Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोनाले नाम्चेका होटल बन्द, कर्जा तिर्नेतर्फ व्यवसायीको चिन्ता

कोरोनाले नाम्चेका होटल बन्द, कर्जा तिर्नेतर्फ व्यवसायीको चिन्ता


महेन्द्र शाही
सोलुखुम्बु, चैत ९
सोलुखुम्बुको नाम्चे क्षेत्रमा रहेका ४० वटा सबै होटल बन्द भएपछि त्यहाँ कार्यरत करिब तीन सय मजदुर घर फर्केका छन् । अधिकांश मजदुर यो सिजनका लागि २० दिनदेखि त्यस क्षेत्रमा पुगेका थिए । सोलुखुम्बुसहित काभ्रे, नुवाकोटलगायतबाट खुम्बु क्षेत्रमा रोजगारीको लागि आएकाहरु कोरोनाका कारण घर फर्किएका हुन् ।

होटल सञ्चालकका अनुसार उनीहरुले २५ देखि ५० हजारसम्म मासिक तलब लिने गरेका थिए । सिजनको समयमा होटल बन्द गर्नुपर्ने भएकाले मजदुरलाई घर फर्काउनु बाध्य भएको होटल हिलटेनका सञ्चालक ईश्वरराज तामाङको भनाइ छ । तामाङका अनुसार हिलटेनमा काम गर्ने २९ जना मजदुर शनिबार घर फर्किएका छन् । होटल व्यवसायमा ८५ प्रतिशतले गिरावट आएपछि उनीहरुलाई फर्काउनुपर्ने बाध्यता भएको होटल सञ्चालकको भनाइ छ । त्यहाँ काम गर्ने ८० प्रतिशत कामदार खुम्बुबाहिरको भएकाले कुनै पनि स्वास्थ्य समस्या आएमा तत्काल उपचार गराउने अस्पताल र उद्धारका लागि भरपर्दो माध्यम नभएकाले होटल नै बन्द गरेर फिर्ता पठाउनुपरेको ग्रिनतारा होटलका सञ्चालक एवम् नाम्चे लज एण्ड होटल एसोसिएसनका उपाध्यक्ष निमाडोमा शेर्पाको भनाइ छ ।

अहिले होटल रुङ्नेबाहेक कोही पनि नभएको उनको भनाइ छ । जिल्लाभन्दा बाहिरका ४० प्रतिशत कामदार खुम्बु क्षेत्र पुग्ने गरेको व्यवसायीहरुको भनाइ छ । विश्वको सर्वोच्च शिखर सगरमाथा भएको खुम्बु क्षेत्रमा हजारौँ पर्यटकको आवगमन हुने भएपछि व्यवसायीले राम्रै लगानी गरेर होटल पसल सञ्चालन गरेका छन् । खुम्बु क्षेत्रका ६० प्रतिशत होटल सञ्चालकले विभिन्न बैंकबाट कर्जा लिएका छन् भने केही व्यवसायीले घर भाडामा लिएर होटल सञ्चालन गरिरहेका छन् । नाम्चेका ४० वटा होटलमध्ये ६ वटा होटल भाडामा सञ्चालित छन् । आफूहरुले वार्षिक १५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म भाडा बुझाउने गरेको होटल हिलटेनका सञ्चालक तामाङले बताए ।

ग्रिनतारा होटलका सञ्चालक एवम् नाम्चे लज एण्ड होटल एसोसिएसनका उपाध्यक्ष निमाडोमा शेर्पाका अनुसार यहाँका व्यवसायीले कुमारी, सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकबाट करोडौँ कर्जा लिएर व्यवसाय सञ्चालन गरेका छन् । कर्जा लिनेहरुले सिजनमा कमाएको नाफाबाट मासिक १ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म ब्याज मात्र तिर्नुपर्ने होटल सञ्चालक लामाकाजी शेर्पाको भनाइ छ । अहिले कोरानाका कारण व्यापार चौपट भएकाले व्यवसायीमा कर्जा कसरी तिर्ने भन्ने चिन्ता बढेको छ ।

अन्य आम्दानीको स्रोत नभएका यस क्षेत्रका नागरिकले महाभूकम्प, भारतले गरेको अघोषित नाकाबन्दीभन्दा पनि कोरोना भाइरसको संक्रमणले बढी क्षति प-याएको छ । कोरोनाले पर्यटन क्षेत्रमा असर पु-याएको भन्दै खुम्बु क्षेत्रका व्यवसायी चिन्तित बनेका छन् । सिजनको आम्दानीले बाह्रै महिना धान्नुपर्ने भएकाले व्यवसायी बढी मारमा परेको नाम्चे लज एण्ड होटल एसोसिएसनका उपाध्यक्ष निमाडोमा शेर्पाको भनाइ छ । शेर्पाले भने, ‘नाफाको कुरा छाडौँ, बैंकको किस्ता तिर्ने र व्यवसाय कसरी धान्ने भन्ने चिन्ताले सताउनथालेको छ ।’

व्यवसाय सञ्चालन गरेपछि राज्यलाई विभिन्न शीर्षकमा कर बुझाउँदै आएका खुम्बुका व्यवसायीले अहिले सहयोगको याचना गरेका छन् । नाम्चे लज एण्ड होटल एसोसिएसनका उपाध्यक्ष निमाडोमा शेर्पाले गाउँपालिकादेखि नेपाल सरकारलाई समेत राजस्व बुझाउनुपर्दा यो वर्ष समस्या हुने भएकाले विशेष निर्णय गरी व्यवसायीलाई सहयोग गर्न सरकारसमक्ष आग्रह समेत गरिन् ।

कोरोना संक्रमणले थलिएको व्यवसाय उठाउन दश वर्षभन्दा बढी समय लाग्ने अनुमान गर्दै उनले यस परिस्थितिमा सरकारको सहयोग अपरिहार्य रहने उनको भनाइ छ । यो सिजनमा खुम्बु क्षेत्रका होटल पसल भरिभराउ हुने भए पनि अहिले सुनसान देखिएका छन् । तेञ्जिङ हिलारी विमानस्थल लुक्ला समेत पर्यटक आवगमनले भरिभराउ हुने भए पनि अहिले सुनसान देखिएको त्यहाँका कर्मचारी बताउँछन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया