Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसहकारीको लहरो पहरोसम्मै पुगोस्

सहकारीको लहरो पहरोसम्मै पुगोस्


काठमाडौं । यतिबेला देशमा अत्यन्त तल्लो तहका नागरिकहरू देशैभर पीडित भएका छन् र उनलाई पीडा दिनेहरू भने सरकार चलाइरहेका छन्, त्यो पनि सामाजिक न्याय दिने भनेर लिखित सम्झौताका साथ । यो सन्दर्भ हो सहकारी ठगीको । सहकारी, लघुवित्त र मिटरब्याजीबाट पीडित हुनेहरूको संख्या करोडभन्दा माथि पुगेको छ । तीन करोड जनसंख्या रहेको देशमा पीडितहरूको संख्या पूरै एकतिहाइ हो । एक करोड जनसंख्या देशबाहिर रहेकालाई आधार मानिँदा त ठगिएको यो संख्या पूरै आधा हो । तर राज्यले यसलाई गम्भीरतापूर्वक लिएको पाइएन । कारण हो, सहकारी ठगी गरेका भनी आरोप लागेकाहरूबाटै राज्य चलाइरहनु । आजकै मितिमा हेर्दा पनि तीनजना मन्त्री त सहकारी ठगीमा नाम चलेकामध्येका छन् । तिनलाई सरकारको पहुँचका आधारमा मुद्दा चलाउन नपर्ने भनिएको छ । त्यसैमा पछिल्लो समय एकजना सांसदको नाम आएको छ । उनी एकै जनाबाट करिब २० करोडको हाराहारीमा हुनेगरी सहकारीकै रकम अपचलन गरेको भनी पक्राउपुर्जी नै जारी भएको छ । यसले सहकारी ठगीको लहरो कति लामो छ भन्ने देखाउँछ ।

सर्वसाधारणको बचत हिनामिना गरेको भनी यतिबेला सहकारी सञ्चालक मात्र होइन त्यसको रकम अपचलन गर्ने सांसदलाई पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको देखिनुले अबचाहिँ यस्ता ठगहरूमाथि कारबाही हुन्छ कि भन्ने झिनो आशा पलाएको बुझिन्छ । सम्बन्धित जिल्लाबाट प्रहरीले आफ्नो केन्द्रीय कार्यालयमा लेखेको पत्रको ब्यहोराले धेरै कुरा बताउँछ । त्यो पत्रको अंश– सहकारी ऐन २०७४ अनुसारको कसुर मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा हामीहरूले बर्दिया जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिकतर्फबाट संघीय सांसद रहेकी गीता बस्नेत समेतको संलग्नतामा चितवन जिल्लामा सञ्चालित सनराइज बचत तथा ऋण सहकारी संस्था लिमिटेल, नवलपरासीपूर्वको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेड तथा बर्दिया जिल्लामा सञ्चालनमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड समेतको बचत हिनामिना गरी बर्दिया जिल्लामा रहेको कृष्णसार रिसोर्टमा लगानी गरेको भनी बयान ब्यहोरामा खुलाई÷लेखाइदिएको तथा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशबाट खटिएका वित्तीय विश्लेषक निर्मल गौतमले पेस गरेको वित्तीय विश्लेषणसहितको प्रतिवेदनमा खुलेको हुँदा लालबहादुर गुरुङकी छोरी, सुकमान बस्नेतकी श्रीमती जिल्ला बर्दिया गुलरिया नगरपालिका ९ वतन भई ऐन वडा नं. ४ बस्ने वर्ष ६७ की गीता बस्नेतलाई प्रस्तुत मुद्दामा पक्राउ गरी अनुसन्धान गर्नका लागि सम्मानित नवलपुर जिल्ला अदालतबाट पक्राउ अनुमतिसमेत प्राप्त भइआएकाले निज बस्नेत संघीय संसद्को सदस्य रहे नरहेको सम्बन्धमा यकिन विवरण पठाइदिनका लागि ।

यो पत्रको व्यहोराले यसअघि कारबाही गर्न मिल्दैन भनी जोगाइएका ठगहरू पनि तानिने देखिन्छ । यदि यस्तो भयो भने अनि मात्र पीडितहरूले न्याय पाउने अवस्था बन्छ । त्यसकारण माथिको विवरणले देखाएको अभियोग सबैका लागि पक्राउको लहरो बन्नुपर्छ र त्यसले पहरो तान्नुपर्छ भनिएको हो । यसमा सहकारी ठग मात्र होइन, तिनलाई जोगाउने पनि, ती जतिसुकै ठूला किन नहुन दण्डको भागी बनाइनुपर्छ  । अनि मात्र देशमा कानुनी राज्य सुरु भएको मान्न सकिन्छ । सहकारीको रकम अपचलन भए त्यसमाथि कारबाही हुन त्यो सम्बन्धित सहकारीको सदस्य नै भइसके रहनुपर्दो रहेनछ । जिल्ला प्रहरीले केन्द्र प्रहरीलाई लेखेको उक्त पत्रको यो अंशले त्यही कुरा बताउँछ । त्यसो हुँदा ठगहरूले कुनै बहानाबाजी गर्न पाउँदैनन् । अहिलेसम्म सहकारी ठग्नेहरूले आफूलाई कानुन थाहा नभएको आफ्नो परिचय र ख्यातिको दुरुपयोग भएको भन्दै आइरहका र तिनलाई त्यही निहँुमा जोगाइरहेको अवस्था छ । अब कानुनको यस्तो अपव्याख्याबाट जोकोही ठगहरू नजोगिऊन् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया