Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमन्त्रीको मति

मन्त्रीको मति


मन्त्रीको मति राम्रो हुनुपर्दछ । मन्त्री मतिवान भए जनताको भलो हुन्छ । तर, मन्त्री नै मतियार भए भने जनताले कहिल्यै सुख पाउँदैनन् । मन्त्रीको सुमति र कुमतिमा जनताको सुखसयल निर्भर रहन्छ । मन्त्रीको मति उसको अध्ययन, खानपान र साथ सङ्गतमा निर्भर हुन्छ । महिनौँदेखि निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजका विद्यार्थी आन्दोलित छन् । कलेजका सञ्चालकले लिनुपर्नेभन्दा बढी रकम असुलेको रहेछन् । त्यो अतिरिक्त रकम फिर्ता पाउनका लागि विद्यार्थी आन्दोलित भएका छन् । शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्व घोषणा गरेको सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले मेडिकल कलेजका सञ्चालकहरूसँग अतिरिक्त शुल्क फिर्ता गराउन ठोस कदम चालेका छैनन् ।

उनीहरूविरुद्ध ठगी मुद्दा चलाउने पक्राउ गरेर थुन्नेजस्ता धम्की दिए पनि शिक्षामन्त्रीले उनीहरूलाई असर पर्ने र विद्यार्थीलाई राहत हुने कामचाहिँ गरेका छैनन् । पक्रेर थुन्ने धम्की दिएपछि मध्यरातमा उनीहरूसँग रकम समायोजन गर्ने सहमति गराएका थिए । त्यो सहमतिलाई विद्यार्थीले स्वीकारेका छैनन् । तर, मन्त्रीले गराएको सहमति महिनौँसम्म पनि कार्यान्वयनमा आएको छैन । मन्त्री पोखरेल विद्यार्थीकालदेखि नै वैज्ञानिक शिक्षा लागू हुनुपर्ने, दुइखाले नागरिक उत्पादन गर्ने शिक्षा नीति खारेज हुनुपर्ने, शिक्षाको व्यापारीकरण रोकिनुपर्नेजस्ता स्पष्ट धारणा राख्दै आएका व्यक्ति छन् । अर्का मन्त्री छन्, घनश्याम भुषाल । उनी कृषिमन्त्री हन् । कृषिलाई आधुनिकीकरण गर्ने उनको स्पष्ट धारणा थियो । उनी आफूलाई माक्र्सवादी दर्शनको व्याख्याताको रूपमा चिनाउन चाहन्थे मन्त्री हुनुअघिसम्म ।

उनी कृषिमन्त्री भएपछि वषौँदेखिको बक्यौता उठाइपाऊँ भनी उखु किसानले आन्दोलन गरे । कृषिमन्त्री कतै देखिएनन् । भद्र स्वभावका उद्योगमन्त्री लेखराज भट्टले आन्दोलनकारीसँग सहमति गराए माघ ७ गतेसम्म सबै उखु किसानको बाँकी बक्यौता भुक्तानी गराउने भनेर । त्यो मिति गुज्रियो तर उखु किसानले भुक्तानी पाएनन् । नेपाल भ्रमण गरेर फर्किएकी भिक्टोरीया लुइसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शौचालय दुर्गन्धित भएको कुरा ट्वीट गरेकी थिइन् । पर्यटनमन्त्री बन्नुअघि आमुल परिवर्तन गर्ने चुड्की बजाएर भाषण गर्ने योगेश भट्टराईले अष्ट्रेलियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै के उनको देशमा चाहिँ ट्वाइलेटको सुगन्ध आउँछ त भनेर उछित्तो काढे ।

अमेरिकामा पनि पत्रकारलाई मृत्युदण्ड दिइन्छ भनेर सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भाषण गरे पनि पछिल्लो समयमा मिडिया काउन्सिललाई दण्ड दिने अधिकार दिनु हुँदैन भनेर शीर्षाशन गरेका छन् । हाम्रा मन्त्रीहरूका बोलाइ र गराइका यी केही उदाहरण मात्र हुन् । बोलाइ र गराइमा भिन्नता हुनेगरी यसरी मन्त्रीहरूले बोल्नु हुँदैन । कसैको मतियार बन्न मात्रै यस्तो भिन्नता आउँछ । मन्त्रीको मति पवित्र हुनुपर्दछ । विमति राख्नेप्रति पनि कुमति पलाउनु हँदैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया