Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि सकिएन पुनर्निर्माणको काम

भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि सकिएन पुनर्निर्माणको काम


सुवास बस्नेत
दोलखा, वैशाख १५
भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि जिल्लामा पुनर्निर्माणको काम सकिएको छैन । २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्काएका निजी आवास, विद्यालय, मन्दिर गुम्बा तथा सार्वजनिक स्थलहरूको पुनर्निर्माणको काम अझै नसकिएको हो । जिल्लाभर अझै करिब साढे आठ हजारभन्दा बढी आवास पुनर्निर्माण हुन बाँकीरहेको छ । निजी आवास निर्माणका लागि भनेर सरकारले दिएको पहिलो किस्ता ५० हजार रूपैयाँ लिएर आठ हजार आठ सय ३४ लाभग्राहीले निजी आवास बनाएका छैनन् ।

जिल्लामा ७३ हजार तीन सय ९ जना भूकम्पपीडीत लाभग्राही रहेका थिए । जसमध्ये ६९ हजार चार सय ७३ जनाले अनुदान सम्झौता गरेका थिए । तीमध्ये ६० हजार छ सय ३९ जनाले निजी आवास निर्माण सम्पन्न गरेर तेस्रो किस्तासमेत लिइसकेका छन् । साथै केहिले निर्माण सम्पन्नताको प्रमाणपत्र समेत बुझिसकेका छन्।त्यसैगरी ६३ हजार दुई सय २३ जनाले दोस्रो किस्ता लिएका छन् भने ६८ हजार छ सय ९७ जनाले पहिलो किस्ताको रकम लिएका छन् । तीन हजार आठ सय ३६ जनाले भने अनुदान सम्झौता गर्न नआएको पुनर्निर्माण प्राधिकरण दोलखाले जनाएको छ ।

पुनर्निर्माणप्राधिकरणका अनुसार पहिलो किस्ता मात्र बुझेका साढे आठ हजार लाभग्राहीहरूले पनि आवास निर्माणको कार्य थालेका छन् । यसैगरी जिल्लाका करिब साढे एक सयभन्दा बढी विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको छ । भूकम्पले क्षति पु-याएका तीन सय ६५ वटा विद्यालयमध्ये चैत मसान्तसम्म दुई सय २१ वटा विद्यालय भवनको मात्र पुन निर्माण सम्पन्न भएको छ । केही विद्यालय भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।त्यसैगरी दर्जन बढी विद्यालयले अस्थायी जस्ताका टहरामा विद्यार्थी राखेर पठनपाठन गराउँदै आएको बताएका छन्। जिल्लामा दुईवटा एकीकृत नमुना बस्तीको पुनर्निर्माण पनि भर्खरै सुरु भएको छ ।

कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनका कारण निजी आवास निर्माण सुरु गरेका लाभग्राहीको आवास निर्माण केही समय ढिलो हुने प्राधिकरणले जनाएको छ । पुनर्निर्माणको लागि जनशक्तिको अभाव भएको कारण जिल्लाका निजी आवास तथा सार्वजनिक संस्था निर्माणको काममा ढिलाइ भएको प्राधिकरणको भनाइ छ । जिल्लामा पुनर्निर्माणका लागि तराई तथा सुदुरपश्चिमका कामदारहरू आएका छन् ।
पुनर्निर्माणको काम ठप्प हुँदा कामदार गाउँ फर्के

एक महिनादेखिको लकडाउनको कारण दोलखाका गाउँघरमा नियमित हुँदै आएको भूकम्पपछिको पुनर्निर्माणको काम अहिले ठप्प छ । कोरोनाको त्रासका कारण बाहिरी जिल्लाबाट रोजगारीका लागी दोलखा आएका करिब एक हजार पाँच सय कामदारले आफ्नो दैनिक गर्दै आएको रोजगार गुमाउनु परेको हो ।

दोलखामा रोजगारका लागि बाहिरी जिल्ला, रुकुम, रोल्पा सल्यान, बर्दिया, रौतहटलगायतका जिल्लाबाट कामदारहरू दैनिक ज्याला मजदुरीको काम गर्न आएका छन् । जिल्लाका विभिन्न गाउँमा भूकम्पपछिको पुनर्निर्माणको काम गर्दै उनीहरू लकडाउने काम ठप्प भएपछि आफ्नै जिल्ला फर्किएका छन् ।तीन वर्षअघिदेखि जिल्लाका विभिन्न गाउँमा पुर्ननिर्माणलयायतका काममा सक्रिय थिए । भीमेश्वर नगरपालिकामा करिब छ महिनादेखि पुनर्निर्माणको काम गर्दै आएका बर्दिया जिल्लाका राजकुमार शाक्यले लकडाउनका कारण एक महिनादेखि आफ्नो दैनिक गर्दै आएको काम बन्द भएको बताए ।

शाक्यसँगै दोलखाका कामको लागि आएका उनको सिंगो गाउँका करिब ७५ जना साथी एक साताअघि नै गाउँ फर्केको उनले बताए । साथै भीमेश्वर नगरपालिकाले लकडाउनले दोलखामा रोकिएका करिब एक सय ७० जना कामदारलाई गाडीको व्यवस्था गरेर आफ्नो गाउँ पठाएको छ । यसैगरी बैतेश्वर गाउँपालिकामा दुई वर्षदेखि घर तथा विद्यालय पुनर्निर्माणको काम गर्दै आएका दुई सय कामदार पनि दुई साताअघि नै गाउँ फर्किसकेका छन् । बैतेश्वरको मिर्गेमा घर बनाउने काम गर्दै आएका सल्यान जिल्लाका ३५ जना मजदुर हिडेर गाउँ फर्केको अस्थायी प्रहरी चौकी गैरीमुदिले जनाएको छ ।

त्यसैगरी तामाकोशी गाउँपालिकामा पुनर्निर्माणकै काम गरिरहेका सल्यान जिल्लाका १५ जना कामदार पनि गत गतमंगलबार घर फर्केका छन् । सल्यानका हरि विकले एक महिनादेखि काम ठप्प भएकाले कमाएको पैसा पनि सकिएको कारण गाउँ फर्किन लागेको बताए । सल्यान जिल्लाका मात्र करिब तीन सय दैनिक ज्यालादारी गर्ने कामदार दोलखामा पुनर्निर्माणको काम गर्दै आएको उनले बताए । अहिले सल्यान जिल्लाका प्राय सबै मजदुर गाउँ फर्केको उनले बताए । साथै चरीकोट–जिरी सडकमा सडक निर्माणको काम गर्दै आएका करिब साढे पाँच सय मजदुर पनि १५ दिन अगाडि नै आफ्नो गाउँ फर्किसकेको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाको तथ्यांक अनुसार दोलखाबाट करिब एक हजार पाँच सय दैनिक ज्याला मजदुरी गर्ने बाहिरी जिल्लाका कामदारको रोजगारी गुमेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया