Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘सिद्धान्तविपरीत चल्दा सहकारीमा समस्या आयो’

‘सिद्धान्तविपरीत चल्दा सहकारीमा समस्या आयो’


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहरी क्षेत्रमा रहेका केही सहकारी संस्थाले सहकारीका मूल्य, मान्यता र सिद्धान्तविपरीत काम गर्दा समस्या उत्पन्न भएको बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संख्यात्मकरूपमा नगन्य संस्था समस्यामा परेको भए पनि त्यसले सिङ्गोे अभियानको विश्वसनीयतामाथि नै प्रश्न चिह्न खडा गरेको उनले उल्लेख गरे । उनले भने, ‘३२ हजार सहकारीमध्ये एक÷दुई प्रतिशत संस्थामा समस्या उत्पन्न भए पनि आम जनमानसमा सहकारीप्रतिको बुझाइ र विश्वसनीयतामा गम्भीर विचलन आएको छ ।’ सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिकस्तर उकास्न भूमिका खेल्नुपर्ने उनको भनाइ छ । यस्तै, उनले मुलुक संघीय संरचनमा गएसँगै कार्यक्षेत्रको आधारमा सहकारीहरू स्थानीय र प्रदेशमा हस्तान्तरण भए पनि संरचनागत व्यवस्था नहुँदा प्रभावकारी नियमन हुन नसकेको बताए ।

कार्यक्रममा उनले राज्य, अभियान र सरोकारवाला निकायबीचको सामञ्जस्यबाट अहिलेको समस्यालाई समाधान गर्न सकिने उल्लेख गरे । सहकारी अभियानले सही बाटो समातेन भने राज्य चुप लागेर नबस्ने उनले स्पष्ट पारे । उनले भने, ‘अहिलेसम्म स्वनियमन र स्वअनुगमनको रूपमा सहकारीलाई छाडियो, अभियानले बाटो बिरोयो भने राज्य चुप लागेर बस्दैन, कानुनी कारबाही अगाडि बढाउँछ ।’ सरकारले गठन गरेको सहकारी सुधार सुझाव कार्यदलले छिट्टै प्रतिवेदन ल्याउने जानकारी गराउँदै उनले उक्त प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता प्रकट गरे । उनले भने, ‘विगतको जस्तो प्रतिवेदन दराजमा थन्किएर बस्दैन । अघिल्ला प्रतिवेदनलाई कार्यान्वयनका लागि सम्बन्धित निकायले तदारुकता नदेखाएको र सुझाव दिने व्यक्ति नै कार्यान्वयन तहमा बस्दा कार्यान्वयन हुन नसकेको हो ।’

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले जनताको जीवनस्तर उकास्त सहकारीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । सहकारी मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर गएर सञ्चालन भएका केही सहकारीका कारण सिंगो अभियानमाथि नै विश्वनीयताको प्रश्न चिह्न खडा भएको गुनासो गरे । सदस्यको बचत अपचलन गर्ने सहकारीलाई जोगाउनुपर्छ भन्ने पक्षमा महासंघ नरहेको समेत उनले प्रष्ट पारे । मुलुकभरका ७७ जिल्लामध्ये ६० जिल्लाका सहकारीमा कुनै समस्या नरहेको उनले उल्लेख गरे । उनले कार्यदलले दिएको सुझाव कार्यान्वयन गराउन अभियानको तर्फबाट प्रधानमन्त्री र मुख्यसचिवलाई समेत भेटेको उनले जनाए । कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएपछि सहकारीका समस्या समाधानका लागि कार्यान्वयनमा लैजान आफूले निरन्तर पहल गर्ने बताए ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले राज्यले सहकारी ऐन कानुनलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न नसकेकाले अहिलेको समस्या उत्पन्न भएको बताए । ‘सहकारीले आन्तरिक, बाह्य र वित्तीय सुशासन कायम गर्न सकेनन् भने राज्यले पनि प्रभावकारी नियमन गर्ने सामथ्र्य राखेन,’ उनले थपे, ‘बचत तथा ऋण र उत्पादन तथा सेवामूलक सहकारीलाई नछुट्ट्याउँदासम्म सहकारी क्षेत्रको समस्या समाधान हुँदैन ।’ वित्तीय सहकारीलाई प्रभावकारी नियमनको आवश्यता पर्छ भने अन्य सहकारीलाई राज्यले प्रवद्र्धन, अनुदान र सहुलियत दिनुपर्ने उनको भनाइ छ ।

यस्तै, कार्यक्रममा सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० सहकारी सञ्चार मासिकका कार्यकारी सम्पादक हिरा बस्नेतलाई प्रदान गरिएको थियो । बस्नेतलाई प्रशंसापत्र र नगद २० हजारसहित पुरस्कृत गरिएको हो । यसैगरी, सिजेएनले यस वर्ष संस्थापक सम्मान संस्थाका संस्थापक सदस्य एवम् पूर्वकोषाध्यक्ष शर्मिला ठकुरीलाई प्रदान गरेको छ । सिजेएनले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा संस्थापकलाई क्रमशः सम्मान गर्दै आएको छ ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया