Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्राविधिक शिक्षालयलाई निःशुल्क जग्गा प्रदान

प्राविधिक शिक्षालयलाई निःशुल्क जग्गा प्रदान


महेन्द्र शाही
सोलुखुम्बु, चैत ३
थुलुङदुधकोशी प्राविधिक शिक्षालयलाई साढे सात रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय जगतबहादुर राईले प्राविधिक शिक्षालयको नाममा बिहीबार जिल्ला मालपोत कार्यालय सोलुखुम्बुमा जग्गा रजिष्ट्रेशन पास गरिदिएका हुन् । गाउँपालिका केन्द्र मुक्लीमा सञ्चालन हुने तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कक्षा सञ्चालनका स्थापित शिक्षालयलाई जगतबहादुरले निःशुल्क जग्गा प्रदान गरेको गाउँ कार्यपालिका सदस्य बुद्धिराज राईले जानकारी दिए ।

जिल्लमा शिक्षालय सञ्चालन गर्न प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन प्राप्त भएको हो । ग्रामीण क्षेत्रका विद्यार्थीलाई घरगाउँमै प्राविधिक शिक्षा दिने उद्देश्यले स्थापना भएको शिक्षालयलाई निःशुल्क जग्गा उपलब्ध गराउनु आफ्नो दायित्वसमेत भएको जग्गादाता जगतबहादुरले बताए । गाउँका सर्वसाधरण नागरिकका छोराछोरीले शिक्षा लिने मात्रै नभए गाउँको विकासका लागि आफूले सात लाख रूपैयाँ मूल्यबराबरको साढे सात रोपनी जग्गा निःशुल्क दान गरेको राईले बताए ।

सस्तो शुल्कमा इन्जिनियर उत्पादन गर्ने गाउँपालिकाको योजना अनुसार शिक्षालय स्थापना गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताए । स्थानीय घरमै बसेर पनि इन्जिनियर बन्न पाउने भन्दै आफूहरू त्यसका लागि लागि परेको अध्यक्ष राईको भनाइ छ । शिक्षाको विकासले समाज परिवर्तन सम्भव भएको भन्दै आफ्नै कार्यकालमा परिवर्तनको आभास हुनेगरी काम गर्ने उनको भनाइ छ । आफ्ना छोरा छोरीले पढ्न गाउँमै पढ्न पाउने भएकाले आफूले जग्गा दिएर सहयोग गरेको जगतबहादुरको भनाइ छ । आफ्नो सानो सहयोगले गाउँलेले धेरै सुविधा पाउने भए सहयोग गर्न तयार भएको उनको भनाइ थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया