Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरको अध्यक्षमा मेघा

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरको अध्यक्षमा मेघा


काठमाडौँ । नेपाली गीत–संगीत र साहित्यको क्षेत्रमा क्रियाशील ‘श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’ को अध्यक्षमा मेघा चौधरी चयन भएकी छन् । काठमाडांैको थापाथलीमा सम्पन्न वार्षिक साधारणसभाले गीतकार तथा साहित्यकार बसन्त चौधरीकी छोरी मेघाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

आगामी चारवर्षे कार्यकालका लागि चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा वरिष्ठ रंगकर्मी हरिहर शर्मा, महासचिवमा गीतकार रमण घिमिरे र कोषाध्यक्षमा मनीषकुमार खेम्का निर्वाचित भएका छन् । यस्तै, कार्यसमिति सदस्यहरूमा डा उषा ठाकुर, नारायणभक्त श्रेष्ठ(रायन), राजेन्द्र सलभ निर्वाचित भएका छन् । निर्वाचित नयाँ कार्यसमितिले बिहीबार पदभार ग्रहण गरेको छ ।

औद्योगिक प्रतिष्ठान चौधरी ग्रुपका प्रणेता लुनकरणदास चौधरी र उनकी पत्नी गंगादेवी चौधरीको नाममा २०५१ सालमा स्थापित भएको साहित्यकला मन्दिरको संरक्षकमा कवि तथा गीतकार बसन्त चौधरी रहेका छन् । यसअघि लामो समयसम्म यो मन्दिरको कार्यसमिति अध्यक्षको रूपमा चौधरीले काम गरेका थिए । उनले आफ्ना मातापिताको नाममा स्थापित यो संस्थाको जिम्मेवारी उनकै एक मात्र पुत्री मेघा चौधरीले पाएकी हुन् ।

चौधरीले आफूले ३५ वर्षको हुँदा साहित्यकला मन्दिरको जिम्मेवारी बहन गरेको बताए । उनले ३० वर्षको अवधिमा साहित्यकला मन्दिरले १० दर्जन मूर्धन्य स्रष्टालाई सम्मान गरेको जानकारी दिए । नेपालमा साहित्यकलाको क्षेत्रमा ३० वर्षसम्म अनवरत काम गरेको योजस्तो अर्को कुनै संस्था नरहेको उनको दाबी थियो । यस्तै, उनले साहित्य, संगीत, कला, पत्रकारिता, स्वास्थ्य, समाजसेवालगायतका क्षेत्रमा संस्थाको कार्यक्षेत्र विस्तार हुने र यही वर्ष नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार समेत स्थापना गरिने घोषणा गरे ।

कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले नेपाली साहित्यकला र संगीतको उन्नयन तथा विश्वस्तरमा नेपाली कला, साहित्य र भाषाको प्रवद्र्धनका लागि साहित्य कला मन्दिरले विशिष्ट योगदान पु-याएको बताए ।

साधारणसभामा साहित्यकला मन्दिरको नाम परिवर्तन गरी बृहत् उद्देश्यसहित अगाडि बढ्ने एजेण्डा पारित भएको छ । यसका लागि विधान संशोधनको प्रस्ताव समेत पारित भएको नवनिर्वाचित अध्यक्ष मेघा चौधरीले जानकारी दिइन् । साधारणसभाबाट रमण घिमिरेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन समेत पारित भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया