दोलखा । पछिल्लो समय जिल्लाका धेरैजसो गाउँघर सुनसान र खाली देखिन थालेका छन् । नयाँ पुस्ता रोजगार र अध्ययनका लागि सहर र विदेश केन्द्रित हुन थालेपछि गाउँघरमा बुढेसकाल लागेका वृद्धवृद्धा मात्रै भेटिन थालेको स्थानीय बताउँछन् ।
गाउँघर छोडेर सहर बस्ने प्रवृत्तिले यतिबेला दोलखाका हजारौँ घर खाली रहेको पाइएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएर अनुदानमा निर्माण गरिएका अधिकांश घर खाली रहेका छन् । २०७८ सालको जनगणनाको तथ्याङ्कअनुसार जिल्लामा बनेका ७८ हजार दुई सय २९ घरमध्ये १६ हजार ९१ अर्थात् २० प्रतिशत घर खाली रहेका छन् । अहिले गाउँमा घर कुर्ने काम ६० वर्ष कटेका वृद्धवृद्धाको बनेको छ । गाउँमा सडक र विद्युत् पुगेको भए पनि गाउँमा बस्न चाहने मान्छे थोरै छन् । गाउँमा बिरामीलाई औषधी ल्याइदिने र स्वास्थ्य चौकीसम्म लगिदिने मान्छेसम्म छैनन् ।
तामाकोशी गाउँपालिका–१, भिरकोटका केशव काफ्ले सरकारी अनुदान लिएर छोराका लागि घर बनाइदिए पनि त्यो घर हाल खाली रहेको बताउँछन् । उनको मात्र होइन सो क्षेत्रका अधिकांशले गाउँबाहिर रहेका छोराको नाममा अनुदान लिएर घर निर्माण गरेका छन् । तर गाउँमा सरकारी अनुदानमा बनेका दुई कोठे अधिकांश घरमा ताला लागेको छ । भूकम्पपछि जिल्लामा ७४ हजार भूकम्पपीडित लाभग्राही सूचीकृत भएका थिए । तीमध्ये ६७ हजारले भूकम्पपीडितको घर बनाएर तेस्रो किस्ता लिएको सघनसरी भवन निर्माण आयोजनाको तथ्याङ्क छ ।
स्थानीय तहले गाउँगाउँमा सडक, शिक्षा, यातायात, खानेपानीलगायतका पूर्वाधारमा लगानी गरे पनि नागरिक बाहिरिने क्रम नघटेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । जिल्लाको कालिञ्चोक गाउँपालिका–४, घिमिरेटोलका ३६ घरपरिवारमध्ये १४ घरमा मात्र मानिस बस्ने गरेका छन् । बाँकी २२ घरपरिवार अनुदान लिएर गाउँमा घर बनाएर बसोबासचाहिँ काठमाडौंमा गर्दै आएका स्थानीय रीता सुवेदीले जानकारी दिइन् । यस्तै, भीमेश्वर नगरपालिका–१, पानीपोखरीमा निर्माण गरिएको एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ । ५७ परिवारका लागि निर्माण गरिएको सो बस्तीमा हाल १० परिवार मात्रै बस्ने गरेका छन् । दोलखाको बैतेश्वर गाउँपालिका पनि करिब २५ प्रतिशत घर खाली छन् । सरकारको राहत लिएर बनाइएका दुई कोठे घरको भित्र लेउ पलाउन थालेको स्थानीय बताउँछन् ।
मानिस नहुँदा खेतीयोग्य जमिन बाँझो छ । जिल्लामा उत्पादन हुने सामान पनि बाहिरबाट आयात गर्नुपर्ने स्थिति रहेको बैतेश्वर गाउँपालिका–४ वडाध्यक्ष कुमार चौलागाईंले बताए । उनको वडाको पनि ठूलोवन भन्ने गाउँमा १६ वटा घर रहेकोमा १३ वटा घर रित्तै छन् । मानिस नहुँदा खेतीयोग्य जमिन जंगलमा परिणत भएपछि जंगली जनावरको आतंक समेत बढेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया