Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता


काठमाडौं । नेपाल आयल निगमले स्वचालित मूल्य प्रणालीमार्फत आइतबार बिहानदेखि बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले चाडबाड नजिकिएका बेला मूल्य बढाउँदा जनतालाई समस्या हुने भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएपछि निगम पछाडि हटेको हो । निगमले आइतबार राति १२ बजेपछि पुरानै मूल्य कायम भएको जनाएको छ ।

निगमले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य बढाएको थियो । निगमले बढाएको मूल्यअनुरूप काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय ८५ रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर एक सय ७९ रुपैयाँ र ग्यासको दुई हजार एक सय १० रुपैयाँ कायम भएको थियो । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रतिलिटर छ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय १५ रुपैयाँ बढाएको थियो । सरकारले मूल्यवृद्धि फिर्ता गरेसँगै पुरानै मूल्यमा उपभोक्ताले पेट्रोलियम पदार्थ र ग्यास पाउन सक्नेछन् ।

निगमले मूल्यवृद्धि गर्नुपर्ने कारणमा सरकारद्वारा उपलब्ध गराइएको ऋण, मूल्य स्थिरीकरण कोषको रकम तथा अन्य दायित्वहरूको भुक्तानी गर्नुपर्ने रहेको बताएको छ भने सरकारले सोही अर्थात् स्थिरीकरण कोष तथा सरकारले उपलब्ध गराउने ऋणमार्फत तत्काललाई भर्पाइ गराउने उद्देश्यका साथ मूल्य फिर्ता गर्न लगाएको छ ।

निगमले हरेक पटक पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य बढाउनुमा निगम घाटामा रहेको अर्थात् नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋण, मूल्य स्थिरीकरण कोषको रकम तथा अन्य दायित्वहरूको भुक्तानी गर्नुपर्ने अवस्थाले गर्दा मूल्य वृद्धि गर्नुपर्ने बताउँदै आएको छ ।

निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताबाट हुने नोक्सानी भने मूल्य स्थिरीकरण कोष तथा सरकारबाट प्राप्त हुने रकमबाट संयोजन गर्ने जनाएको छ । स्वचालित मूल्य प्रणाली यथावत् हुनेगरी हाल भएको मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी मूल्यवृद्धिको निर्णय आइतबार राति १२ बजेबाट लागू हुनेगरी फिर्ता गरिएको निगमले सूचना जारी गरी जानकारी गराएको छ ।

पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य यसअघि भदौ २९ मा बढाएको थियो भने ग्यासको मूल्य भदौ १४ मा बढाएको थियो । पेट्रोलको मूल्य एक सय ८२ रुपैयाँबाट एक सय ८३ रुपैयाँ, डिजेल/मट्टीतेलको एक सय ७० रुपैयाँबाट एक सय ७३ रुपैयाँ र ग्यासको मूल्य एक हजार छ सय ६० रुपैयाँबाट एक हजार आठ सय ९५ रुपैयाँ पु¥याएको थियो । चाडबाड नजिकिँदै गर्दा पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि गरेको भन्दै सरकार र निगमको चर्को आलोचना भएपछि सरकार मूल्यवृद्धि फिर्ता गर्न बाध्य भएको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार प्रधानमन्त्री दाहालको निर्देशनबमोजिम नै मूल्यवृद्धि फिर्ता लिइएको बताए ।

पेट्रोलियम पदार्थको मूल्य बढाई नागरिकमा आर्थिक भार पर्नेमा भने यसमा लगाइएको कर र निगमको खर्च प्रमुख कारण रहेको देखिन्छ । पेट्रोलियम पदार्थमा सरकारले भन्सार तथा प्रज्ञापन शुल्क/कर, सडक मर्मत सम्भार शुल्क÷कर, प्रदूषण कर, पूर्वाधार कर, मूल्य अभिवृद्धि कर, फ्युल थ्रुपुट शुल्क र मूल्य स्थिरीकरण कोष शुल्क गरी सात प्रकारको राजस्व तोकेको छ । जसअनुरुप पेट्रोलमा प्रतिलिटर ६१ रुपैयाँ २३ पैसा, डिजेलमा प्रतिलिटर ४३ रुपैयाँ ७८ पैसा, मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ २८ पैसा र ग्यासमा प्रतिसिलिन्डर दुई सय ८० रुपैयाँ ३६ पैसा राजस्व सरकारले उठाउँदै आएको छ । यसबाहेक निगमको खर्च पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ७४ पैसा, डिजेल प्रतिलिटर एक रुपैयाँ ३२ पैसा, मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ २८ पैसा र एलपीजी ग्यासमा प्रतिसिलिन्डर नौ रुपैयाँ ७३ पैसा हुनेगरेको छ । निगमले प्रशासनिक एवं बिक्री, बीमा र प्राविधिक नोक्सानीबापत उक्त खर्च हुनेगरेको बताएको छ ।

चालू आर्थिक वर्षको सुरुवाती अवस्थामा निगमले पट्रोलियम पदार्थ तथा ग्यासबाट भने नाफा भएको बताएको छ । उक्त समयमा करिब ५५ करोड रुपैयाँ मुनाफा कमाएको देखिन्छ । पेट्रोलियम पदार्थ तथा ग्यासको बिक्रीबापत निगमले नाफा कमाए पनि उसले नागरिकलाई राहत दिने गरी मूल्य समायोजन गरेको पाइँदैन । स्वचालित मूल्य प्रणालीमार्फत मूल्य समायोजन हुने हुँदा त्यसलाई परिवर्तन गर्न नसकिने भएकाले पेट्रोलियम पदार्थको मूल्य घटाएर नागरिकलाई राहत दिनसक्ने अवस्था नरहेको निगमका अधिकारीहरू बताउँछन् । यता सरोकारवालाहरू भने निगमले पेट्रोलियम पदार्थ र ग्यासमा मूल्य संयोजन नगर्दा उपभोक्ताहरू मारमा परेको बताउछन् । सरकारले समेत त्यसलाई बेवास्ता गर्दा महँगीको मारमा सर्वसाधारणहरू परेको उनीहरूको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया