Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि प्रोत्साहनलाई तीव्रता दिँदै रैनादेवी छहरा

कृषि प्रोत्साहनलाई तीव्रता दिँदै रैनादेवी छहरा


पोसकान्त पोखरेल
बुटबल,बैशाख १४
पश्चिम पाल्पामा अवस्थित रैनादेवी छहरा गाउँपालिकाले कृषि क्षेत्रको विकासको लागि विभिन्न प्रोत्साहनका कार्यक्रमहरू ल्याउँदै आएको छ ।
सुन्तला, कागती, अमिलो, मौसम, तरकारीजन्य उत्पादन तथा फलफूलको लागि उर्वरभूमिको रूपमा चिनिने गाउँपालिका तिनै उत्पादनहरूको वृद्धिको लागि विशेष जोड दिएर लागेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए ।

कार्कीले कृषि क्षेत्रको विकास गाउँपालिकाका जनताको जीवनस्तर उकास्ने प्रमुख आधार रहेको बताउँदै हावापानीअनुसारको विभिन्न बीउबिजन वितरण, कृषि उपकरण वितरण, नगद अनुदान वितरण, गोठ सुधारका कार्यक्रमहरू, उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा सहयोग, उचित बजारभाउको प्रबन्धजस्ता कृषक लक्षित कार्यक्रमहरू गर्दै आएको बताए ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणमा कृषकहरूको मनोबल वृद्धिमा सहकार्य र समन्वयको माध्यमबाट कृषकलाई निराश बन्नुपर्ने वातावरणको पूर्णरूपमा अन्त्य गर्न गाउँपालिका कृषकहरूसँगै लागि परेको बताउँदै अध्यक्ष कार्कीले कृषि उपजहरूको उचित व्यावस्थापन र बजारीकरणमा आवश्यक सहयोग तथा बजार अनुगमनमा पनि जोड दिएको बताए ।

अध्यक्ष कार्कीले भने पाँच÷छ दिनअगाडि मात्र हामीले गाउँसभाबाट कृषकलक्षित एउटा नयाँ योजना पास ग¥यौं । उक्त योजनाले एकातिर बाँझो जमीनलाई हराभरा बनाउन मदत गर्दछ भने अर्कोतर्फ कृषकको आम्दानीको स्रोत वृद्धि भई गाउँपालिकाको कृषि उत्पादन पनि बढ्छ । बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रति रोपनी तीन हजार रूपैयाँका दरले अनुदान दिने निर्णय पास गरेका छौं । बाँझो जमीनहरूमा कृषकहरूले सुन्तला, कागती, मौसम तथा फलफूल जातका बिरुवाहरू रोपेर आफ्नै आम्दानीको श्रोत वृद्धिमा योगदान दिए हुन्छ । आवश्यक सहयोग र सहकार्यको लागि गाउँपालिका सदैव तयार छ ।

अध्यक्ष कार्कीले कोरोना भाइरस संक्रमण नियन्त्रण र विपन्न परिवारको खाद्य संकटलाई समाधान गर्न विभिन्न कार्यक्रमहरू गरेको बताए । उनले कोरोना भाइरस रोकथामको लागि आवश्यक क्षेत्रहरूमा स्वास्थ्य सामग्री वितरण, क्वारेण्टाइनको व्यवस्था र गाउँपालिकाका १४ सय जना जसले दिनभर दुःख गरेर साँझबिहानको छाक टार्छ त्यस्तो ज्यालादारी गरेर खानेहरूको दैनिक खाद्य संकट हटाउन चामल, दाल, तेल, नुन, साबुनजस्ता दैनिक अत्यावश्यक सामग्रीहरूको वितरण गरेको बताए ।(आर्थिक दैनिक बाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया