Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालगल्याङ नगरपालिकाले भूमि बैंक स्थापना गर्ने

गल्याङ नगरपालिकाले भूमि बैंक स्थापना गर्ने


केपी खनाल
स्याङ्जा, पुस १७
स्याङ्जाको गल्याङ नगरपालिकाले भूमि बैंक स्थापना गर्नेभएको छ । भू–उपयोग नीतिअनुसार नगरपालिकाले भूमि बैंक स्थापना गर्ने भएको हो । केन्द्रीय सरकार पनि भूमि बैंक बनाउने बारे छलफल र अन्तरक्रियामा नै सीमित भएको बेला स्थानीय सरकारले भूमि बैंक बनाउने तयारीलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

भूमि बैंक स्थापनाको तयारीका लागि भूमिको वर्गीकरणको सुरुवात वडाबाट गरिने भएको छ । माघ मसान्तसम्ममा सबै वडामा भूमिको वर्गीकरण गरी त्यसबाट आउने परिणामको आधारमा भूमि बैंक स्थापना गर्न लागिएको हो । नेपाल सरकारको पन्ध्रौं योजनामा समावेश गरिएअनुसार ११ किसिमले जमीनको वर्गीकरण गरी भूमि बैंक स्थापना गर्ने तयारी नगरपालिकाले गरेको छ । प्राविधिकसँगको समन्वयमा सबै वडाहरूको भूमिको वर्गीकरणको काम माघ मसान्तसम्ममा सक्न वडाध्यक्ष तथा जनप्रतिनिधिहरूलाई गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले बुधबार निर्देशन दिएका छन् ।

भूमि बैंकसम्बन्धी छलफल कार्यक्रममा नगरप्रमुख अधिकारीले जग्गा बाँझो राख्ने तर अर्कालाई भाडामा दिन दुःख मान्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘आफ्नो जग्गा सके आफूले गर्ने नसके अरुलाई भाडामा दिन सकिन्छ, तर जग्गा बाँझो राख्ने काम गर्नु हुँदैन ।’ नगरप्रमुख अधिकारीले जनप्रतिनिधिहरू पनि व्यावसायिकरूपमा कृषिक्षेत्रमा लागेर अरुलाई प्रेरणा दिनुपर्ने बताए । उनले भने, ‘बाख्रापालन, गाईपालन, भैंसीपालन, अदुवा खेती वा घाँस खेती, जे सम्भव हुन्छ त्यही गर्नुस् तर जग्गा बाँझो नराख्नुस् ।’

नगरप्रमुख अधिकारीले बाँझो जग्गाको कर बढाउने नीति लिने पनि स्पष्ट पारे । सकेसम्म आफैँलाई काम गर्न उत्प्रेरणा दिने र नभए अरुलाई दिएर भए पनि जग्गा बाँझो नराख्ने वातावरण बनाउनुपर्नेमा उनको जोड थियो । वैदेशिक रोजगार र बसाइसराइलाई निरुत्साहित गर्नका लागि नगरपालिकाले यस्तो योजना ल्याएको नगरप्रमुख अधिकारीको भनाइ छ । नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको स्मरण गर्दै उनले कृषि क्षेत्रमार्फत समृृद्धि ल्याउन भू–उपयोग नीतिको कार्यान्वय र भूमि बैंक स्थापनाको विकल्प नभएको बताए ।

कार्यक्रममा वडाध्यक्ष तथा सहभागीहरूले सबै कुरालाई समेटेर भूमि बैंक स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । वडा नम्बर एकका अध्यक्ष तथा नगर प्रवक्ता गणेश बस्यालले ठाउँअनुसारको भूमिको वर्गीकरणमा जोड दिनुपर्ने बताए । वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराइले एक्लो र विकट बस्ती व्यवस्थापनलाई सबैभन्दा बढी ध्यान दिनुपर्ने बताए । वडा नम्बर आठका अध्यक्ष भेकप्रसाद श्रेष्ठले जग्गाको चक्लाबन्दीमा जोड दिनुपर्ने बताए ।

कार्यक्रमको सहजीकरण गर्दै मालपोत कार्यालय वालिङका मालपोत अधिकृत हरिबहादुर भुजेलले नेपालको २७ प्रतिशत क्षेत्र कृषियोग्य भए पनि भूमि बैंकको अभावको कारण यसको सदुुपयोग हुन नसकेको बताए । कार्यपत्र प्रस्तुत गर्दै उनले २०६८ को जनगणनाअनुसार नेपालका ७४ प्रतिशत जनसंख्या कृषिमा निर्भर भए पनि ५३ प्रतिशत जनतासँग आधा हेक्टरभन्दा थोरै जमीन भएको जानकारी दिए । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, ११ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभाका सदस्य तथा नगरपालिकाका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया