एक महिनामै १२ अर्ब विदेशी लगानी प्रतिबद्धता
२० करोड लाभांश वितरण
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा झण्डै १२ अर्ब रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउन महिनामा ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । ६० वटा उद्योग स्थापना र तीन हजार तीन सय एक जनाका लागि रोजगारी प्रतिबद्धतासहित सो लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार छवटा उद्योग प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) सहित आएको छ ।
उद्योग विभागकी सूचना अधिकारी रमिला भण्डारीका अनुसार समीक्षा अवधिमा ५४ वटा साना, चारवटा मझौला र दुईवटा ठूला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता आएको हो । क्षेत्रगतरूपमा हेर्दा पर्यटनजन्यमा २८ वटा, सेवाजन्यमा २६ वटा, उत्पादनजन्यमा चारवटा, सूचना प्रविधिजन्य र कृषिजन्यमा क्रमशः एक–एकवटा उद्योगको लागि लगानी प्रतिबद्धता आएको छ । कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योगमा विदेशी लगानी आउने गरेको छ । यी उद्योगहरूको दर्ता तथा नवीकरण विभागले गर्दै आएको छ ।
सरकारी प्रतिवेदनअनुसार नेपालमा आउने विदेशी लगानीमा सबैभन्दा बढी भारत, चीन, सेन्ट किट्स एन्ड नेभिज र आयरल्यान्डलगायतका मुलुक रहेका छन् । यसबाहेक, सिंगापुर, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, अमेरिका, बंगलादेश गरी ५२ वटा मुलुकबाट पनि विदेशी लगानी प्रतिबद्धता आउने गरेको छ ।
साउनमा पनि भारत, चीनलगायतका मुलुकबाट बढी लगानी प्रतिबद्धता आएको छ । लगानी प्रतिबद्धता ठूलो मात्रामा आए पनि लगानी रकम निकै कम भित्रिने हुँदा वैदेशिक लगानीलाई लिएर उत्साहित हुनुपर्ने स्थिति नरहेको विभागका अधिकारीहरू बताउँछन् । अहिलेसम्मको अवस्था हेर्दा वैदेशिक लगानीको प्रतिबद्धताको एक तिहाई मात्रै लगानी भि(ित्रएको देखिन्छ । गत आर्थिक वर्षमा कुल ३८ अर्ब ४० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । उक्त लगानी प्रतिबद्धता तीन सय २७ वटा उद्योग तथा १७ हजार १२ जनालाई रोजगारीसहित आएको हो । चालू आर्थिक वर्षको पहिलो महिनामा नै करिब १२ अर्ब रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएकाले यस वर्ष केही बढी लगानी भित्रिन सक्ने विभागको अनुमान छ ।
सूचना अधिकारी भण्डारीले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा विदेशी लगानीकर्ताहरूले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको जानकारी दिइन् । विदेशी लगानीकर्ताले समीक्षा अवधिमा एउटा उद्योगका लागि तीन करोड ६० लाख रुपैयाँबराबरको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेका हुन् ।
विदेशी लगानीकर्ताहरूले उद्योगमा लगानी गरेसँगै लगानी प्रतिफल समेत लैजाने गरेको विभागले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा विदेशी लगानीकर्ताले लाभांशबापत २० करोड ३० लाख ६७ हजार रुपैयाँ लगेका छन् । गत आर्थिक वर्षमा भने १३ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी लाभांश लगेका थिए । पहिलो महिनामा रकम थोरै देखिए पनि आगामी महिनामा भने लाभांश रकम वृद्धि हुँदै जानेछ । हरेक महिना विदेशी लगानीकर्ताहरूले नेपालमा गरेको लगानी प्रतिफलस्वरूप लाभांश लैजाने गरेको छ । लाभांश लैजानको लागि विभाग र राष्ट्र बैंकले आवश्यक सहयोग गर्दै आएको छ । कोभिड र रुस–युक्रेन युद्धकोे असरका बीच पनि नेपालमा विदेशी लगानी रोकिएको थिएन भने सो समयभन्दा अघिदेखि नै नेपालको उद्योग क्षेत्रमा विदेशी लगानी निरन्तर आएको छ, जसले गर्दा लगानी प्रतिफलस्वरूप लाभांश लगेको देखिएको हो । समीक्षा अवधिमा उद्योग सञ्चालन गरेबापत विदेशी लगानीकर्ताबाट सरकारले ४९ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।
विदेशी लगानीकर्तालाई ‘प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५’ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिलगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको उद्योग विभागले दर्ता गर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया