सोह्रौँ योजना वस्तुनिष्ठ र परिणाममुखी बनाउन चेम्बरको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सोह्रौँ योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएको छ । मुलुकमा रहेका प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग एवम् निर्यातको वातावरण सिर्जना गर्नेगरी योजना तर्जुमा गर्न चेम्बरले सुझाव दिएको हो ।
सोह्रौँ योजनाको अवधारणा एवम् अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिपछि उत्पन्न परिस्थितिबारे चेम्बरले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसहित निजी क्षेत्रका सरोकारवालसँग बिहीबार बृहत् छलफल गरेको थियो । पन्ध्रौँ योजनामा उल्लेखित कतिपय लक्ष्यहरू पूरा हुन नसकेको सन्र्दभमा सोह्रौं योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउनुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । योजना आयोगको लक्ष्य एवम् सरकारको वार्षिक बजेटबीच समन्वय हुन नसक्दा अपेक्षाअनुसारको परिणाम हासिल हुन नसकेको मल्लको भनाइ छ ।
कार्यक्रममा अध्यक्ष मल्लले भने, ‘पन्ध्रौँ योजनाको अन्त्य हुने आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धि १० दशमलव तीन प्रतिशत गर्ने लक्ष्य राखिएको थियो, चालू आर्थिक वर्षका लागि आर्थिक वृद्धिको लक्ष्य नै छ प्रतिशत राखिएको छ ।’ पन्ध्रौँ योजनामा समावेश गरिएका अधिकांश लक्ष्यहरू अधुरै रहेको अध्यक्ष मल्लको भनाइ छ । प्रमुख सहरहरूमा मेट्रो रेल निर्माण, १८ स्थानमा औद्योगिक क्षेत्र निर्माणजस्ता महत्वाकांक्षी कार्यक्रमहरू पन्ध्रौँ योजनामा समावेश भए पनि कार्यान्वयन हुन नसकेको अध्यक्ष मल्लले बताए । नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने भएकाले त्यसपछिको अवस्थालाई मध्यनजर गरेर रणनीति तय हुनुपर्ने चेम्बरले सुझाव समेत दिएको छ । अध्यक्ष मल्लले भने, ‘नेपाल अबको केही वर्षमै विकासशील राष्ट्रमा प्रवेश गर्दैछ, त्यसपछि राष्ट्रले युरोपेली मुलुकमा पाउँदै आएको व्यापार सहुलियत समेत गुमाउँदैछ ।’
भारत र चीनका ठूला बजारलाई जोड्न भू–जडित रणनीतिक सडकहरू निर्माणको विषयलाई सोह्रौँ योजनाले समेट्नुपर्ने अध्यक्ष मल्लले बताए । उत्तर–दक्षिण जोड्ने सडक पूर्वाधार एवम् रेल निर्माणको विषय राष्ट्रिय प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ थियो । सोह्रौँ योजनामा जलविद्युत्, कृषि, पर्यटन, र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा मल्लले जोड दिए ।
कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठले सोह्रौ“ योजना सामाजिक न्याय र सुशासनसहितको आर्थिक समृद्धिमा केन्द्रित हुने बताए । कृषिको पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रको वस्तुनिष्ठ अध्ययन गरेर योजना तर्जुमा गर्ने काम भइरहेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । अतिकम विकसित मुलुकको सूचीबाट नेपाल स्तरोन्नति भएपछि उत्पन्न हुने परिस्थितिका सम्बन्धमा आयोगले रणनीतिक तयारी गरिरहेको समेत उनले बताए । उपाध्यक्ष श्रेष्ठले भने, ‘अतिकम विकसित मुलुकबाट नेपाल स्तरोन्नति भएपछि युरोपेली मुलुकबाट पाउ“दै आएको व्यापार सहुलियतमा केही असर गर्न सक्छ, यसका लागि पनि हामीले तयारी गरिरहेका छौँ ।’ औद्योगिक क्षेत्र विस्तारमार्फत निर्यात वृद्धि एवम् वैदेशिक लगानी भित्र्याउनका लागि आयोगले तयारी गरिरहेको श्रेष्ठको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया