फेरि पनि वैदेशिक रोजगारीको गन्तव्य खाडी मुलुक
काठमाडौं । वैदेशिक रोजगारमा जानेहरूको लागि विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि खाडी क्षेत्रका मुलुक जानेहरूकै चाप बढी छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना वैदेशिक रोजगारीमा जानेमध्ये धेरैका गन्तव्य खाडी मुलुक रहेको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षहरूमा पनि नेपालीहरूको वैदेशिक रोजगारीको गन्तव्य खाडी मुलुक नै हुनेगरेका थिए ।
चालू आव २०८०/०८१ को पहिलो महिना अर्थात् साउनमा ५५ हजार पाँच सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ४७ हजार आठ सय ५० जना पुरुष र सात हजार सात सय २५ जना महिला रहेका छन् । श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी मलेसिया र खाडीका छवटा राष्ट्रमा जानका लागि श्रम स्वीकृति लिएको विभागका प्रवक्ता कविराज उप्रेतीले जानकारी दिए । वैदेशिक रोजगारीमा जाने युवाहरूको लागि नयाँ मुलुकहरू गन्तव्य मुलुक बन्न नसक्दा मलेसिया र खाडी मुलुक जानेको संख्या बढी रहेको विभागका अधिकारीहरूको भनाइ छ ।
मानव अधिकार, असहज कानुन, असुरक्षित कार्यस्थललगायतका उपमा पाएका खाडी राष्ट्र जानु नेपालीको बाध्यता हो । किनकि ती देशमा जान सहज, धेरै पढ्न नपर्ने र थोरै खर्च लाग्ने भएको कारण ती देशमा जानेको संख्या बढेको हो ।
मलेसिया र खाडी मुलुकको विकल्पको रूपमा युरोप र अमेरिकाका विभिन्न मुलुकहरूमा नेपाली पुगे पनि सहजता र लगानी रकम बढी हुँदा ती मुलुकमा श्रम स्वीकृतिको संख्या बढ्न नसकेको उनीहरूको भनाइ छ । यद्यपि युरोप, अमेरिकालगायतका मुलुकमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या भने क्रमिकरूपमा बढ्दै गएकोे छ तर गन्तव्य मुलुक बन्न भने अझै समय लाग्ने उनीहरूले बताए ।
खाडी मुलुकमध्ये संयुक्त अरब इमिरेट्स (दुबई)का लागि ११ हजार आठ सय ७८ जना, कतारका लागि १० हजार पाँच सय ६१ जना, साउदी अरेबियाका लागि १० हजार ३० जना, कुवेत तीन हजार सात सय १७ जना, बहराइन चार सय ७५ जना र ओमान तीन सय १९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, मलेसियाका लागि नौ हजार दुई सय ६८ जना र क्रोसियाका लागि एक हजार छ सय ४९ जनाले श्रम स्वीकृति लिएका छन् ।
त्यस्तै, अर्को आकर्षक मुलुक दक्षिण कोरियाका लागि दुई हजार चार सय १४ जना श्रम स्वीकृति लिएका छन् । खाडी र मलेसिया नेपालीको लागि प्रमुख गन्तव्य मुलुक बने पनि त्यहाँ श्रमकानुन, मानव अधिकारको पूर्ण पालना हुन नसक्दा श्रमिकहरूले आधारभूत अधिकार समेत प्राप्त गर्न सकेका छैनन् । ती मुलुकमा श्रमिकहरू आफ्नो पारिश्रमिकबाट समेत वञ्चित हुनपर्ने अवस्था रहेको छ । खाडी र मलेसियामा नेपाली श्रमिकहरूले सहज वातावरणमा काम गर्ने अवस्था नरहेको श्रमविज्ञ डा. गणेश गुरुङ बताउँछन् ।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा संस्थागतरूपमा २९ हजार दुई सय २४ जना र व्यक्तिगतरूपमा सात हजार पाँच सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् । चालू आर्थिक वर्षको पहिलो साउन महिनामा ३७ जना उच्च सीपयुक्त, ८१ जना व्यावसायिक, चार हजार चार सय ६४ जना अर्धदक्ष, ३८ हजार सात सय ४५ जना दक्ष र १२ हजार दुई सय ४८ जना अदक्ष युवाहरू श्रम स्वीकृति लिएका छन् । दक्षसहित अदक्ष युवाहरू विदेश जाने हुँदा वैदेशिक रोजगारीमा विभिन्न समस्या देखिन पुगेको पाउन सक्छौँ । अझै अदक्ष कामदार अधिकांश मलेसिया र खाडी मुलुक जाने गरेका छन् भने उनीहरूसित भाषा, त्यहाँको संस्कृति, कानुनलगायतका विषयमा सामान्य जानकारी समेत नहुने समस्या छ ।
त्यस्तै, मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनले समेत ९६ प्रतिशत नेपाली श्रमिक खाडी मुलुक कतार, साउदी अरब, यूएई, कुवेत, बहराइन र ओमान तथा मलेसिया जाने उल्लेख गरेको छ । बाँकी चार प्रतिशत भने अन्य मुलुक जानेगरेको ‘आप्रवासी कामदारहरूको अधिकारको अवस्था’ प्रतिवेदनमा उसले उल्लेख गरेको छ ।
पछिल्लो सयम बेलायत, इजरायलले नेपाली श्रमिक लैजाने चासो दिए पनि त्यसले पूर्णता प्राप्त गर्न सकेको छैन । यद्यपि व्यक्तिगत प्रयासमा भने गएको पाउन सक्छौँ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि नेपाल सरकार र इजरायली पक्षबीच भएको सम्झौताअनुरूप युवाहरू इजरायल गएको पाइन्छ । दक्षिण कोरिया, जापान, बेलायत, इजरायललगायतका गन्तव्य मुलुक सुरक्षित र राम्रो तलब सुविधालगायतका कारणले युवाहरू आकर्षित भएको पाइन्छ । तर, सरकारले ती मुलुकहरूसँग श्रम सम्झौता तथा श्रमिक लैजाने प्रक्रिया अगाडि बढाउन नसक्दा अन्यौलको स्थिति कायमै छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया