Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयऋण प्रवाहको ‘सिण्डिकेट’ तोड

ऋण प्रवाहको ‘सिण्डिकेट’ तोड


काठमाडौं । अघिल्लो वर्षको एउटा रिपोर्टले देशमा उद्योग व्यवसायमा लगानी घट्दै गएको भन्ने चिन्ताजनक अवस्था देखाएको थियो । राष्ट्र बैंकको त्यो वर्षको नेपाली बैंकिङ क्षेत्रको समग्र वित्तीय अवस्थासम्बन्धी अध्ययनले बैंकमा जम्मा हुने रकमको अंक र उद्योग व्यवसायमा प्रवाह हुने ऋणको रकममा देखिएको ठूलो अन्तरले उद्योग व्यवसाय झनै खुम्चिँदै गएको देखाएको थियो । उद्योग व्यवसाय विस्तारका लागि ऋण प्रवाह एउटा महत्वपूर्ण कडी मानिन्छ । यो क्षेत्रमा लगानी नै भएन भने यसको विस्तार हुने वा भएको भन्ने अवस्था आउँदैन । लगानीको अवस्था कस्तो छ भन्ने जानकारी दिने प्रमुख माध्यम कर्जाखाता हो । त्यो खाताको सङ्ख्या बढेको छ भने कर्जा पनि बढेको र कर्जा बढेको देखिए उद्योग व्यवसाय पनि विस्तार हँुदै गएको बुझ्न सकिन्छ । राष्ट्र बैंकको अघिल्लो वर्षको अध्ययनले निक्षेप तथा कर्जा खाताको बीचमा जस्तो ठूलो खाडल देखाएको थियो पछिल्लो वर्षको अर्को अध्ययनले पनि यही कुरा दोहोरिएको पाइनु निश्चय नै चिन्ताको विषय हो ।

यसले बैंकमा जम्मा भएको पुँजी कि निष्कृय छ कि केही सीमित व्यक्तिको हातमा गएको छ भन्ने बुझाउँछ । कर्जाका लागि नयाँ खाता नखुल्नु भनेको व्यवसायमा नयाँ अनुहारको प्रवेश नभएको भन्ने बुझाउँछ । यी दुवै कुरा व्यवसाय विस्तारका लागि नकारात्मक हुन् । सरकारले यसमा सुधार ल्याउन तत्कालै नीतिगत सुधार र अरू आकर्षक कार्यक्रम ल्याउन आवश्यक पथ्र्यो । त्यो पनि भएको पाइएन । उद्योग व्यवसाय विस्तार भएनन् भने अर्थतन्त्रमा त्यसले पार्ने प्रभाव गम्भीर हुन्छ । सरकार यता किन उदासिन रह्यो भन्ने बुझ्न सकिएको छैन ।

हालै, नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको पहिलो महिनाको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । त्यसमा सबै बैंकमा गरी निक्षेप खाताको सङ्ख्या पाँच करोड १७ लाख ३८ हजार ३१ छ । निक्षेप खाता बढ्नु भनेको निकै सकारात्मक पक्ष हो । मान्छेका घरघरमा रहेका पैसा बैकिङ प्रणालीमा आउनु हो । यसले समग्र अर्थतन्त्रलाई नै चलायमान बनाउँछ ।

नेपालमा अहिले २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ फाइनान्स कम्पनी र ५७ लघुवित्त वित्तीय संस्था गरी कुल एक सय १२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा छन् । पूर्वाधार विकास बैंक भने फरक उद्देश्यका लागि सञ्चालनमा आएको हुँदा यो सूचीमा पूर्वाधार विकास बैंकलाई समावेश गरिएको छैन । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा कुल पाँच करोड १७ लाख ३८ हजार ३१ निक्षेप खाता सञ्चालनमा छन् । यी सबै खातामार्फत वित्तीय प्रणालीमा कुल ५६ खर्ब ११ अर्ब ५९ करोड ६० लाख रूपैयाँ निक्षेप संकलन भएको छ । तर यता यी बैंकमा जम्मा भएको पुँजी परिचालन भने जम्मा १८ लाख ४८ हजार सातवटा कर्जा खाताबाट भइरहेको छ । यसको अर्थ हो निक्षेपमा भने नयाँ–नयाँ खाता खोलिने र कर्जामा भने खातै न खोलिएको स्थिति बन्यो ।

उल्लेखित सङ्ख्याका निक्षेप खातामा जम्मा भएको रकमको अंक ५६ खर्ब ११ अर्ब ५९ करोड ६० लाख रूपैयाँ छ । यता सबै बैंक तथा वित्तीय संस्थाले १८ लाख ४८ हजार सातवटा कर्जा खातामार्फत प्रवाह गरेको कर्जा रकमको ४८ खर्ब ५७ अर्ब १३ करोड ४० लाख रूपैयाँ देखियो । यो भनेको कर्जा प्रवाह पनि भइरहेको छ भन्ने सन्देश हो तर त्यो लिने सङ्ख्या भने सीमित नै छ । यसले ऋण प्रवाहमा पनि सानो सङ्ख्याको सिण्डिकेट कायम रहेको देखाउँछ, जुन राम्रो होइन । यसले उद्योग व्यवसायका हरेक कुरा कब्जामा परेका यी उद्योगबाट उत्पादित वस्तुमा मोनोपोली चल्ने खतरा हुन्छ । यसलाई तोड्न जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया