्षरपश्चात् डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिप्रोक्स नेपालले सञ्चालन गर्नेे कार्यक्रममा बैंकको सहभागिता रहने समझदारी भएको हो । त्यस्तै, परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम–पूर्वलगायत जिल्लाहरूको शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबाङ्ग; भूमे र पुथाउत्तरगंगा गरी आठवटा स्थानीय तहमा बेलायतस्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रममा पनि बैंकको सहभागिता हुने बताइएको छ ।

बैंकसँगको सहकार्यमा हुने डिजिटल कारोबारले परिलक्षित समुदायको समय, श्रम र खर्चमा बचत हुने विश्वास छ । यस परियोजनामा आबद्ध घरधुरीहरू तरकारी, दुग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रापालन व्यवसायमा संलग्न छन् । परियोजनामा आबद्ध पाँच हजार पाँच सय घरधुरीमध्ये ८० प्रतिशत सहभागी महिला हुने बताइएको छ भने बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत परिवारबाट हुनेछन् । यसैभित्रबाट तीन प्रतिशत समुदाय अपाङ्ग घरपरिवार पनि हुनेहुँदा परियोजनाले परिलक्षित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैंकले लिएको छ ।

साथै, यी क्रियाकलापमा सहजीकरण गर्न परियोजनाले ८० जना महिला डिजिटल च्याम्पियनहरू परिचालन गरी बैंकसँगको सहकार्यमा वित्तीय शिक्षा, डिजिटल साक्षरता, महिला सशक्तीकरणका तालिम सञ्चालन गरी मोबाइल बैकिङ, डिजिटल बैंकिङ, कृषि ऋण र समावेशी वित्तीय पहुँचका लागि योगदान हुने विश्वास बैंकले लिएको छ । बैंकले समयसापेक्ष विभिन्न संघ–संस्थासँग यस किसिमका सम्झौता गरी आर्थिक गतिविधिमा आफ्नो अग्रसरता जनाउँदै आएको बताइएको छ । ग्लोबल आईएमर्ई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले सबै क्षेत्रमा गरी तीन सय ५९ वटा शाखा कार्यालय, तीन सय ६७ वटा एटीएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया