Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयडढेलोको प्रकोपप्रति सरकारी उदासीनता

डढेलोको प्रकोपप्रति सरकारी उदासीनता


काठमाडौं । भूकम्प, बाढी र पहिरोको प्रकोप मात्रै सुन्दै र भोग्दै गरिन्थ्यो । अब त्यसमा डढेलो पनि थपिएको छ । तर उल्लेखित प्रकारका प्रकोपमा जे–जति मात्रामा सरकारी निकाय र सामाजिक संघसस्थाहरूको ध्यान जान्थ्यो, यो आगलागी र डढेलोले गरको सर्वनाशप्रति भने कसैको दृष्टि परेको देखिएन । यो प्रकोप बितेका केही हप्तादेखि देशैभरी फैलिएको छ । तर त्यसलाई नियन्त्रण गर्न केन्द्रदेखि स्थानीय निकायले पनि समुचित ध्यान दिएको पाइएन । क्षतिको हिसाबले यस्तो भयावह अवस्था बढिरहेको छ । तर सरकार आफैँले पनि आफ्ना निकायलाई कुनै निर्देशन जारी गरेको देखिएन । डढेलो लागेर गाउँको गाउँ सखाप भइरहेको छ । मान्छेहरू खरानी पन्छाएर रात बिताउन बाध्य देखिएको अवस्था छ । तर तिनलाई सामान्य तहको राहत पनि पुर्याइएको पाइएन । कतिसम्म भने देशभरबाट यतिबेलासम्म के–कति क्षति भयो भनेर सहीरूपले आकलन समेत गरिएको देखिएन । यो भनेको डढेलोलाई नजरअन्दाज गरिएको अवस्था हो ।

बितेको दुई हप्तामा मात्रै १५ जनाको मृत्यु, र पाँच सयको हाराहारीमा घर पूर्णरूपमा ध्वस्त भएका विवरण आएका छन् । हजारभन्दा बढीको संख्यामा परिवार विस्थापित भइसकेको छ । यो भनेको सानो क्षति होइन । वैशाख लागेयता मात्रै देशभर नै हुनेगरी आगलागी र डढेलो फैलिँदा विगत वर्षहरूभन्दा यो वर्ष धेरै ठूलो क्षति भएको देखिन्छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कले उल्लेखित क्षति भएको देखाएको हो । अघिल्लो वर्षको यही समयमा तीन सय ३३ ठाउँमा आगलागी र डढेलो लाग्दा पाँच जनाको मृत्यु भएको थियो । २२ जना घाइते भएका थिए । एक सय २५ घर पूर्ण र ९१ घर आंशिक गरी दुई सय १६ घरमा आगलागी भयो जसमा तीन सय ९७ परिवार प्रभावित भएका थिए । उक्त वर्ष एक सय चार गोठमा आगो लाग्दा दुई सय तीन चौपाया मरेका विवरणहरूले बताएको थियो । पछिल्लो हप्ता महोत्तरी मटिहानी नगरपालिका– ६ जरलहवा टोलमा भीषण आगलागीले एक सय तीन घरलाई खरानी बनायो । यसबाट मात्रै पाँच सय हाराहारीको संख्याका स्थानीय विस्थापित भए । तिनीहरू एक हप्तादेखि खुला आकाशमा नै बस्न बाध्य छन् । तिनका दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा केही पनि जोगिएनन् । यो एउटा गाउँ विनाशको एउटा नमुना हो । तर पीडितहरूले अझै पनि राहतपाउन नसकेका स्थानीय तहबाट आएका समाचारहरूले बताइरहेका छन् । यसै कारण पनि डढेलोको प्रकोपप्रति सरकार उदासीन रहेको भन्ने आरोप लागेको हुनपर्छ । यही गाउँको आगजनीले एक करोड ६२ लाख ८५ हजारको क्षति भएको आकलन गरिएको छ ।

डढेलो नियन्त्रण गर्न सरकारसँग कुनै योजना नै बनाइएको रहेनछ भन्ने यो वर्ष प्रष्ट भयो । नत्र विगतमा पनि यस्ता आगजनी हुँदै आएका थिए । राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको पाँच वर्षमा मात्रै आठ हजार तीन सय ३२ घरमा आगलागी भएको छ । त्यसले २०७६ देखि २०८० सम्म १५ हजार तीन सय ४० घटना गरायो जसमा पाँच हजार तीन सय ४३ घर जलेर नष्ट भएका देखिन्छ भने दुई हजार नौ सय ८९ घरमा क्षति पुगेको छ । सोही निकायका अनुसार पाँच वर्षमा आगलागीमा परी चार सय ७१ जनाको ज्यान गएको छ भने एक हजार नौ सय ८० जना घाइते भएका छन् । तीन हजार सात सय ४१ गोठ जलेका छन् भने आठ हजार तीन सय १३ पशुचौपाया मरेको देखिएको छ । रकमको हिसाबमा ११ अर्ब ९८ करोड ८८ लाख ५४ हजारको क्षति आकलन गरिएको छ । निश्चय नै यो नोक्सानी सानो होइन ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया